शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

लापरबाहीले कोरोना सङ्क्रमण बढ्दै


पश्चिम प्रेस
मंगलबार, साउन १० २०७९
  • 588
    Shares

  • images
    images
    लापरबाहीले कोरोना सङ्क्रमण बढ्दै

    सुदूरपश्चिम ।  कोरोना भइरसको रोकथाममा नागरिकहरुबाट भइरहेको लापरबाहीले यो रोगको सङ्क्रमण पछिल्ला दिनमा बढ्न थालेको छ । सङ्क्रमित व्यक्तिलाई निगरानीमा राख्न भइरहेको कमीकमजोरी र सङ्क्रमित स्वयम्ले पनि चासो नदिँदा यो रोगको सङ्क्रमण दर बढ्न थालेको स्वास्थ्यकर्मीले बताउनु भएको छ । कैलालीको गौरीफन्टा सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले नागरिकहरुले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा र सङ्क्रमित व्यक्तिबाट लापरबाही हुँदा पछिल्ला दिनमा सङ्क्रमण बढेको बताउनुभयो ।

    मास्क लगाएर सङ्क्रमण हुनबाट सुरक्षित हुन सकिने भए पनि अधिकांश नागरिकले मास्क र स्यानिटाइजरको प्रयोग गरेको देखिँदैन । सीमानाका हुँदै नेपाल भित्रिने कोरोना पोजेटिभ बिरामीलाई सिधै होम आइसोलेशनमा पठाउने गरिएको छ । “हेल्थ डेस्कमा नमूना परीक्षणबाट कोरोना पोजेटिभ देखिने बिरामीलाई मास्क र स्यानिटाइजर उपलब्ध गराएर होम आइसोलेशनमा बस्नुपर्ने सल्लाह दिन्छौँ,” अहेब साउदले भन्नुभयो, “पोजेटिभ बिरामीको उपचार व्यवस्थापनका साथै सङ्क्रमण थप फैलिन नदिन सम्बन्धित पालिकाले चासो नलिँदा पनि रोकथाम हुन सकिरहेको छैन ।” धनगढीको कनरीमा विगतमा सञ्चालनमा आएको आइसोलेशन सेन्टर बन्द रहेको छ भने कोरोना रोकथामलाई लक्षित गरेर धनगढी–३ मा निर्माण पूरा भएको होल्डिङ सेन्टर पनि प्रयोगमा ल्याइएको छैन ।

    नेपाली सेनामार्फत निर्माण भएको होल्डिङ सेन्टर पालिकालाई हस्तान्तरण गर्न बाँकी रहेको जनाइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सरोकारवालासँग छलफल गरेर कोरोना भाइरसको रोकथामको पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक दुई दिनभित्र सरोकारवालासँग बैठक राखेर रोकथामको प्रयास गर्न लागेका छौँ ।” एकैदिन १९ जनामा सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा आज एकै दिन १९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा पिसिआर र एन्टिजेन पद्धतिबाट ४१४ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय बिरामी पनि बढेका छन् । आइतबारसम्म १३ जना सक्रिय बिरामी (एक्टिभ केस) रहेकामा आज एकै दिनमा यो सङ्ख्या बढेर २३ पुगेको छ ।

    आज थपिएका बिरामीसमेत कोरोना भाइरस फैलिएयता प्रदेशमा हालसम्म जम्मा ५९ हजार ८१० सङ्क्रमित पुगेका छन् । कोरोना भाइरसको आशङ्कामा आइतबार २२३ र आज ४१४ जनाको स्वास्थ्यको नमूना परीक्षण गरिएको थियो । गत फागुनयता यो रोगले हुने मृत्यु दर भने प्रदेशमा शून्य छ । सङ्क्रमण हुने दर पनि घट्दै गएकामा पछिल्ला दिनमा पुनः बढ्न थालेको छ । छिमेकी देश भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्न थालेको स्वास्थ्यकर्मीको भनाइ छ । प्रदेशका विभिन्न सीमानाकाबाट आइतबार २८२ र सोमबार ३७७ जना नेपाल भित्रिएका छन् । सीमानाकामा कोरोनाको लक्षण देखिएका व्यक्तिको एन्टिजेन विधिबाट स्वास्थ्यको नमूना परीक्षण हुने गरेको छ ।


  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमण
  • प्रतिक्रिया दिनुहोस