काठमाडौँ । प्यालेस्टिनी समूह हमासले पहिलो चरणमा रिहा गर्ने बन्धकको सूची दिएसँगै गाजामा युद्धविराम लागू भएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय समयअनुसार बिहान ११ः१५ (नेपाली समयअनुसार ३ः००) बजेदेखि युद्धविराम लागू भएको जनाएको हो ।
हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची दिएपछि इजरायलले सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपिनको नाम भने समावेश छैन । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो ।
युद्धविराम भएको पहिलो दिन आइतबार तीन बन्धक रिहा भएका छन् । इजरायलका अनुसार उनीहरू तीनै जना २०२३ अक्टोबर ७ देखि हमासको नियन्त्रणमा थिए । इजरायलले पनि महिला र बालबालिकासहित ९० जना प्यालेस्टिनी कैदीहरू रिहा गरेको छ ।
कतारसहित अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको हो । युद्धविरामको दोस्रो र तेस्रो चरणको कार्यान्वयनका विषयमा पहिलो चरणको १६ औं दिनदेखि थप छलफल गरिने सम्झौतामा उल्लेख छ । तेस्रो चरणमा अन्तर्राष्ट्रिय पर्यवेक्षणमा गाजामा गरिने ३ देखि ५ वर्षे पुनर्निर्माण योजनाको बदलामा हमासले बाँकी बन्धक वा शव फिर्ता गर्ने जनाइएको छ ।
हमासले गाजा क्षेत्रको युद्धविराममा ढिलाइ गरेको भन्दै इजरायलले आइतबार बिहान गाजामा आक्रमणसमेत गरेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा कपडा तथा अन्य सामान बोकेका मानिसहरू घर फर्कंदै गरेका लामो लाइन देखिएको छ । त्यस्तै, प्यालेस्टिनी झण्डा बोकेका मानिसहरूले भरिएका कार तथा सवारीसाधनहरू देखिएका छन् । संयुक्त राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी संस्थाले खाद्यान्न र पीठोले भरिएका हजारौं ट्रकहरू गाजा प्रवेश गर्न पर्खिरहेको जनाएको छ ।
हमासले इजरायलमा गरेको आक्रमणपछि विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणमा इजरायलमा १२ सयको ज्यान गएको थियो ।
.gif)