रासस । पाँच वर्षअघि व्यास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दिलीपसिंह बुढाथोकीले जित हासिल गर्नुभएको थियो । उहाँले छाङ्गरु र तिङ्करवासीलाई भेट्दै पाँच वर्षमा निर्माणाधीन दार्चुला–तिङ्कर सडक निर्माणमा तीव्रता र छाङ्गरु तथा तिङ्करसम्मको गोरेटो बाटो पुनःनिर्माण गरेर नेपालकै बाटो भएर आवतजावतको व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।
पाँच वर्षको अवधिमा छाङ्गरु तिङ्करवासीका लागि न गोरेटोबाटो सञ्चालनमा आयो, न सडकले नै तीव्रता पायो । पञ्चायतकालमा नेपालकै बाटो भएर स्थानीय बसाइँसराइ कुञ्चा सर्ने गर्थे । आवतजावत नेपालकै बाटो भएर हुन्थ्यो । गणतन्त्र आएपछि यो बाटो पूर्णरुपमा बन्द भयो । “स्थानीय सरकार आएपछि करोडौँ बजेट आयो, तर छाङ्गरु तिङ्करका नागरिकको लागि बाटोसमेत बनाउन सकेनन्”, व्यास–१ का दानसिंह तिङ्करीले भन्नुभयो ।
यहाँसम्म पुग्ने बाटो र सडकका बारेमा हरेक मन्त्री, प्रशासक, सांसद र मुख्यमन्त्रीसम्मलाई भनेकै छन् । अहिलेसम्म यहाँका समस्याबारे कुनै निकायबाट सम्बोधन हुन नसकेको तिङ्करीको गुनासो छ ।सरकारले भारतले अतिक्रमण गरेको भूगोल समेटर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि यो क्षेत्रमा उच्च पदस्थको दर्जनौँ पटक भ्रमण भयो । हरेक पटकका भ्रमणमा व्यासवासीले छाङ्गरु र तिङ्कर पुग्न सहज बाटो तथा चीनसँगको व्यापार सहज गर्न तिङ्करलाई व्यापारिक नाका र अध्यागमन कार्यालय राख्नुपर्ने माग अघि सारिरहे । उनीहरुको मागमाथि तीन तहकै सरकारले सुनुवाइ गर्न नसकेको स्थानीय बताउँछन् ।
“सबैभन्दा नजिकको स्थानीय सरकारले पनि साधारण बाटोसमेत बनाउन सकेन”, तिङ्करी भन्नुहुन्छ । अहिले पनि व्यास गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट दिलीपसिंह नै अध्यक्षको उम्मेदवार हुनुहुन्छ । “अहिले पनि सोही बाटो र सडकको विषयलाई लिएर मतदातासामु भोट माग्न आएका छन्”, स्थानीय बसन्ती बुढाथोकीले भन्नुभयो, “तर माग पूरा गर्नेमा विश्वास छैन ।” व्यासमा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मङ्गलसिंह धामीले पनि दार्चुला–तिङ्कर सडक निर्माण प्राथमिकता र गोरेटो बाटो सञ्चालन गर्ने नारा अघि सार्नुभएको छ ।
व्यासका नागरिकले भने आफूहरुले विगत तीन वर्षदेखि भारतीय बाटोको प्रयोग गर्नुपरेको दुखेसो सुनाएका छन् । स्थानीयका अनुसार अरु विकास हैन, बाटोघाटो र सडक चाहिएको छ । सबैभन्दा मुख्य माग तिङ्करलाई व्यापारिक ‘ट्रान्जिट प्वाइन्ट’ बनाउनुपर्ने माग उनीहरुको छ । व्यासका पूर्वक्षेत्रपालसमेत रहनुभएका दानसिंह तिङ्करी भन्नुहुन्छ, “हामीहरुको माग तिङ्कर नाकालाई व्यापारिक नाकाका रुपमा अघि बढाउनुपर्छ भन्ने हो तर दुवै पार्टी र अध्यक्षहरुको एजेण्डा तिङ्कर नाकालाई व्यापारिक नाका बनाउँछु भनेर भनिएको छैन ।” कोरोनाको लहर आएसँगै उक्त नाका बन्द भएको छ । नाका सञ्चालन गर्नेदेखि व्यासमा अध्यागमन कार्यालय राख्ने, तिङ्कर नाकालाई व्यापारिक नाकाका रुपमा विकास गर्ने दलहरुको प्रतिबद्धता छैन । वर्षौंदेखि दलका नेताहरु उही सडक र बाटोका एजेण्डा लिएर भोट माग्न आउने गरेको स्थानीयको गुनासो छ ।
.gif)