धनगढी । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् न्यूनीकरण गर्न पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जोखिम सञ्चारमा मिडियाको भूमिका सबलीकरण विषयक दुई दिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री सार्कीले सो कुरा बताएका हुन् ।
सही र सामूहिक सूचनाले जनधनको क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री सार्कीले बताए ।
सुदूरपश्चिम विपद्को जोखिममा रहेकाले यसको चिरफार गर्दै जनता समक्ष सूचना प्रकाशन गर्न पत्रकारहरूलाई मन्त्री सार्कीले आग्रह गरे ।
कार्यक्रमका अध्यक्ष राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता डा. डिजन भट्टराईले जिम्मेवार ढङ्गले सही सूचना सम्प्रेषण गर्न आग्रह गरे ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले विपद्जन्य घटनाहरू बढ्दै गएकाले यसको पूर्वानुमान हुने गरेको र समयमै सजक रहन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहने बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजना र मर्सिकोरको प्राविधिक सहयोगमा धनगढी स्थित रुबस होटेलमा बिहीबार देखि दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।
विपद् देखि शक्ति राष्ट्रहरू पनि पराजित भएका बेला समयमै विपतको जोखिममा रहेका नागरिकलाई सुसूचित गराउनु अहिलेको आवश्यकता रहेको सहभागीहरूले बताए ।
हाल बिपद जोखिम न्यूनीकरणका लागि सप्तरी, रौतहट, बाके, बर्दिया, कैलाली र कञ्चनपुर सहितका जिल्लाका अति जोखिमयुक्त १३ स्थानीय तहका ३४ स्थानमा साइरन प्रणाली जडान गरिएको जनाइएको छ । गोष्ठीमा कैलालीसहित सुदूरपश्चिमका नौ वटै जिल्लाका पत्रकारहरूको सहभागिता रहेको छ ।
.gif)