शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च झण्डै ६६ प्रतिशत


पश्चिम प्रेस
बुधबार, साउन ४ २०७९
  • 676
    Shares

  • images
    images
    सुदूरपश्चिम प्रदेश सरकारको  बजेट खर्च झण्डै ६६ प्रतिशत

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ मा विनियोजित कूल बजेटको ६६ दशमलव ६१ प्रतिशत अर्थात् रु २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार खर्च भएको छ । आर्थिक मामिला मन्त्रालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार खर्च रकममध्ये चालुतर्फ रु नौ अर्ब एक करोड ६४ लाख ४० हजार (७१ दशमलव ७१ प्रतिशत) र पुँजीगततर्फ रु ११ अर्ब ९४ करोड ९७ लाख ५२ हजार (६४ दशमलव २३ प्रतिशत) रहेको छ ।

    गत आर्थिक वर्षको ११ महिनामा कूल बजेटको ४० दशमलव ४४ प्रतिशत खर्च हुनसकेको बजेट वर्षको अन्तिम महिना असारमा मात्रै २६ दशमलव ३१ प्रतिशत खर्च भएको थियो । आव २०७८/७९ मा प्रदेश सरकारको विनियोजित बजेट रु ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको रहेको थियो । योमध्ये चालुतर्फ रु १२ अर्ब ३८ करोड ५४ लाख तीन हजार, पुँजीगततर्फ रु १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार र वित्तीय व्यवस्थापनतर्फ रु ३० करोड विनियोजन गरिएको थियो ।

    पत्रकार सम्मलेनमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले चालु आवको बजेट तयार गर्दा केही प्राविधिक कमी कमजोरीबाहेक कुनै गलत काम नभएको जिकिर गर्नुभयो । प्रदेश सरकारले वित्तीय अनुशासन कायम नगरी विचौलियाको प्रभावमा परेर बजेट ल्याएको, बजेट कार्यक्रममा क्रमागत योजना हटाइएको योजनाको बाँडफाँट असमान ढङ्गले भएकोजस्ता गुनासो प्रदेश सदस्यले उठाएपछि सरकारलाई बजेट पारित गर्न सकस भएको थियो । प्रतिपक्षीसँग लिखित सहमतिपछि असार २९ गते मात्र बजेट पारित भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम प्रदेश सरकार
  • # बजेट खर्च
  • # आर्थिक मामिला मन्त्रालय धनगढी
  • प्रतिक्रिया दिनुहोस