शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कम लगानीका व्यवसायबाट राम्रो आम्दानी


सोमबार, वैशाख २६ २०७९
  • 596
    Shares

  • images
    images
    कम लगानीका व्यवसायबाट राम्रो आम्दानी

    महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३० वर्षीय हरेन्द्र सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरी परिवारको खर्च धान्दै आउनुभएको छ । वन समिति बजारमा सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गर्नुभएको छ । सार्की परिवारका पुख्र्यौली पेसा छाला जुत्ताको कार्य हो । छाला जुत्ताको कार्यबाट परिवारको खर्च चलाउनै मुस्किल भएपछि उहाँले साइकल मर्मत गर्ने पसल सञ्चालन गर्नुभएको हो । साइकलका पाटपूर्जासँगै पञ्चर बनाउने, लहर निकाल्ने, तिल्ली राख्ने, गोली, कटौरी राख्ने कार्यसँगै नयाँ टायर टयुबलगायत राख्ने कार्य उहाँले गर्नुहुन्छ । यस कार्यबाट सार्कीले रु १५ हजारदेखि रु २० हजारसम्म कमाइ गर्नुहुन्छ ।

    दातृ निकायले अनुदानमा हावा भर्ने कम्प्रेसर मेसिन उपलव्ध गराएपछि साइकलसँगै उहाँले मोटरसाइकलको पञ्चरसमेत जोडने कार्य गर्न थाल्नु भएको छ । “मेसिन उपलब्ध भएपछि आम्दानी बढेको छ”, उहाँले भन्नुभयो, “छ जनाको परिवारको खर्च यसबाटै चल्न थालेको छ ।” पहिला पसलमा थोरै मात्र सामान हुँदा थोरै आम्दानी हुन्थ्यो । मुस्किलले महिनाको रु आठ हजार आम्दानी थियो ।” कमाइबाट रकम बचत हुँदै जान थालेपछि पसलमा सामान थपिएपछि आम्दानी बढ्दै गएको उहाँले बताउनुभयो । रु २० हजारबाट सञ्चालन गरेको पसलमा हाल रु दुई लाख जति लगानी गरिएको उहाँको भनाइ रहेको छ ।

    साइकल पसल चलाउनु अघि सार्कीले अरुको खेत अधिँयामा लगाएर परिवारका लागि अन्नको जोहो मिलाउँदै आउनुभएको थियो । पसल चल्न थालेपछि यसबाटै घरखर्च चल्न थालेको छ । “थोरै पूँजीको काम गरेपनि निरन्तर लागिरहे परिवारको खर्च चलाउन अप्ठेरो नहुने रहेछ”, उहाँले भन्नुभयो, “अरुको भन्दा आफ्नै काम गरे सहज रुपमा जीविका चलाउन सकिँदो रहेछ ।” हरेन्द्रजस्तै वन समिति बजारमै छाला जुत्ताको कार्य गदैै आएका कसरौलका मन्दिर सार्कीले दैनिक रु एक हजारदेखि रु दुई हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले नयाँ जुत्ता बनाउने, पुराना जुत्ता चप्पल सिउने लगायतका कार्य गरी आम्दानी गर्दै आउनुभएको हो । “छोराले नयाँ जुत्ता बनाउने काम गर्छन्” उहाँले भन्नुभयो, “मैले पुराना जुत्ता सिउने र मर्मत गर्ने काम गर्दछु । यसबाटै परिवारको खर्च चल्छ ।”

    सार्कीले पाँच छोरी र तीन छोराको विवाहको खर्च यसै व्यवसायबाट धानेको बताउँनुहुन्छ । “घरबासका लागि मात्रै जग्गा छ”, उहाँले भन्नुभयो, “माइलो छोराले मसँगै छाला जुत्ताको काम गर्छ । दुई छोरा भारतमा काम गर्ने भएकाले परिवारको खर्च चलाउन सहज भएको छ ।” स्थानीय तहमा पाँच वर्षमा निर्वाचित हुने जनप्रतिनिधिले हालसम्म गरी खाने वर्गका व्यक्तिका लागि कुनै पनि योजना नल्याएकोमा उहाँ असन्तुष्टि व्यक्त गर्नुहुन्छ । “अहिले चुनावका लागि उम्मेदवारले प्रचारप्रसारको काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “हाम्रा दुःखलाई सम्झेर उत्थानका योजना ल्याई काम गर्ने भए मत माग्न आउनोस् । नभए मतनै नमाग्नोस् भनेको छु । सबैले काम गर्ने प्रतिबद्धता गरेका छन । पत्यार लाग्नेलाई मात्रै मतदान गर्छौ ।




    प्रतिक्रिया दिनुहोस