शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बुढीगङ्गाको निर्वाचनका लागि ९५ जना कर्मचारी खटाइए


पश्चिम प्रेस
सोमबार, असार २० २०७९
  • 730
    Shares

  • images
    images
    बुढीगङ्गाको निर्वाचनका लागि ९५ जना कर्मचारी खटाइए

    बाजुरा । बुढीगङ्गा नगरपालिकाको असार २३ गते हुने पुनः मतदानका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो । 

    जेठमा बसेको सर्वदलीय बैठकमा असार २३ गते गर्ने राजनीतिक दलको सहमतिपछि बुढीगङ्गामा पुन निर्वाचन हुन लागेको हो । पुनः निर्वाचनका लागि १९ जना मतदान अधिकृत र १९ जना सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी ९५ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताउनुभयो ।

    निर्वाचनका लागि खटाइएका १९ मतदान अधिकृतमध्ये एक जना महिला मतदान अधिकृत खटाइएको छ । जिल्ला अस्पताल बाजुरामा कार्यरत धनकला थापालाई बुढीगङ्गा नगरपालिका–१ धुरालसैन मतदान केन्द्र ‘क’ मा मतदान अधिकृतका रूपमा खटाइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणपछि उहाँलाई मतदान केन्द्रमा पठाइएको हो । 

    बुढीगङ्गाका वडा नम्बर २, ३, ५ र ९ वडामा नेकपा (एमाले)का नेता तथा कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाउँदै नेपाली कांग्रेसले पुनः मतदान गर्न माग गर्दै आएको थियो । एमालेले भने कुनै पनि वडामा बुथ कब्जा नभएको र स्वतन्त्ररूपमा मतदान भएको भन्दै पुनरावेदन र सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो । 

    पुनः निर्वाचन हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ । १९ वटै मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको  छ । 
    –––


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस