अछाम । राएको पाँच दिनपछि मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको शव चार दिनसम्म घटनास्थलमै छ । हत्यारालाई कारबाहीको सुनिश्चितता नभएसम्म पीडित पक्षले घटनास्थलबाट शव नठाउन मानेपछि हालसम्म शवको पोष्टमार्टम हुनसकेको छैन ।
प्रहरी र स्थानीय चार दिनदेखि घटनास्थलमै कुरिरहेका छन् भने किटानी जाहेरी लिएर हत्यामा संलग्न भएका व्यक्तिको गिरफ्तार भए मात्र शव उठाउने पीडित पक्षको भनाइ छ । गएको मङ्गलबार राती प्रहरी र स्थानीयको धरपकडपछि हराएका भनिएका विनोद शनिबार बिहान मृत अवस्थामा पञ्चदेवल क्याम्पस नजिकको खोचमा मृत अवस्थामा भेटिएका थिए । शव भेटिएको दिन शनिबारबाट मध्यपहाडी सडकको विनायक खण्डमा यातायात सेवा अवरुद्ध गरिएको छ । विनायकसँगै सदरमुकाम मङ्गलसेनमा पीडितको न्यायका लागि नाराबाजी भइरहेको छ ।
घटनास्थलमा अछामसँगै डोटी, बाजुराबाट सुरक्षाकर्मी ल्याएर परिचालन गरिएको अछाम प्रहरी प्रमुख रविराज थपलियाले जानकारी दिनुभयो । यस्तै, धनगढीबाट तालिमप्राप्त कुकुरसहितको सीआइबी टोली आइतबारबाट घटनाको अनुसन्धान गरिरहेको अछाम प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरीका एसएसपी जनकराज पाण्डेको टोलीसमेत अछाम पुग्नुभएको छ ।
.gif)