बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

“हामी निर्वाचनको आन्तरिक तयारीमा लागि सकेका छौँ ” : प्रमुख निर्वाचन आयुक्त


पश्चिम प्रेस
बुधबार, साउन ११ २०७९
  • 518
    Shares

  • images
    images
    “हामी निर्वाचनको आन्तरिक तयारीमा लागि सकेका छौँ ” : प्रमुख निर्वाचन आयुक्त

    रासस । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको बताउनुभएको छ । 

     आयोगले आज गरेको पत्रकार सम्मेलनमा उहाँले निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मङ्सिर ४ गतेका लागि सरकारलाई मिति सिफारिस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निर्वाचनको आन्तरिक तयारीमा लागि सकेका छौँ ।” उहाँले सरकारले उपकरण उपलब्ध गराउने भए आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान गराउने बताउनुभयो । 

     प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा खर्च नबुझाउनेलाई कारबाही गर्ने बताउनुभयो । उहाँले एक लाख ५६ हजार उम्मेदवार रहेकामध्ये एक लाख उम्मेदवारले खर्च विवरण नबुझाएकाले कारबाही गर्ने तयारी गरिएको बताउनुभयो ।  

     आयोगले खर्च विवरण सङ्कलन गरिरहेको भन्दै नबुझाउने, तोकिएको समयमा नबुझाउने र समयमा बुझाए पनि खर्च सीमाभित्र नबुझाउनेलाई आयोगले पाँचवटा टोली गठन गरी छानबिन गरिरहेको उहाँको भनाइ रहेको छ । निर्वाचनको परिमाण भएको एक महिनाभित्र खर्च विवरण बुझाउनुपर्दछ । उहाँले देशभरि नै अनलाइन मतदाता नामावली सङ्कलन गर्ने बताउनुभयो । 

     उहाँले आगामी निर्वाचनमा स्थानीय तहमा प्रयोग गरिएका निर्वाचन सामग्री प्रयोग गर्ने बताउनुभयो । “विसं २०७० को मतपेटिका अहिले पनि हामीले प्रयोग गरेका हौ । अहिले पनि ७७ जिल्ला निर्वाचन कार्यालयमा आगामी निर्वाचनमा प्रयोग गर्ने के कस्ता सामग्री छन् त्यसको विवरण पठाउन भनेका छाँै”, उहाँले भन्नुभयो, “आगामाी निर्वाचनमा पनि थुप्रै निर्वाचन सामग्री प्रयोग गर्न सकिने छ ।”

     आगामी निर्वाचनका लागि मतदाता शिक्षाका लागि विद्युतीय मिडियाको प्रयोग गरिने उहाँले बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनको तुलनामा आगामी निर्वाचन भने खर्चिलो हुने बताउनुभयो । “स्थानीय तहको निर्वाचन एकथरिका दुई करोड मतपत्र छापेका थियाँै । अबको निर्वाचन चार थरिका आठ करोड मतपेटिका छाप्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “स्थानीय तहभन्दा आगामी निर्वाचनमा खर्च बढ्छ ।”

     उहाँले आगामी निर्वाचनमा मतदान केन्द्रको पुनरावलोकन गरिने बताउनुभयो । उहाँले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी मतदाता पनि आगामी निर्वाचनमा हुने बताउनुभयो । 
     
     कारागारका कैदी, कर्मचारी, निर्वाचनका काममा खटिएका कर्मचारी पनि मतदानमा सहभागी गराइने उहाँको भनाइ रहेको थियो । अन्तिम नामावाली प्रकाशित गरेपछि मात्र अस्थायी मतदाताको नामा पनि प्रकाशित गरिने उहाँले बताउनुभयो ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा
  • # प्रदेशसभा
  • # प्रमुख निर्वाचन आयुक्त
  • # निर्वाचन
  • प्रतिक्रिया दिनुहोस