शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा तीन पालिकाको टुङ्गो


मंगलबार, जेठ ३ २०७९
  • 841
    Shares

  • images
    images
    कञ्चनपुरमा तीन पालिकाको टुङ्गो

    कञ्चनपुरका नौ पालिकामध्ये स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एक÷एक पालिकामा जित निकालेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यहाँको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मदनसेन बडायकलाई एक हजार ६५८ मतान्तरले पराजित गर्दै एमालेका राना निर्वाचित हुनुभएको हो । निर्वाचित रानाले चार हजार ५१६ मत ल्याउनुभएको थियो भने बडायकले दुई हजार ८५८ मत प्राप्त गर्नुभएको थियो ।

    यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै उम्मेदवार सपना चौधरी राना निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेसका राधा रानालाई पराजित गर्दै उपाध्यक्ष पद सुरक्षित गर्नुभयो । यसैगरी यहाँको बेल्डाडी गाउँपालिकामा कांग्रेसबाट उम्मेदवार रहनुभएका हरिचन्द्र राना अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसकै शान्तिनाथ निर्वाचित हुनुभएको छ् । अध्यक्ष पदमा निर्वाचित राना कांग्रेसका उपसभापतिसमेत हुनुहुन्छ ।

    उहाँले चार हजार २०१ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार अक्कलबहादुर विष्टले दुई हजार ३०१ मत प्राप्त गर्नुभएको छ । सो पालिकामा यसअघिको निर्वाचनमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । त्यसैगरी यहाँको दक्षिण क्षेत्रमा पर्ने बेलौरी नगरपालिकामा माओवादीका उम्मेदवार पोतिलाल चौधरी दोस्रो पटक नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा चौधरी पहिलो पटक बेलौरी नगरपालिकाको नेतृत्वमा पुग्नु भएको थियो । नगरप्रमुखमा चौधरीले ८ हजार ७८७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटत्म प्रतिस्पर्धी एमालेका उम्मेदवार कमला बोहराले ६ हजार ८०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    बेलौरी नगरपालिकाको उपप्रमुखमा भने एमालेका जोगराम चौधरी सात हजार ५८३ मतसहित निर्वाचित हुनुभएको बेलौरीस्थित निर्वाचन अधिकृत तारासिंह धामीले जानकारी दिनुभयो । त्यसैगरी यहाँको भीमदत्त नगरपालिका, बेदकोट र कृष्णपुर नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ भने दोधारा चाँदनी र शुक्लाफाँटा नगरपालिकामा एमालेका उम्मेदवार जारी मतगणनामा अग्रता लिइरहेका छन् ।




    प्रतिक्रिया दिनुहोस