महेन्द्रनगर । आईतबार महाकाली अस्पतालको बाहिर बेलाबेला भक्कानिदै थिईन बेदकोट नगरपालिका –६ मुसेपानीकी १८ वर्षिया सरिता साउँद । अस्पतालमा आएका अधिकारकर्मी, मिडियाकर्मी र आफन्तहरुले उनलाई घटनाको बारेमा प्रश्न गरिरहँदा उनी बारम्बार भक्कानिदै थिइन ।
बोक्सी लागेको भन्दै धामीझाक्रीको कुटाईबाट आमाको मृत्यु भएपछि उनी र उनकी १२ वर्षिया बहिनी साहारा बिहीन भएका छन् । “घरमा बहिनी र म मात्रै छौँ ।” उनले भक्कानिदै भनिन्–“अब हाम्रो साहारा कोही छैन ।” उनले धामीझाक्रीले आमाको हत्या गरेको भन्दै उनीहरुलाई आजीवन काराबास हुनुपर्ने बताईन । उनले आमालाई सामान्य टाउको दुख्ने बाहेक अरु केही बिरामी नभएको बताईन । १० वर्ष अघि रोजगारीको लागि भारतमा रहेका बेला दुर्घटनामा परेर श्रीमानको मृत्यु भएपछि मृतक रञ्चुला साउद केही समय बैतडीको शिवनाथ स्थित घरमा बसिन । श्रीमानको मृत्युपछि दुईतिन वर्षपछि ७ वर्षिय छोराको मृत्यु भयो । छोराको मृत्युपछि साउँद दुई छोरी सहित ७ वर्ष अघि कञ्चनपुर झरेकी हुन । दिनहु मजदुरी गरेर दुई छोरीको पालनपोषण गरिरहेकी साउँदको बोक्सीको आरोपमा मृत्यु भएपछि उनका दुई छोरी साहारा बिहीन भएका हुन ।
उनकी जेठी छोरी सरिता कक्षा १२ मा र कान्छी छोरी निरा कक्षा ७ मा अध्यनरत छन । “आमाले मजदुरी गरेरै हामीहरुको पढाई खर्च र घर खर्च चलाउनु भएको थियो ।” सरिताले भनिन–“अब के गर्ने कहाँ जाने ।” उनका अनुसार कमला (धामी आएको घर) को छोरा छैनन । उनले छोरा पाउनका लागि घरमा धामीझाक्री बोलाउने गर्थिन । उनको घरमा १ महिनादेखि धामीझाक्री बसिरहेका थिए । “धामीझाक्रीले कमलालाई ६ महिनाभित्र छोरा दिने र त्यसका लागि मानिसको बलि दिनुपर्ने बताएका रहेछन् ।” सरिताले भनिन–“मेरो आमाको षडयन्त्रपूर्वक हत्या गरिएको हो ।” मृतकका देवर पदम साउँदले भाउजुको हत्या गरिएको भन्दै धामीझाक्री सहित ८ जनाको नाममा किटानी जाहेरी दिएका छन् । “मैले पहाडबाट यहाँ पुग्दा मृत्यु भइसकेको थियो, शव गन्हाउने अवस्थामा थियो ।” उनले भने–“शरीरभरी घाउँ थिए जिब्रो पोलिएको थियो नाकबाट रगत बग्दै थियो आगोमा फलामको डन्डीले कुटपिट गरेको रहेछ ।”
उनले अब छोरीको रेखदेख गर्ने मान्छे कोही नभएकाले पीडामाथि पीडा थपिएको बताए । “दुई छोरीको रेखदेख गर्ने मान्छे कोही भएन ।” उनले भने–“छोरीहरुको पढाईखर्चको लागि सरकारले व्यवस्था गरिदिनुप¥यो ।” स्थानीयले साउँदलाई बोक्सी लागेको भन्दै हत्या गरिएकाले घटनामा संलग्नलाई कारवाही हुनुपर्ने बताएका छन । मृतक साउद प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा मजदुरी गर्थिन । उनीसँगै काम गर्ने माया भट्टले २७ गतेसम्म साउँदसँगै काम गरेको बताईन । “२७ गतेसम्म हामीसँगै काममा हुनुहुन्थ्यो उहाँलाई बिरामी केही थिएन ।” उनले भनिन्–“घटनामा संलग्नलाई कडाभन्द कडा कारवाही हुनुपर्छ ।”
रञ्चुला साउँद हत्या भएको भन्दै मृतकका देवर पदम साउँदले ७ जनाबिरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धामीझाक्रीद्वय भीमदत्त नगरपालिका–७ हल्दुखालका धर्मानन्द भट्ट, वडा नं.१ बाराकुण्डाका नारायणदत्त भट्ट, मुसेपानीकी कमला साउँद बिरुद्ध जाहेरी परेको छ । यस्तै स्थानीय कुबेरसिंह साउँद, गौरी साउँद, कमला साउँद, जानकी घडाल र चक्र साउँद बिरुद्ध पनि उजुरी परेको छ । उनीहरु बिरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्र बहादुर शाहले बताए । “जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएर जाहेरीको आधारमा अनुसन्धान भइरहेको छ ।” उनले भने–“मृतक रञ्चुला साउदको शव महाकाली अस्पतालमा राखिएको छ, शवको परीक्षण रिर्पोट आएको छैन, रिर्पोट आएपछि घटनाबारे थप थाहा हुन्छ ।” मृतकका घटनाको सत्यतथ्य जाँच गरी दोषीलाई कारवाही हुनुपर्ने उनीहरुको माग छ ।
.gif)