महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाले महेन्द्रस्थित नेपाली सेनासितको सहकार्यमा सोमबार बेदकोट नगरपालिका– चतहरीमा जैविक तटवन्ध निर्माण सुरु गरेको छ ।
नेपाली सेनाको श्री नं. २५ बाहिनी र श्रीदल गुल्म भगतपुर ब्यारेकको सैनिक टोलीसंगै नगरपालिका र स्थानीयबासीहरुले संयुक्त रुपमा नदी कटान नियन्त्रणका लागि जैविक तटवन्ध निर्माण थालेका हुन् ।यहाँको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले नगरपालिका, सेना र स्थानीयको सहयोगमा करिब ५० मिटर जैविक तटवन्ध निर्माण गरिएको बताउनुभयो ।
“ चौधर नदीको कटान तत्काल रोक्नका लागि बास र बोरा लगायतका सामाग्री नगरपालिकाबाट प्रवन्ध मिलायौं ।” उहाँले भन्नुभयो–“ सेना र स्थानीयसितको सहकार्यमा जैजिक तटवन्ध निर्माण भयो ।” उहाँले नदीले चतहरीको दलित बस्तीतर्फ एक सय मिटर भन्दा बढी कटान गरेको जानकारी दिनुभयो ।
“ नदी कटानका कारण बस्ती समेत जोखिममा रहेकाले जोखिम टार्न जैविक तटवन्ध लगाउन थालेका हौं ।” नगरप्रमुख बोहराले भन्नुभयो–“ कटान नियन्त्रणको दीर्घकालिन समाधानका लागि पनि पहल गर्नेछौं ।” कटानका कारण अहिले नै केही घर जोखिममा रहेको बोहराको भनाई थियो । नेपाली सेनाको श्रीदल गुल्मले बेदकोट नगरपालिकाको आग्रहमा तटवन्ध निर्माणमा जुटेको जनाएको छ । सेनाले विपत् व्यवस्थापन लगायतका कार्यमा निरन्तर खटिदै आएको जनाएको छ ।
.gif)