महेन्द्रनगर । उद्योग वाणिज्य संघ कन्चनपुरले आज(सोमबार) देखि महेन्द्रनगर स्थित खुला मंचमा १६ औं कन्चनपुर पर्यटन महोत्सवको आयोजना गरेको छ ।
सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कन्चनपुर महोत्सवको सम्पुर्ण तयारी पूरा भएको उद्योग वाणिज्य संघ कन्चनपुरका अध्यक्ष पिताम्बर जोशीले जानकारी दिए ।
महोत्सवमा भारतको उत्तराखण्ड प्रदेशका पर्यटन, सास्कृतिक एवं सिचाइ मन्त्री सतपाल महाराजलाई पनि विशिष्ट अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।
तर सतपालको आमन्त्रणको विषलाई लिएर कन्चनपुरका युवा विद्यार्थीहरुले भने विरोध जनाएका छन् । उनीहरुले उत्तराखण्डका कैबिनेट मन्त्री सतपाल विवादित छविका रहेका र उनले मुलुकको स्वाभिमान विरुद्ध बोल्ने गरेको भन्दै युवा विद्यार्थीहरुले उनको नेपाल प्रवेशमा विरोध जनाएका हुन् ।
एकीकृत समाजवादी निकट अनेरास्ववियु कन्चनपुरका अध्यक्ष प्रज्वल कुवरले आइतबार संयुक्तरुपमा विज्ञप्ति निकालेर भारतका पर्यटन मन्त्री सतपालको नेपाल प्रवेशमा रोक लगाउन आग्रह गरिएको बताए ।
विवादीत क्षविका भारतीय मन्त्रीलाई नेपाल बोलाउन नहुने र बोलाएमा विरोध गरिने चेतावनी दिएका छन् । दिपेन्द्र सिह एरिले उत्तराखण्डका मन्त्री सतपालाई बोलाए विरोध गरिने बताए । विवादीत व्यक्तिलाई बोलाउनु नहुने भने उनले स्वदेशमै रहेका जगतगुरुलाई बोलाएर कार्यक्रमको सोभा बढाइनुपर्नेमा जोडदिए ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कैलाश चन्द्र गिरीले नेपाल र नेपालीको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानमाथि आघात पुग्ने अभिव्यक्ति दिँदै आएका सतपालको उपस्थित स्विकार्य नभएको बताए ।
विवादित व्यक्तिलाई नेपालका औद्योगिक तथा व्यापारिक कार्यक्रमहरूमा निम्त्याउनु आपत्तिजनक रहेको उनले बताएका छन् । सतपाल महाराजलाई कार्यक्रमबाट नहटाइए कार्यक्रम बहिष्कार गर्ने उनले चेतावनी दिए ।
त्यस्तै, विद्यार्थीहरूले हालै भारतको केआईआईटी युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको दुःखद निधन प्रति दुःख व्यक्त गर्दै, विश्वविद्यालय प्रशासनले नेपाल र नेपाली विद्यार्थीहरूप्रति गरेको व्यवहारप्रति रोष प्रकट गरेका छन्।
तर उद्योग वाणिज्य संघ कन्चनपुरका अध्यक्ष पिताम्बर जोशीले भने महोत्सव सहभागी हुने अतिथिहरुलाई पुर्व निर्धारित कार्यतालिका अनुरुप आमन्त्रित गरिएको बताएका छन् । उनले उत्तराखण्डका पर्यटन मन्त्रीलाई यश क्षेत्रको पर्यटन विकास र प्रचारप्रसारका निम्ति आमन्त्रण गरिएको बताए ।
केही उच्छृङ्खल व्यक्तिहरुले विरोध जनाएको सुन्नमा आएको बताउदै अध्यक्ष जोशीले महोत्सवमा सम्मानका साथ उत्तराखण्डका मन्त्री सतपालको स्वागत गरिने बताएका छन् ।
महोत्सवमा कृषि प्रदर्शनी, अटो पर्दर्शनी, दोहरी, डेउडा, थारु राना नृत्य , नाच प्रतियोगिता, राष्ट्रिय , स्थानीय तथा भारतीय कुमाउनी कलाकारहरुबाट सास्कृतिक कार्यक्रम , डोटेली, थारु तथा रानाहरुका खानाका परिकार तथा नृत्य प्रस्तुत हुने आयोजकले जनाएको छ ।
महोत्सवको उद्द्घाटन प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कार्यक्रम रहेको स्वागत सत्कार समिति संयोजक जंग वहादुर मल्लले जानकारी दिए । उनले महोत्सवमा आउनुहुने सबै अतिथिलाई स्वागतको तयारी पूरा भएको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कन्चनपुर महोत्सवमा दुई सय भन्दा बढी स्टल र २० फुड स्टल रहेका छन् । महोत्सवमा स्थानीय स्तरमा उत्पादित वस्तुका स्टलहरु नि:सुल्क उपलब्ध गराइने उद्योग वाणिज्य संघका अध्यक्ष जोशीले जनाए । १० दिन सम्म संचालन हुने मेलामा २ लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा वाणिज्य संघले गरेको छ ।
.gif)