महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरको नेतृत्व चयन गर्न जिल्लामा राजनीतिक दलले आन्तरिक रुपमा तयारी थालेका छन् । वि.स. २०७४ मा बहुमत प्राप्त तत्कालिन नेकपा एमालले जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख सहित जितेको थियो । कञ्चनपुरमा यसअघि ९ जना समन्वय समितीमा रहेपनि यसपटक भने कति सदस्यीय बनाउने भन्ने टुंगो लाग्न सकेको छैन् ।
नेपाली कांग्रेसका जिल्ला सचिव भिम भट्टले जिल्ला समन्वय समिती कति जनाको हुने भन्ने यकिन नहुँदा टुंगो लगाउन बाँकी रहेको बताए । उनले भने,(‘ मुख्य निर्वाचन अधिकृत सँग कुराकानी हुँदा संख्या यकिन नभएकाले उक्त विषयको टुंगो लागेपछि थप तयारी अगाडी बढाउँछौँ ।’ स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु मध्येबाट समन्वय समितिको उम्मेदवार बनाउनुपर्ने कानुनी ब्यवस्था छ । तर, प्रायः निर्वाचित वडा सदस्य मध्येबाट समन्वय समितिको उम्मेदवार बनाउने गरिन्छ । ती उम्मेदवारलाई गाउँपालिका÷नगरपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।
कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १८ जना मतदाता रहेका छन् । यसपटक समन्वय समिति निर्वाचनमा कांग्रेसका १२ जना, नेकपा एमालेका ५ र नेकपा माओवादी केन्द्रका १ जनाले मतदान गर्दैछन् । कञ्चनपुरमा नेपाली कांग्रेसले ५ स्थानियतहमा प्रमुख पद जितेको छ । भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र बेल्डाँडी गाउँपालिकामा प्रमुख र उप्रमुख सहित विजयी भएको छ । जिल्लामा ५ प्रमुख र ७ उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । यस्तै नेकपा एमालेले दोधाराचाँदनी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाँडी गाउँपालिकामा निर्वाचन जितेको छ । तिन पालिका प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ । बेलौरी नगरपालिकामा प्रमुख पद नेकपा माओवादी केन्द्रले पाएको छ । पहिलो पटक निर्वाचन लडेको नेकपा एकीकृत समाजवादीको स्थानीय तहको प्रमुख÷उपप्रमुखमा उपस्थिती शून्य छ । जिल्लाका अधिकांस स्थानीय तहको कार्यपालिका(बोर्ड) सदस्य पदको परिणाम सार्वजनिक भइसकेको छ । कार्यपालिका सदस्यको निर्वाचनपछि दलहरुको ध्यान जिल्ला समन्वय समितिको निर्वाचनतर्फ केन्द्रित हुन पुगेको हो ।समन्वय समितिको नेतृत्व गर्न दलहरुबीच आन्तरिक तयारी भएको हो । मतदाता संख्याको आधारमा यसपटक समन्वय समितिमा कांग्रेस एक्लैको पनि बहुमत पुगेको देखिन्छ । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव भट्टले जिल्ला समन्वय समितीका लागि आफ्ना उम्मेदवार चयन गर्न आन्तरिक रुपमा तयारी थालिएको जानकारी दिए ।
कांग्रेसले यसपटक समन्वय समितिमा एक्लै लडेपनि सहज रुपमा जित्ने अवस्था देखिएपछि आकांक्षीहरु देखिन थालेका छन् । कांग्रेसबाट अहिले सम्म प्रमुख पदका लागि ४ जना आकांक्षी देखिएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर १० मा निर्वाचित वडा अध्यक्ष महेश चन्द, वडा नम्बर ४ वडा सदस्यमा निर्वाचित दुर्गादत्त बोहरा, वडा नम्बर १२ वडा सदस्यमा निर्वाचित नरबहादुर साउद र कृष्णपुर नगरपालिका वडा नम्बर ९ बाट वडा सदस्यमा निर्वाचित जय सिह बिष्ट प्रमुखका आकाँक्षी देखिएका छन् । सचिव भट्टले प्रमुख र उप्रमुखका लागी प्रदेश समितीले, टिकट दिने र सदस्यहरुको जिल्ला संसदीय समितीले टुंगो लगाउने बताए । समन्वय समितीका लागी संख्या यकिन नभएपनि पार्टीले आन्तरिक रुपमा तयारी सुरु गरेको उनले जनाए । समन्वय समितिमा यसअघि नेतृत्व गरिसकेको एमाले भित्र यसपटक भने निर्वाचन तयारीबारे सुरसार देखिँदैन ।
एमालेका जिल्ला सचिव पल्लव राज भट्टले समन्वय समितिको निर्वाचनका विषयमा कार्यायोजना अगाडी नबढेको जनाए । ‘समन्वय समितिका विषयमा अहिले केही भन्न सकिने अवस्था छैन्, कांग्रेसको स्पष्ट बहुमत रहेकाले धेरै खटिनुपर्ने अवस्था पनि छैन्,’ केन्द्रिय सदस्य समेत रहेका भट्टले भने । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बिच कञ्चनपुरमा गठबन्धन भएको थियो । तर गठबन्धन भएका पालिकामा भने प्रमुख र उप्रमुख पद भने जित्न सकेनन् ।
.gif)