महेन्द्रनगर । कञ्चनपुरमा मतदाता शिक्षाको अभाव सधैँ देखिने गरेको छ । पहिलो पटक विसं २०७४ सालमा भएको निर्वाचनमा कञ्चनपुरका नौं वटै पालिकामा ५ हजार ५९ मत बदर खसेको थियो । मतदाता शिक्षाको कमीले नै ती मत बदर हुने गरेको छ । जिल्लामा २ लाख ३५ हजारमध्ये ७२ दशमलव ९० प्रतिशत मत मात्रै खसेको थियो ।
यस पटक मतदाता संख्या बढेको छ । जिल्लाका सबै पालिकामा मतदाता संख्या २ लाख ९५ हजार ३५४ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा पुरुष १ लाख ५२ हजार ११२ र महिला १ लाख ४३ हजार २४१ तथा तेस्रो लिंगी १ जना छन् । विगतको स्थानीय तहको निर्वाचनमा ग्रामीण भेगका पालिकाहरुमा बढी मत बदर भएका छन् । निर्वाचन कार्यालयका अनुसार लालझाडी गाउँपालिकामा ८ हजार ९५६ मत खसेकोमा ४२४ मत बदर भएको थियो भने दोधारा चाँदनीमा पनि खसेको १३ हजार ८८३ मत मध्ये ५६९ मत बदर भएको थियो । विगतमा स्थानिय निर्वाचनमा स्वास्थ्य स्वयंसेविका र वालविकासका सहजकर्ताहरुलाई मतदाता शिक्षामा परिचालन गरिन्थ्यो । उनीहरु नमुना मतपत्र बोकेर घर घरै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाउँथे । तर पनि बदर मतको संख्यामा कमी आउन सकेको थिएन ।
दलहरूले भने यस विषयमा आ–आफ्नै दाबी गरेका छन् । विगतमा निर्वाचन आयोगले नै गाउँगाउँमा स्वयंसेवक खटाएर मतदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको थियो तर वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले उक्त कार्यक्रम सञ्चालन नगरेपछि मत बदर हुने आशंका बढेको नेकपा समाजवादी कञ्चनपुरका युवा नेता रामचन्द्र रेग्मीले बताए । ‘मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न आवश्यक थियो’, उनले भने, ‘अहिले गठबन्धन भएकाले मतदाताहरुलाई मतदाता शिक्षा कार्यक्रम पनी चलाइरहेका छौँ ।’यता विगतका निर्वाचनमा घरदैलोसहित उक्त कार्यक्रम गर्दै आएको निर्वाचन आयोगको दाबी भने फरक छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा समस्या नहुने भनाइ निर्वाचन आयोगको छ ।
उक्त कार्यक्रम सञ्चालनका लागि बजेट अभाव भएको बताइएको छ तर नमुना मतदान, प्रचारप्रसार गरेर निर्वाचन आयोगले आफ्नो जिम्मेवारी पूरा गरिरहेको निर्वाचन आयोग कञ्चनपुरका प्रमुख उदयराज जोशीले बताए । उनले केही दिनमा एफएम पत्रपत्रीका मार्फत सूचना प्रकाशन, प्रशारण गरिने बताए । ‘बैकल्पीक उपाय अपनाउने गरी सचेतना फैलाउने कार्यभइरहेको छ’ उनले भने ।
.gif)