भुवन भट्ट/महेन्द्रनगर । संविधान सभा सदस्य कृपाराम रानाले राना थारु भाषा चुनौतीको घेराबन्दीमा रहेको बताउनुभएको छ । शुक्रवार भारतको उत्तराखण्ड प्रदेशको खटिमा स्थित राना थारु विकास भवनको हलमा आयोजित महाराणा प्रतापको जन्म जयन्तीको अवसरमा बोल्नुहुँदै संविधान सभा सदस्य रानाले सो कुरा बताउनु भएको हो ।
राना थारु जातिको संस्कृति माथि आधुनिक परिवेश र अन्य समुदायको प्रभुत्व दिन प्रतिदिन बढ्दै जाँदा राना थारु भाषा चुनौतीको घेराबन्दीमा रहेको रहेको उहाँले बताउनुभयो ।
राना थारु समुदायको पहिचानको मुख्य आधार भाषा, संस्कृती रहनसहन, सामाजिक संरचना भएको हुँदा यसको संरक्षणमा समुदाय र राज्य दुवैले महत्वपूर्ण साथ दिनुपर्ने उहाँले बताउनुभयो ।
नेपाल भारतमा बोलिने राना थारु भाषा राना थारु समुदायको साझा भाषा भएकाले यसको संरक्षण सम्वद्धन हुँदै सरकारी तवरबाट जर्गेना गर्नुपर्न, सरकारी कामकाजी भाषाको मान्यता दिइनुपर्नेमा उहाँले जोड दिनुभयो । समुदाय स्तरबाट यसको संरक्षण, सम्वद्र्धन र विकासको अभियान सञ्चालन गरिनुपर्ने अहिले मुख्य आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।
महाराणा प्रतापको जन्म जयन्तीको अवसर पारि भारतको उत्तराखण्ड प्रदेशको खटिमा स्थित राना थारु विकास भवनको हलमा भव्यताका साथ जन्म जयन्ती मनाइएको हो । राणा थारु परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपालका तर्फबाट संविधान सभा सदस्य कृपाराम राना, कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कमल सिङ राना, नेपाल राना थारु समाज कञ्चनपुरका अध्यक्ष प्रेमवती राना लगायतको प्रतिनिधि मूलक सहभागिता रहेको थियो ।
कार्यक्रमका सभापति राणा थारु समुदायका अध्यक्ष दान सिङ राना रहनुभएको थियो भने नानक माता विद्यायन क्षेत्रका विधायक माननीय गोपाल सिंह राणा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा सहभागीहरूले पुर्खाैली भाषाको संरक्षण गर्नुपर्नेमा जोडदिनुभयो ।
सबै सुख शयन त्याग गरेर अमर बन्नुभएका राना समुदायका पुर्वज महाराणा प्रतापको जन्म सन् १५४० मे ९ मा भारतको राजस्थान स्थित दुर्गम क्षेत्र कुंभलगढमा भएको थियो ।
प्रत्येक वर्ष राना थारु समुदायले मे ९ मा विशेष कार्यक्रमको आयोजना गरी महाराणा प्रतापको जन्म जयन्ती मनाउँदै आएका छन् । भारतको खटिमा जिल्ला स्थित उद्यम सिंह नगरमा उहाँको घोडामा चढेको प्रतिमा पनि बनाइएको छ । राना थारु समुदायले महाराणा प्रतावलाई पुर्वजका रुपमा मान्दै आएका छन् ।
.gif)