महेन्द्रनगर । नेपाली कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको मृत्यु प्रकरण थप रहस्यमयी बन्दै गएको छ । गत शनिवार बिहान भीमदत्त–१८ वडा कार्यालयभन्दा सय मिटर दक्षिणतर्फ घोप्टो परेको अवस्थामा मृत फेला परेका कलौनीको मृत्यु शारीरिक अस्वस्थताले भएको प्रहरीले आङ्कलन गर्दे आएको थियो । तर पोस्टमार्टम रिपोर्टले भने कलौनीको मृत्युको कारण खुल्न नसकेको देखाएपछि उनको मृत्यु रहस्यमयी बन्दै गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी उमेश जोशीले बुधवार मात्रै कलौनीको प्रारम्भिक पोस्टमार्टम रिपोर्ट आएको जानकारी दिए । पोस्टमार्टम रिपोर्टमा कलौनीको भित्री घाउ, चोटपटक नरहेको देखाएको डिएसपी जोशीले बताए ।
डिएसपी जोशीले मृतकको बाह्य चोटपटक पनि नदेखिएको बताए । शुक्रवार राति ९ः३३ बजेसम्मको सिसिटिभी फुटेजमा देखिएका कलौनी त्यसको केही मिटर पर मृत फेला परेका थिए । घटना हुनुभन्दा केही समयअघि कलौनी अस्पतालमा ग्यास्ट्रिकको औषधि लिन गएको प्रहरीले ठहर गरेको थियो । उनको साथमा प्रहरीले औषधि पनि भेट्टाएको थियो ।
मृत फेला परेका दोस्रो दिन भेरी अस्पताल नेपालगन्जका फरेन्सिक विज्ञसहितको डाक्टरको टोलीले कञ्चनपुर पुगेरै पोस्टमार्टम गरेको थियो । रिपोर्टमा भित्री बाहिरी चोट नदेखिएको, तर ‘अक्लुजन’का कारण मृत्यु भएको हुनसक्ने सङ्केत गरेको छ । ठोस कारण भने रिपोर्टमा छैन । पोस्टमार्टमको रिपोर्टबाट मात्रै घटनाको तथ्य सार्वजनिक हुन नसकेपछि प्रहरीले मुटुको थप परीक्षण गर्ने तयारी गरेको छ ।
कलौनीको मुटु परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने भएको छ । त्यस्तै नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगञ्जमा भिसेरा परीक्षणको तयारी गरिएको छ ।
कलौनी मृत्यु प्रकरणको अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर दत्त भट्टलाई अनुसन्धान अधिकृत तोकिएको छ । अनुसन्धानमा सिआईबीको टिम र नेपाल प्रहरी खटिएका छन् । कलौनीको किप्याड मोबाइल अझै फेला पर्न सकेको छैन भने उनले प्रयोग गर्दे आएको पर्स फालेको फेला परेको थियो । पर्समा रुपैयाँ भने थिएन । प्रहरीले हालसम्म कसैलाई नियन्त्रणमा लिएर अनुसन्धान नगरिएको बताएको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल विद्यार्थी सङ्घबाट राजनीति थालेका कलौनी पछिल्लो समय नगर सभापतिसँगै महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए ।
नगर सभापतिको रहस्यमय मृत्युको घटना सार्वजनिक भएपछि कांग्रेस नेतासमेत रहेका गृहमन्त्री रमेश लेखक गृह जिल्ला कञ्चनपुर पुगेका थिए । गृहमन्त्रीलाई भेटेका मृतक कलौनी परिवारले उनको हत्या भएको भन्दै सत्य तथ्य छानबिनको माग गर्दे आएका छन् ।
.gif)