महेन्द्रनगर । कञ्चनपुरमा एक वडा अध्यक्षले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सडक कालोपत्रेको माग सहित सडकबाटै कार्यालय सञ्चालन गर्दै आएका जिल्लाको कृष्णपुर नगरपालिका–२ का वडा अध्यक्ष अर्जुन साउँदले बिहिबार देखि सडक आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।
बंक–नायल–बुडर सडक खण्ड अन्तर्गत बंक क्याम्पस चोकदेखि दोमिल्लासम्मको सात किलोमिटर सडक कालोपत्रेको मागराखेर वडा अध्यक्ष साउदसहितले सडकमै कार्यालय राखेर विरोध जनाएका थिए ।
वडाध्यक्ष साउँदले गत आईतबारदेखि दवाव स्वरुप सडकबाटै वडाकार्यालयका कामकाज अगाडी बढाएका थिए ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुर र ठेकेदारलाई समयमै सडक कालोपत्रेका लागी दबाब दिन सडकमै वडा कार्यालय राखेर विरोध जनाएका थिए । सडकबाटै वडा कार्यालयका काम हुन थालेपछि चौतर्फि विरोध सुरु भएको थियो ।
सडक आन्दोलनको पाँचौँ दिन पूर्वाधार विकास कार्यालय कञ्चनपुरमा भएको छलफलमा ठेकेदारले सडक कालोपत्रे गर्ने लिखित प्रतिबद्धता गरेका छन् । बिहीबार निर्माण कम्पनीले चैत २० गते सम्म बेस मेटिरियल जम्मा गरेर चैत २१ गते देखि सडक कालोपत्रेको काम सुरु गर्ने लिखित प्रतिबद्धता गरेको हो ।
होला त सडक कालोपत्रे ?
सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजना अन्र्तगतको उक्त बंक–नायल–बुडर सडक निर्माणका लागि विंस. २०७७ साउनमा सन्तोषी जेभी थेगिङ सँग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८१ वैशाखमा काम गरि सक्नुपर्ने भए पनि हाल सम्म ३५ प्रतिशत पनि काम पुरा भएको छैन ।
सडक कालोपत्रे नहुदा सुदूरपश्चिमका चार जिल्ला र चार पालिका जोड्ने उक्त सडकमा यात्रा गर्न हम्मेहम्मे हुने गरेको छ । जसले कृषक, मजदुर, अटो व्यवसायी, विद्यार्थी र व्यवसायीले सास्ती मालेर यात्रा गर्नुपर्ने बाध्यता रही आएको छ । कञ्चनपुरको कृष्णपुर, कैलालीको गोदावरी, डडेल्धुराको पर्शुराम र डोटीको जोरायल नगरपालिका जोड्ने उक्त सडक कालोपत्रे नहुँदा बर्षादमा हिलाम्य र हिउदमा धुलाम्य हुने गरेको गुनासो उक्त क्षेत्रका स्थानियहरुले गर्दे आएका छन् । पटक–पटक ठेकेदारले कालोपत्रे गर्ने आश्वासन गर्दे आएको र कार्याअलपत्र पार्दा यसपटक वडा अध्यक्ष सहितका स्थानियहरुले सडकमै कृर्षी, टेबुल राखेर आन्दालनका कार्यक्रम थालेका थिए । आन्दोलनमा सेवाग्राही पनि सहभागी थिए ।
तोकिएको मितिमा काम नसकिएपछि हाल पूर्वाधार विकास कार्यालय कञ्चनपुरले २०८२ चैत ३० सम्म म्याद तोकेको छ । हाल थपिएको म्याद बाँकी भए पनि ठेकेदारले थपिएको म्यादमा पनि काम सुरु नगरपछि वडाध्यक्षले सडकमै कार्यालय राखेर विरोध थालेका थिए ।
हाल ठेकेदारले सव बेसको काम गरिरहेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ । ७ किलोमिटर सडक कालोपत्रेका लागि लागि ठेकेदार सँग ११ करोड ८७ लाखमा ठेक्का सम्झौता भएको छ ।
प्रतिवद्धता अनुरुप समयमै सडक कालोपत्रे नगरिए फरक ढंगले आन्दोलनका कार्यक्रम अगाडी बढाइने वडा अध्यक्ष साउँदले बताए । आफुहरुले सडकको नियमन, अनुगमन र खबरदारी गरिरहेका उनले बताए । समयमै काम नगरेको खण्डमा रचनात्मक ढंगलले आन्दोलनका कार्यक्रम अगाडी बढाइने समेत अध्यक्ष साउदले चेतावनी दिए ।
.gif)