महेन्द्रनगर । कैलालीको धनगढीबाट मोटरसाइकल चोरीमा संलग्नलाई प्रहरीले नै उन्मुक्ति दिएको पाइएको छ।
धनगढी उपमहानगरपालिका–७ महेराका २२ वर्षीय गोविन्द राना र कञ्चनपुर पुनर्वास नगरपालिका–१० विकास बस्तीका नीराजन राना (किसन)सहितको समूहले भदौ १३ गते धनगढी बोराडाडीस्थित दिनेश एफएमको गेट बाहिर राखिएको पल्सर मोटरसाइकल चोरी गरेको खुल्नमा आएको थियो।
सो समूहले सोही दिन नामसारी गरिएको मोटरसाइकल चोरी गरेर फरार भएपछि प्रहरीमा निवेदन परेको थियो। जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी असईले चोरीमा संलग्नलाई नियन्त्रणमा लिएर लगत्तै छोडको आरोप छ। ती प्रहरीका घुमुवाले तस्करबाट मोलमोलाइ गरेर उनीहरूलाई उन्मुक्ति दिएको आरोप लागेको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीमा निजलाई पक्राउ गरि पाउँ भनी किटानी जाहेरी समेत परेको छ।
सुदूरपश्चिम प्रदेश ०१–०१०–५६२० नम्बरको २२० सिसी बजार कम्पनीको मोटरसाइकल कार्यालय परिसरमा पार्किङमा राखिएको अवस्थामा भदौ १३ गते साँझ चोरी भएको थियो। दोस्रो दिन जिल्ला प्रहरी कार्यालय, कैलालीमा खोजीका लागि निवेदन दर्ता गरियो। १४ गते नै उक्त मोटरसाइकल स्याउले बजार हुँदै मोहना नदिबाट डुङ्गा तरेर भारतको सुडा बजार बजार पठाइएको थियो।
ती तस्करले मोहना नदी हुँदै डुङ्गामा राखेर भदौ १४ गते दिउँसो मोटरसाइकल भारत पठाए। लगत्तै मोटरसाइकल धनी सहितका मोहना नदी छेउ पुग्दा डुङ्गा चालकले उक्त मोटरसाइकल पारी पठाएको बताए। भदौ १८ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत आरआइटीका इन्चार्जसमेत रहेका असई गजेन्द्र चन्दले तस्करहरूलाई भेटेको खुलेको छ। उनीहरूलाई नियन्त्रणमा लिएर मोटरसाइकल फिर्ता गरी कारबाही गर्नुको साटो ती असईले आर्थिक मोलमोलाइ गरी लगत्तै तस्करलाई भगाएको आरोप छ। असोज २७ गते पत्रकार साउँदले मोटरसाइकलमा चोरीमा संलग्न गोविन्द राना र किसनको नाममा किटानी जाहेरी नै दिए।
पुस महिनामा पुनर्वासका किसन राना सम्पर्कमा आए। किसनले मुद्धाफाँटमा प्रहरी समक्ष भने,–‘अङ्कल तपाईहरू गोविन्दबाट पैसा लिएर मलाई मात्रै किन दुःख दिनुहुन्छ ? मैले चोरीको हिस्सा लिएको छैन।’ चोरीमा सङ्लन्न समूहका व्यक्तिले नै प्रहरीले अवैध रकम लिएको बताएका हुन।
मुद्दा फाटका प्रहरी समक्ष किसनले दिएको बयानले सबैलाई चकित तुल्याएको छ। पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया कुमारी रानाको दबाबमा किसनलाई प्रहरीले प्रमाण नपुगेको भन्दै छोडेको दाबी गरिएको छ। तर, पत्रकार साउँदले जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी कर्मचारीले अवैध रकम असुल गरेर चोरीमा सङ्लन्न गोविन्द रानालाई उन्मुक्ति दिएको भन्दै प्रदेश प्रहरी प्रमुख (डिआइजी) गणेश चन्द र प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई निवेदन दिएका छन्। कैलाली प्रहरीलाई दुबै कार्यालयले सो विषयमा जिल्ला प्रहरीलाई सोधेको छ।
प्रहरीकै मिलेमतोमा मोटरसाइकल भारत पठाउने गरेको यो पहिलो घटना भने होइन। त्यही समूहले कञ्चनपुर जिल्लामा नागरिकका समेत मोटरसाइकल चोरी गरेका थिए। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चोरी मुद्दा नै दर्ता गरेको छ। उनीहरू धरौटीमा छुटेका छन। तर, गोविन्द र किसन अदालतमा हाजिर भएका छैनन। फैसला पनि आएको छैन।
धर्ना बसे पत्रकार साउँद
पटक–पटक प्रहरी कार्यालय धाउँदा समेत प्रहरीले कानुनी प्रक्रिया अगाडी नबढाएपछि पत्रकार कमल साउँद पुस ८ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा धर्नामा बसे। कैलालीका पत्रकार र प्रहरीबिच चोरीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने सहमति भयो। प्रहरी नै तस्करसँग साठगाँठमा संलग्न हुन थालेपछि प्रहरीको भूमिकामाथि नै प्रश्न चिन्ह खडा भएको छ। प्रहरी नै तस्कर बनेको त होइन ?
के भन्छ कैलाली प्रहरी ?
तर, जिल्ला प्रहरी कार्यालय कैलालीले भने सिभिल टोली लगाएर नै महिनौँ दिनदेखि ती चोरीमा सङ्लन्नहरूको खोजी गरिरहेको बताएको छ। प्रहरीले नै उनीहरूसँग मिलेमतो गरेको प्रमाण भेटिए विभागीय कारबाही अगाडी बढाइने कैलाली प्रहरीका प्रवक्ता डिएसपी कबिन्द्र बोहराले बताए।
डिएसपीले बोहराले भने, ‘किसनबाट बयान गरिएको हो। तर, सामान फेला नपरेकाले मुद्दा चलाउन सकिएन।’ बोहराले चोरीको घटनाको खेद व्यक्त गर्दे भने,–‘यस मोटरसाइकल चोरी भएकोमा पूर्ण सहानुभूति छ,–‘चोरीमा संलग्नलाई छिट्टै कारबाहीको दायरामा ल्याउँछौँ।’
यस घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी बोहराले बताएका छन्। उनले घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको बताएका हुन्।
.gif)