महेन्द्रनगर । कञ्चनपुरमा कान्छी श्रीमती संग मिलेर जेठी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको भीमदत्त नगरपालिका-११ चौबिससत्तामा शनिबार दिउँसो गोपाल सुनारकी ५८ वर्षीय श्रीमती कसी सुनार बेहोस अवस्थामा फेला परेकी थिइन् ।
उपचारका लागि महाकाली अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका
प्रवक्ता (डिएसपी) उमेश जोशीले जानकारी दिए । यद्यपि उनको मृत्युुको कारण भने खुल्नमा नआएको डिएसपी जोशीले बताए ।
महाकाली नदी किनारामा बालुवा चालेर जिविकोपार्जन गर्दै आएकी सुनारलाई सम्पत्तिको प्रलोभनमा उनका श्रीमान गोपाल सुनारसहित कान्छी श्रीमती मिरा देवी सुनार , छोरा अर्जुन सुनार र करन सुनारको मिलोमतोमा हत्या गरेको आरोप लागेको छ ।
घटनाक्रम...
विगत ३० वर्ष पहिले गोपाल सुनारले दूई महिनाकी गर्भवती कसी सुनालाई धोका दिएर मिरा देवी संग बहुबिवाह गरेका थिए ।
कामको सिलसिलामा भारतमा रहेका उनिहरु एक हप्ता पहिले मात्रै घर फर्कीएको सुनारका भाइ सुनील सुनारले बताए ।
विगतदेखिनै दिदिमाथी कुटपिट गर्दै आएका उनले बताए ।
महाकाली नदीमा बालूवा चालेर एक छोरा र छोरीको पालनपोषण गर्दै आएकी उनिले आफ्नै सम्पत्तिमा घर बनाएकी थिइन् ।
विगतदेखिनै सम्पत्तिमा हिस्सा खोज्दै आएका उनका श्रीमान र कान्छी श्रीमतीले यातना दिदै आएको गुनासो गरिएको छ ।
तर शनिबार दिउँसो महाकाली नदीमा बालुवा छानेर घरमा आराम गर्न गरिरहेकी दिदिको भिनाजु र कान्छीदिदि मिलेर हत्या गरेको भाइ सुनीलले दुखेसो पोखे ।
सुतेको अवस्थामा कान्छी श्रीमती संग मिलेर सिरानीले च्यापेर हत्या गरेको भन्दै मृतकका भाइ सुनिलले कडा कार्वाहीको माग गरेका छन् ।
प्रहरीले घटना लगत्तै मृतकका श्रीमान गोपाल सुनारसहित उनकी कान्छी श्रीमती मिरा देवी सुनार , छोरा अर्जुन सुनार र करन सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।
मृतक कसी सुनारको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
.gif)