महेन्द्रनगर । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका -८ स्थित धामी टोलमा सिमाना विवाद भएपछि स्थानीयहरूले दश गजा क्षेत्रमा भारतीय अवरोध सह्य नहुने बताएका छन् ।
गत शनिवार साँझ देखि भारतीय पक्षले पटक पटक नेपाली भुकिमास्ने प्रयास गर्दै आएको भन्दै स्थानीयहरू आक्रोशित बनेका हुन् ।
भारतीय पक्षले सन्दर्भ स्तम्भहरू पछि बनाएको र अहिले सिमाना छुटाउन खोजेको भन्दै स्थानीयहरू आक्रोशित छन् । पछि बनाएका रिफ्रेन्स पिल्लरलाई आधार मानेर नेपाल तर्फको भूभाग ओगट्ने कार्य भारतीय पक्षले गरिरहेको भन्दै विवाद भएको हो ।
मङ्गलवार नेकपा एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्ष जनक अवस्थी, उपसचिव राजिव खड्का सहितका नेताहरू सिमाना विवादित क्षेत्रको अनुगमनमा पुगेका थिए ।
त्यहाँ भारतीय पक्षले एकलौटी ढङ्गले नेपाल तर्फको भूभाग ओगट्न खोजेको अध्यक्ष बुढाले बताइन् । अध्यक्ष बुढाले दुवै देशका प्रशासन मिलेर सिमाना छुटाएको भए विवाद नआउने बताइन् । जनतालाई सहजता पूर्वक लैजानुपर्ने बताउँदै उनले दुवै देशका प्रशासन मिलेर सिमाना स्पष्ट रूपमा छुटाइनु पर्ने अध्यक्ष बुढाले बताइन् । पार्टीले यसका लागि प्रशासनलाई घचघचाउने ,सिमाना सुरक्षित गर्नका लागि सरकारको ध्यानाकर्षण गराउने उनले प्रतिबद्धता जनाइन ।
पुरानो जङ्गे पिल्लरको नक्सा बमोजिम अन्तर्राष्ट्रिय सिमाना बनाइनु पर्ने माग स्थानीयहरूले राखेका छन् । दोधारा-चाँदनी नगरपालिका-८ का वडा अध्यक्ष ओमप्रकाश रोकायाले यहाँको प्रशासनको कमजोरीले यो समस्या निम्तिएको बताए । सिमाना छुटाउन नेपालका तर्फबाट प्रशासन यहाँ क्षेत्रमा नपुग्दा अहिले यो क्षेत्रमा विवाद देखिएको उनले बताए ।
वडा नम्बर ८ को ४ किलोमिटर बढी भूभागमा विवाद कायम रहेको वडा अध्यक्ष रोकायाले बताए । वडा नम्बर ८ स्थित ७९६/३ को विवादित पिल्ललाई आधार मानेर सिमाना छुट्याइए त्यसको प्रतिकार गरिने स्थानीयहरूले चेतावनी दिएका छन् । स्थानीय गगन खत्रीले दुवै देशका विज्ञ टोली आएर सिमानाको व्याख्या गर्नु पर्ने बताए । यस क्षेत्रमा पहिले देखिनै भारतीय हरुले दवाव दिँदै आएको बताए । भारतीय पक्षले एकलौटी ढङ्गले सिमाना छुट्याउदै आएको भए पनि नेपालका तर्फबाट सीमा समस्या समाधान गरिनु पर्ने उनले माग राखे ।
पुरानै जङ्गे पिल्लरको सिमानाका आधारमा सिमाना छुटाइनु पर्ने स्थानीयहरूको माग छ । यहाँ सिमानाको लाइन सिधा नभएको अवस्थामा भारतीय पक्षको हेपाहा प्रवृत्ति सह्य नहुने भन्दै स्थानीयहरूले यसको कडा विरोधमा उत्रने चेतावनी समेत दिएका छन् ।
.gif)