काठमाडौँको सडकलाई नै आश्रय बनाएर हिंड्ने व्यक्तिको पनि मिर्गौला बिक्रीको प्रयास भएको छ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधमा संलग्न एक समूहले सडकमा आश्रित मानवलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री उद्योग गरेको पाइएको हो । उनीहरुलाई मनाउन सजिलो हुने भएकाले गिरोह सडक आश्रित मानवको अङ्ग बिक्री उद्योगमा लागेको प्रहरीले जनाएको छ । उनीहरुको योजना प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोलीले यसपटक असफल पारिदिएको छ । सडक बालबालिकालाई प्रलोभनमा पारी मिर्गौला बिक्रीका लागि भारत लैजाने दिनमै प्रहरीले उक्त योजना विफल बनाइ तीन जनालाई उद्धार गर्न सफल भएको छ ।
मिर्गौला बेचबिखन उद्योगमा संलग्न रहेको आरोपमा प्रहरीले रामेछापको मन्थली नगरपालिका–५ घर भई भक्तपुरको थिमी बस्ने २८ वर्षका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीको तम्घास घर भई काठमाडौँ महानगरपालिका–७ गौशाला बस्ने विजय कुँवर, दैलेख घर भई काठमाडौँको कालोपुल बस्ने भूपेन्द्र शाही र विमलबहादुर शाही तथा झापा घर भई भक्तपुर बस्ने आशिष तामाङलाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । उनीहरु सबै नेपालबाट मानिस भारतसम्म पु¥याउने समूहका हुन् ।
भारतबाट अर्काे समूह परिचालन हुने गरेकाले सङ्गठितरुपमा मानव बेचबिखनमा संलग्न रहेको मल्लले जानकारी दिनुभयो । उक्त गिरोहले यसअघि नै तीन जनालाई भारत पु¥याइसकेको पाइएको र उनीहरुको अवस्था थाहा हुन सकेको छैन । उहाँका अनुसार आरोपी रोका र कुँवरले अन्य प्रतिवादीलाई परिचालन गरी काठमाडौँको सडकपेटीमा हिँड्ने व्यक्तिसँग चिनजान गरी प्रलोभनमा पारेर मिर्गौला बेचबिखन गर्न लगाउने गरेका थिए । उनीहरुले भारतको कोलकातामा गइ मिर्गौला बिक्री गर्दा रु पाँच लाख कमाइ हुने र रु ५० हजार पर्ने मोबाइल पनि पाइने भनी प्रलोभन दिएको खुल्न आएको छ ।
उनीहरुले सडक बालबालिकालाई मनाएर गत असार १५ गते मिर्गौला बिक्रीका लागि भारत लैजाने योजना बुनेका थिए । उक्त सूचना प्राप्त भएपछि व्युरोको टोलीले भूपेन्द्र शाही, विजय कुँवर र विमलबहादुर शाहीलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा रोका र छोटे भन्ने आशिष तामाङलाई असार २८ मा पक्राउ गरिएको हो ।
.gif)