मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीमा भारतीय व्यापारीको अवैध कारोबार, ५० लाख ठगेर बेपत्ता


पश्चिम प्रेस
आइतबार, असार १९ २०७९
  • 708
    Shares

  • images
    images

    बैतडी । बैतडीमा १५ वर्ष बसेर विभिन्न व्यवसाय गरेका एक भारतीय व्यापारी गुल्फाम ५० लाखभन्दा बढी रकम ठगेर एक वर्षदेखि फरार छन्। भारतमा रुई कम्पनी लिलाम भइरहेको र आफूले किन्ने भन्दै चार वर्षअघि बैतडी व्यक्तिहरूबाट ५० लाख ऋण निकालेर लगेका उनले कसैलाई पैसा फिर्ता दिएका छैनन्। 

    गुल्फामले बैतडीमा सैलुन, श्रृंगार, खेलौना, सिरक र मोबाइल पसल सञ्चालन गरेको थिए। गुल्फामले एकै जनाबाट १९ लाख रकमसम्म लिएका छन्। आफ्नो पाँच लाख रकम ठगेको युनिक सिलाई सेन्टर गोठलापानीका सञ्चालक दिनेश सिनालले बताए। पाँच लाखको आफूले बैंकलाई करिब चार लाख ब्याज मात्र तिरिसकेको, तर आफ्नो पैसा उठ्ने अत्तोपत्तो नभएको सिनाल बताउँछन्। 

    बैतडीमा रहँदासमेत गुल्फामले जुवा तास खेल्ने र खेलाउने गरेका थिए । उनले बैतडीकै युवतीसँग विवाह गरे। अहिले दुवैजना फरार छन्। यस विषयमा प्रहरीमा भने मौखिक जानकारी मात्र आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए। हालै दशरथचन्द नगरपालिका-४ गोठलापानी बजारस्थित राम मन्दिरको प्रतिक्षालयमा भारतको पिलिभितका सगीर अहमतले कपडा पसल थापेका छन्।गत हप्ता थापिएको उक्त पसल कतै पनि दर्ता गरिएको छैन भने दर्ताको प्रक्रियामा पनि छैन। तर, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिश चन्दलाई सोधेर पसल थापेको व्यापारी बताउँछन्। 

    केही दिनअघि कैलालीको गोदावरीमा गाडीमा लिफ्ट मागेका भारतीयहरूले चालकलाई नै बाँधेर भिरबाट फालेको घटना सार्वजनिक भएको थियो। भारतीयले बैतडीका व्यवसायीहरूको ५० लाख रकम ठगेर फरार हुनु सामान्य घटना नभएको स्थानीय व्यापारी खिमानन्द भट्टले बताए। भारतीय व्यापारीहरू प्रतिबन्धित ड्रग्सको कारोबारमा समेत संलग्न हुने गरेका पाटनका स्थानीय चमन भण्डारीले बताए। 

    आफ्नो नगरपालिका भित्र व्यवसाय सञ्चालन गरेकाहरूलाई करको दायरामा ल्याइने पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहराले बताए। जिल्लाको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले पनि आफ्नो पालिकाभित्र कारोबार गर्ने भारतीय व्यापारीहरूका विषयमा उचित निर्णय गर्ने बताए। भारतीय व्यापारीहरू सिरकको रुई भित्र लुकाएर ड्रग्सको सप्लाई गर्ने गरेको स्थानीयवासी बताउँछन्। 


    प्रतिक्रिया दिनुहोस