सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विद्यादानं करोतु मे ॥
सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यिनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाहे। जो चन्द्रको समान उज्ज्वल हुनहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसीन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वती हाम्रा अज्ञानताहरू चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।
सरस्वती पूजा भनौँ अथवा श्री पञ्चमी भनौँ वा वसन्त पञ्चमी आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन । आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता रहेको छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहिबाट क्रमशः अब कोइलीको कुहू कुहू अनि न्यानोपनाको राजा मौसम वसन्त ऋतुको स्वागत गर्दै मनाइने पर्व पनि हो ।
हिन्दुहरूको मुख्य पर्वको रूपमा रहेको अर्को एउटा पर्व हो वसन्त पञ्चमी जसलाई विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिनको रूपमा समेत चिन्ने गरिन्छ । यस दिन धूमधामका साथ सरस्वतीको पूजा गरिने परम्परा रहेको छ । यो पर्व लाई माघ शुल्क पञ्चमी अर्थात् श्रीपंचमी जसलाई वसन्त पञ्चमी पनि भनिन्छ । प्राचीन शास्त्रहरूको भनाइलाई मान्ने हो भने वसन्त पञ्चमीलाई अलग-अलग ढङ्गले व्याख्या गर्ने गरेको पाइन्छ । भगवान् विष्णुको आज्ञा अनुसार ब्रह्माले मनुष्य लगायत जीवहरूको रचना गरे तर आफ्नो सृष्टिले उनी सन्तुष्ट थिएनन् अर्थात् उनलाई केही कमीको महसुस हुने गर्दथ्यो, जसले गर्दा चारैतिर मौनता छाएको थियो । विष्णुसँगको अनुमति द्वारा ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जल छर्ने बित्तिकै कम्पन हुन थाल्यो । यसपछि वृक्षहरूको बिचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो जुन उत्पत्ति एक चतुर्भुजी सुन्दर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो भने अरू दुई हातमा पुस्तक र माला थिए । ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गर्नुभयो र जब देवीले वीणा बजाइन्, संसारका समस्त जीव जन्तुहरूलाई वाणी प्राप्त भयो , जलधारामा पानीको सङ्गीत छर्ने कञ्चन कोलाहल मच्चियो, हावा चल्दा सुमधुर सङ्गीतको रस छर्ने सरसर आवाज आउन थाल्यो । त्यसपछि ब्रह्माले ती देवीलाई सङ्गीत र वाणीको देवी सरस्वती भने । तीनै सरस्वतीलाई बागेश्वरी, भगवती, शारदा, वीणावादनी आदी विभिन्न नामले पूजा गर्ने प्रचलन छ ।
सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ । सङ्गीतको उत्पत्ति गरेको कारण उनलाई सङ्गीतकी देवीको रूपमा पनि मानिन्छ र खास गरी वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ । ऋग्वेदका अनुसार यिनी परम चेतना हुन्, सरस्वतीको रूपमा यिनी हाम्रो बुद्धि, प्रज्ञा तथा मनोवृत्तिहरूकी संरक्षितका हुन्, हामीमा भएको आचार र मेधाको मुख्य आधार नै भगवती अथवा सरस्वती हुन् । यसै कारणले वसन्त पञ्चमी अर्थात् सरस्वती पूजालाई धूमधामका साथ मनाउँदै आएको पाइन्छ । आजकै दिनमा कामदेव र रतिको पनि पूजा गरिन्छ । वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्दै वसंन्तराग गाउने चलन छ । जीवनलाई सृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिने भएकोले कला अनुरागीहरु, स्रष्टा, सर्जक र साहित्य साधकहरुका लागि वासंन्तराग सधानाको स्रोत मानिन्छ । कला र गलाका पारखीहरुका लागि सरस्वती साधना गर्ने मुख्य दिनको रूपमा श्रीपंचमी कै दिनलाई मान्ने गरिन्छ । स-साना नानीवाबुहरुलाई आजकै दिनबाट अक्षर चिनाउने शुभ मुहूर्तको रूपमा पनि लिँदै आएको पाइन्छ । तसर्थ श्रीपञ्चमीको दिनलाई बिशेषगरी प्राय सबैले विद्या र बुद्धिको प्रार्थना गर्ने दिनको रूपमा विशेष महत्वका साथ मनाईएको पाइन्छ । आजकै दिनमा हामीमध्ये धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन पनि हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिनमा सरस्वती पूजाको सम्पूर्ण सर्जकहरुलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको संगम वनिरहोस, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरहोस् । सरस्वती पूजा गर्दा प्रचलनमा रहेको सरस्वती बन्दना यस प्रकार छ …….
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विधादानं करोतु मे ॥
प्रथमं भारती नाम द्धितीयं च सरस्वती ।
तृतीयं शारदादेवी चतुर्थ हंसवाहनी ॥
पंचम तु जगन्माता षष्टम् वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टम् वरदायिनी ॥
नवमं वद्धिदात्री च दशमं वह्मचारिणी ।
एकादशं चन्द्रघन्टा द्धादशं भुवनेश्वरी ॥
द्धादशैतानि नामानि त्रिसन्ध्यांयःपठेन्नर ।
जिह्वाग्रे वसति तस्य वह्मरुपा सरस्वती ॥
यिनै ज्ञान र शिक्षाकी देवी सरस्वतीको वास जसको वाणीमा हुन्छ उ जीवनमा सफल र सुखी हुन्छ । सरस्वती को वरदान भनेकै शिक्षा र ज्ञानको भण्डारले भरिपुर्ण हुनु हो र शिक्षा भन्ने बित्तिकै औपचारिक रूपमा स्कूल, क्याम्पस आदिमा र अनौपचारिक रूपमा घरमै सिक्ने तथा सिकाउने अनि अध्ययन गर्ने गराउने वा पढ्ने बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ । सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यवहारिक विषयको बुझाई वा ज्ञान नै शिक्षा हो । शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा भएकाले आजको युगमा यसको निकै ठूलो महत्व छ ।सरल शब्दहरुमा, शिक्षाको अर्थ जीवनको अन्धकारलाई चिर्ने ज्ञान र विचार प्राप्त गर्नु हो । शिक्षा मानव जातिको सुन्दर गहना पनि हो ।मानिसले बाल्यकालमा अरूले बोलेका वा गरेका कामको अनुकरणबाट शिक्षा आर्जन गर्दछ , अनौपचारिक शिक्षा हरेक व्यक्तिले परिवार र समाजका व्यवहार र अनुभवको माध्यमबाट प्राप्त गरेको हुन्छ ।त्यसपछि पनि उसको शिक्षा आर्जन गर्ने कार्य चाहिँ पुरा भइसकेको हुँदैन यो जीवन प्रयन्त चलिरहने प्रकृया हो , जसले म शिक्षित र ज्ञानी छु भनि आत्मरतीमा रमाउंछ उ भन्दा अज्ञानी अरू कोही हुनैसक्दैन। शिक्षाको प्रक्रिया जन्मबाट शुरू भएर मृत्युसम्म हुन्छ ।प्रकृति र जगत् लाई नै मानिसको सबभन्दा ठूलो शिक्षालय वा शिक्षाको मुहान मान्न सकिन्छ र शिक्षावाटै मानिसले भौतिक सुख र आत्मिक सुख दुवै प्राप्त गर्दछ । शिक्षा एउटा यस्तो धन हो, जसलाई न कसैले चोर्न सक्दछ न कसैले खोस्न सक्दछ । यो मात्र यस्तो धन हो जुन बाड्दा कहिलै कम हुदैन र सकिदैन बरु बढदै जान्छ । त्यसैले त भन्ने गरिन्छ “विद्या देवी उषाकालकी रानी अप्राप्य शक्ति र ज्ञान कि खानी” ।
लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरुले हामीलाई ज्ञान अभिब्यक्त गर्दा सदैब साथ दिउन , १ ,२, ३, ४.... अनि A,B,C,D….. आदिका अक्षर प्रयोग जारी रहोस्, ब्याकरणले साथ दियोस्, संगीतका सातै सुर अनि रागका सम्पूर्ण रसहरुले साथ दिउन् । मुख्य कुरा श्रृगांर रसले जिवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।
.gif)