बैतडी । गोकुलेश्वर प्रहरी चौकी भाडाको घरमा बसेकाे छ। प्रहरी चौकीको छत सामान्य वर्षामै चुहिन्छ। चौकीको छत चुहिन थालेपछि यहाँका १० जना प्रहरी कर्मचारी कहाँ जाने कता जाने विलखबन्दमा पर्छन्। चौकी रहेको घरमा पाँच कोठा छन् तर कुनै पनि कोठा बस्न लायक छैनन्। घर भाडा सस्तो भएकाले यही भजन भाडामा लिएको हो। कोठा मात्रै होइन शौचालय समेत जीर्ण छ। घरनजिकै पानीको धारा नहुँदा पानी ल्याउनै बिहान बित्ने गरेको प्रहरीहरूको भनाइ छ।
प्रहरी चौकीका इन्चार्ज, प्रहरी नायव निरीक्षक नरेन्द्रसिंह धामीले भने, ‘घर जीर्ण हुँदै गएको छ। यहाँ गाडी वा मोटरसाइकल आउने बाटो समेत छैन्। पैदल आउने बाटो पनि साघुँरो र भिरलो छ। आरोपितहरूलाई चौकीमा ल्याउन समेत समस्या छ।’ चौकीमा थुनवा कक्ष नभएकाले सोधपुछका लागि कसैलाई राति राख्नु परे इलाका प्रहरी कार्यालय पाटनमा जानकारी गराई इप्रकाको समन्वयमा छिमेकी दार्चुलाको शैल्यशिखरस्थित इप्रका पु¥याउनुपर्ने बाध्यता छ। गोकुलेश्वर प्रहरी चौकी जाने जोखिमपुर्ण बाटोबाट गतबर्ष एक प्रहरी जवान चौलानी किनारमा खसेको स्थानीय व्यवसायी सुरेश श्रेष्ठले बताए। घाइते जवानको उपचारमा १२ लाख खर्च भइसकेको श्रेष्ठले बताए। उनले भने, ‘गोकुलेश्वर प्रहरी चौकीका लागि घर निर्माण, खानेपानी र बाटो जरुरी देखिन्छ। अरुलाई सुरक्षा दिने निकाय आफैं असुरक्षित भएकाले यसतर्फ सरकारको ध्यान जाओस्।’
गोकुलेश्वर प्रहरी चौकीको समस्या समाधानको पहल गर्ने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए। प्रहरी चौकी निर्माणका लागि जग्गा माग गरिसकेको र जग्गा प्राप्त भएपछि घर निर्माण गर्न पालिकाबाट सम्बन्धन नभए माथिल्लो सरकार तथा गृहमन्त्रालयसँग पहल गर्ने उनले बताए। प्रहरी चौकीको समस्या समाधान गर्न स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयले पहल थाल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए।
गोकुलेश्वर बैतडीभरमा सुगम ठाउँको रूपमा परिचित छ। सुगम भएकै कारण गोकुलेश्वरमा व्यापारिक चहलपहल, कृषि कलेज, सरकारी तथा बोर्डिंङ स्कुलहरू, बैंक तथा वित्तिय संस्थाहरू छन्। यी सबैलाई सुरक्षा दिन भनेर स्थापना गरेको प्रहरी चौकी भने जीर्ण र कमजोर छ।
.gif)