सुदूरपश्चिमका धेरै गीत सङ्गीतकारहरूले नचिनेका र नखोजेका प्रतिभा हुन गोपालराम दमाई ।अहिले नाम चलेका धेरै गायक कलाकार नजन्मिँदै गोपालराम सर रेडियो नेपाल पुगिसकेका थिए। बैतडीको तल्लो स्वराडबाट रेडियो नेपाल सिंहदरबारसम्म पुग्नु त्यति सजिलो थिएन। त्यो भन्दा पनि झनै असहज उति बेलाको उनको शैक्षिक यात्रा थियो ।
बैतडी जिल्लाको हालको मेलौली नगरपालिका वडा न० १, देही गाउँको सुनगडा देनोला निवासी तुलसी दमाई र जगदीश(जग्वा) दमाईका २ छोराहरू र १ छोरी मध्ये जेष्ठ सुपुत्र गोपालरामको जन्म बि स २००२ सालमा भयेको हो । उनी बि स २००४ मा खुलेको मणिलेक हाई स्कुलबाट बि सं २०२१ मा हाइ स्कूल ( एस एल सि) पास गरे पछि भारतको पिथौरागढमा मा रहेको जिआइ सि तथा सरकारी पि जि कलेज( तत्कालीन आगरा विश्वविद्यालय )बाट अंग्रजी बिषयबाट बि ए उत्तीर्ण गरेका थिए। पढाइसंगै कृष्ण माध्यमिक विद्यालय पाटन बैतडीबाट शिक्षण पेशामा प्रवेश गरेका उनले अग्रेजी विषय शिक्षकका रूपमा पछि लामो समयसम्म मणिलेक माध्यमिक विद्यालय, मेलौली बैतडीमा काम गरे। आफ्नो विषय शिक्षणमा दखल भयेका उनले विद्यालयमै मात्र होइन जुनसुकै पनि बेला विद्यार्थीका समस्या समाधान गर्न तत्पर रहन्थे। शिक्षणकै क्रममा काठमाडौँबाट बि एड गरिरहेको बेला त्रिशूली बस दुर्घटना जेनतेन बाँच्न सफल उनको स्वास्थ्यमा भने निकै क्षति भयो। पेसागत रूपमा अब्बल शिक्षकका रूपमा चिनिएका उनले २०४० साल पछि काठमाडौँमा पिस कोरहरूलाई नेपाली भाषा प्रशिक्षण गर्ने अवसर पनि पाएका थिए।
अङ्ग्रेजी, हिन्दी, नेपाली लगायतका भाषाहरूमा राम्रो दखल भयेका उनको विशेष रुचि र खुबी भयेको क्षेत्र गीत सङ्गीत पनि थियो । तत्कालीन सामाजिक परिवेशमा सामाजिक सङ्घर्षका क्षेत्रमा शिक्षा अनि प्रतिभा भएकै कारण उनी स्थापित र परिचित भएका थिए। परम्परागत गीत सङ्गीतमा पारिवारिक प्रभावका कारण उनको आधार बनेको थियो भने पढाइका सिलसिलामा पिथौरागढ बसाइबाट आधुनिक वाद्य हार्मोनियम-तबला वादनमा अनौपचारिक रूपमै भये पनि सीप निखार्ने अवसर पाएका उनले स्थानीय आयोजनहरूमै आफ्ना प्रस्तुति राख्ने मौका पाउँथे
बि स २०२७/२८ तिर दुर्गम गाउँ ठाउँमा शिक्षाको अवस्था अत्यन्तै कमजोर भयेको समयमा दलित समुदायको व्यक्तिले बि ए पास गर्नु चुनौतीपूर्ण नै थियो । गाउँमै हाइस्कूल हुँदाहुँदै पनि हाइस्कूलको शिक्षा समेत धेरै कमैले मात्रै पुरा गर्दथे । उहाँमा भयेको विलक्षण प्रतिभा कै कारण गीत, सङ्गीत, अभिनय, नृत्य, हार्मोनियम, तबला तथा स्थानीय बाजाहरूका समेत निपुण भयेकै कारण पनि धेरैले उहाँलाई "गोपाल मास्टर " भनेरै चिन्दथे। उनका समकालीन शिक्षकहरू हेमराज ओझा ,कालु चन्द, शिवदत्त भट्ट, गणेश दत्त भट्ट, बजिरसिह बिष्ट, गंगादत्त ओझा, दशरथ जोशी लगायतको बिचमा हुने व्यङ्ग्यात्मक ठट्यौलीमा दिल खोलेर हाँस्ने र हँसाउने कुरा पनि उति बेलाका विद्यार्थीहरू अहिले पनि सम्झिन्छन्।
गोपालराम सर आफैमा कवि र गीतकार पनि थिए। बि एड अध्ययनकै सिलसिलामा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेका उनले रेडियो नेपालमा थुप्रै गीतहरू गाएका भये पनि उनले आफैले स्वर र सङ्गीत भरेको " पाटन राम्रो धान बालीले, बैतडी तोरीले---"बोलको गीत लामो समयसम्म प्रसारण भयेको पाइन्छ। २०३८ साल पूर्व नै गाइएको यो गीत लामो समय सम्म रेडियो नेपालले प्रसारण गर्ने गर्दथ्यो। उति बेला नै भयेको त्रिशूली बस दुर्घटनाबाट घाइते भये पछि रेडियो नेपालको गायन यात्राले निरन्तरता पाउन नसके पनि स्थानीय स्तरमा उनका प्रयास रोकिएका थिएनन्। आफै गीत कविता रचना गरेर गाउने र सङ्गीत सिर्जना गर्ने काम उनी आफै गर्ने गर्दथे। गोपालराम सरका सिर्जनाहरू केही यस्ता थिए----
१)सरस्वती बन्दना :-
बिणा मधुर मधुर स्वर बोल २
सरस्वती ज्ञानको पर्दा खोल२
शान्त भै झनकार सुनाइ देउ,
जिवनको अन्धकार हटाइ देउ।
बिणा----
जगमग ज्योति मनमा जगाइ देउ ,
अज्ञानलाई दूर भगाइ देउ।
बिणा-------
राख सरण निर अज्ञानी ठानि ,
पुजा गर्ने रीत न जानी।।
विणा मधुर मधुर स्वर बोल२
२)पाटन राम्रो धान पाकेर, बैतडी तोरिले
जाने बेला माया लायो, नककलि मोरिले
पाटन राम्रो धान पाकेर आहै बैतडी तोरीले––२
मेरो मायालाई––––––२
को बेलैमा माया लगाइ आहै नक्कलि मोरीले––२
मेरो मायालाई–––––––२
पारी पाखा घाँस काटुँलाऽ आहै सुसेली गीत गाउँला
मेरो मायालाई–––––२
मादल भिरी गीतै गाउँलाऽआहै सङसङै नाचुँला –२
मेरो मायालाई–––––२
रामचन्द्र सीकार गयाऽ आहै इन्द्रपुरी बासऽ––२
मेरो मायालाई–––२
बादल फाटे घाम लाग्दछ ऽ आहै दिल फाटे उदास–२
मेरो मायालाई––––––२
३)नजाउ तेसैइ सन्नानी तर्केर....
न बोले नि हेरि देउ फर्केर, मुसुक्कैइ हाँसेर
४)जुनि यसै बित्यो है साइली लाहुरै बसेर
जुनि यसै बित्यो साइली लाहुरै बसेर––––
यो चिठी भन्दा अरू के दिउ भन्दिनु
सम्झना आएको चिनु हेरी धुरूक्क रोइ दिनु।
हिमाल चुलि त्यो उच्चो डाँडो आकासै छुदैन।
एउटै सूर्य घाम तापिन्छ भेट किन हुदैन ।
तिमीलाई भेटन त्यो महाकाली चैतमा तरूँला।
भाग्यले भेट हुनेछ भने म आउँदै गरूँला।
जुनि यसै बित्यो साइली लाहुरै
५)नबिर्स है नबिर्स है नेपाली ....नेपाल आमालाइ.... छडेके नजर लगाइ हेर .....जन्मिएको ठाउँ लाई....
६)हे! प्याउली फूल फुल्ने बेला भैइ सक्यो
अब त पहिलो पल्ट खेतमा हुने भैइ सक्यो
अब त घासको पातमा फुल्यौ प्याउली
घासकै पातमा ओइलाउछौ गासेर माया
तेइ घाँस सङ्ग घाँसइ मा बिलाउछौ ।
कोइ छैन तिम्रो त्यो रङ्ग देखि सामुन्ने आइदिने
कोइ छैन त्यहाँ तिमीलाइ चुणी कानमा लाइदिने ।
छ लालुपाते पुजाको थाली मन्दिरमा सजाउनु
तिमीलाइ कसले चुडाल्छ प्याउली कानमा लाउन।
फूल त तिमी फुल हौ प्याउली घाँसको भन्छ र?
तिमीले फल्न न फुले झैँ हो त्यहाँ को चिन्छ र?
जुन फूल म रुचाउँछु तेइ फूललाई ढाली दिन्छ
जुन ठाँउमा बस्न खोजे उहीँ ठाँउले ढाली दिन्छ।
सुदूरपश्चिमको गीत सङ्गीतका धरोहर गोपालराम सरका सयौँ गीत, नाटक, कविता लगायतका सिर्जना खोजिएकै छैनन्। न त उनलाई कसैले सम्झेका छन्।
यस्ता दर्जनौँ गीतका सर्जक गोपालराम सर ६२वर्षको उमेरमा बि स २०६४ भदौ २१, मा आफ्नै निवास मेलौलीमा निधन भएको थियो।
भाषा, साहित्य, गीत सङ्गीत प्रति अत्यन्तै रुचि भयेका प्रतिभा उनले उति बेला जुन वातावरण र अवसर पाउनु पर्दथ्यो उनी त्यस बाट वञ्चित रहे , उनको जीवनका पछिल्ला समयमै उनले विदेशबाट नेपाल आइ काम गर्ने स्वयंसेवकन (पिस्कोर)लाइ नेपाली भाषा सिकौन्या प्रशिक्षक भयेर काम गर्ने मौका पाए पनि त्यसमा पनि आंशिक अवसर मात्रै पाए ।उनकै प्रेरणाले गीत संगीत तिर प्रेरित भयेका कलाकारहरूले पनि बिर्सदै गये। उनले सुदूरपश्चिमलाई राष्ट्रिय मूलधारमा चिनाउन गरेको प्रयासलाई धेरै लेखकहरूले पनि खोजेका छैनन् ।उनले आफ्ना गीतहरूमा यहाँका लय धुन र शब्दहरूको सम्मिश्रण मात्रै गराएका होइनन कि यहाँको लोक साहित्य, संस्कृतिमा समेत जागरण ल्याउने काम गरेका थिए। सङसङै उनी एक राष्ट्रप्रेमी सर्जक पनि हुन। उनका गीतहरूमा हल्को मनोरञ्जन मात्रै होइन हाम्रो समाजका दुःख,पिडा रे वेदना पनि पोखिएका छन्। सरल जीबन शैली, प्रष्टवक्ता , उनी जहिले पनि आफ्ना बिद्यार्थीहरूलाई "पढलाउँ , नान केइ गरला " भन्ने गर्दथे ।उनको जीबनका पछिल्ला समयमा पुरानो चोटको असर र प्यारालाइसिसका कारण "आजिलैइ केइ गद्द्या थ्युँ" भण्या बिचार पुरा हुन सकेन। उनले रचना गरेका सिर्जनाहरू डायरीहरूमै कता हराए खोजि गर्नु पर्ने देखिन्छ ।एउटा प्रतिभालाई गुमनाम रहन दिनु सरोकारवालाहरूको कमजोरी हो ,कमसे कम स्थानीय सरकार र खोजी कर्ताहरूले त न्याय दिन सक्नु पर्दछ। कैयौ गीत संगितको खोजी कर्ताहरूले रेडियो नेपालको म्युजिक लाइब्रेरी चहार्दा त उनको नाम याद गरि दिनु पर्दथ्यो। उहाँको योगदानको कदर गर्न कसेको स्थानीय सरोकारवालाहरूले र घर परिवारका सदस्यहरूले सोधखोज गर्न सहजिकरण गरि दिनु पर्छ, उहाँका अप्रकाशित कृतिहरू प्रकाशित हुनु पर्दछ। उनलाई सम्झिने उपायहरू धेरै छन्। खासगरि स्थानीय कलाकारहरूले उनका रचना खोजेर गायी दिए, उनको कर्मथलो मणिलेक माध्यमिक विद्यालयले सरस्वती बन्दना संगितबद्ध गरि विद्यालयको आधिकारिक प्रार्थना गीत बनाइ दिए, मेलौली नगरपालिकाले उनको नाममा कलाकार पुरस्कार घोषणा गरेर स्थानीय उत्कृष्ठ कलाकार सम्मान गर्ने परम्परा बसाइ दिए ,स्थानीय अध्येता/खोजकर्ताहरूले उहाँको व्यक्तित्व र कृतित्व बारेमा खोजी गर्ने जस्ता कामहरू भयेमा उहाँको कदर र उहाँप्रतिको श्रद्धाञ्जलि हुने छ।
.gif)