महेन्द्रनगर । भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि गठित भूमि आयोग कञ्चनपुरले पूर्णता पाएको छ । बिहीबार तीन जना सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।
यस सङ्गै आयोगले पूर्णता पाएको भूमि आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रसाद पन्तले जानकारी दिए । यस अघि माघ १४ गते अध्यक्ष पन्तले पदभार ग्रहण गरेका थिए ।
बिहीबार कञ्चनपुर स्थित आयोगको विज्ञ सदस्यमा दिल बहादुर सिजाली, सदस्यमा दिल बहादुर देउवा र महिला सदस्यमा कमला चौधरीले पदभार ग्रहण गरेका हुन् ।
यस्तै, आयोगको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय , मालपोत कार्यालय , डिभिजन वन कार्यालय , नापी कार्यालय र जिल्ला समन्वय कार्यालयका एक/एक जना रहने छन् । बिहीबार आयोजित पदभार कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराले यस आयोगलाई अन्तिम आयोग बन्न शुभकामना व्यक्त गरे ।
लामो अपेक्षापछि आयोगले पूर्णता पाएको भन्दै उनले जिल्ला स्थित भूमि सम्बन्धी समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । भूमि आयोग कञ्चनपुरका अध्यक्ष पन्तले समितिले पूर्णता पाए सँगै कर्मचारी माग गरिएकाले लगत्तै कार्य अगाडी बढाइने बताए ।
केन्द्रीय आयोगले केही दिन भित्रै सर्वेक्षक र अमिनहरू छनौट गरेर पठाउने उनले बताए । उनले भने,-`समितिले अब पूर्णता पाएको छ, कर्मचारी माग गरेका छौँ लगत्तै तीव्र रूपमा काम अगाडी बढाउँछौ ।´
जिल्लामा हाल सम्म भूमिहीनहरूका ७२ हजार ९ सय ३० निवेदन परेका छन् ।यस अघिका आयोगहरूले वडा, नगरपालिका क्षेत्रमा कामहरू गरेकाले त्यसको अध्ययन गरेर छुटेकाहरूलाई अझै समावेश गरिने अध्यक्ष पन्तले बताए ।
यस आयोगलाई अन्तिम आयोगका रूपमा काम गर्ने उनले प्रतिबद्धता जनाए । पदभार कार्यक्रममा बोल्दै सदस्यहरूले यस आयोगलाई नै अन्तिम आयोग बनाउन पुर्ण रुपले लाग्ने प्रतिबद्धता जनाए ।
.gif)