बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा ‘वल्के’ पर्वको चहलपहल


पश्चिम प्रेस
मंगलबार, साउन ३१ २०७९
  • 531
    Shares

  • images
    images
    सुदूरपश्चिममा ‘वल्के’ पर्वको चहलपहल

    कैलाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जेठो पर्वका रूपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल धनगढी आसपासमा क्षेत्रमा पनि आजदेखि सुरु भएको छ । भाद्र सङ्क्रान्ति अर्थात भाद्र १ गतेका दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । सङ्क्रान्तिका दिन मनाउने यो पर्वको तयारीका लागि प्रत्येक घरका गृहिणीलाई विभिन्न प्रकारका पकवान पकाउने सामग्री किनमेल गर्न भ्याइनभ्याई छ ।

    धनगढी बजारका विभिन्न चोक–चौकामा सामान किन्नेको ठूलो भीडभाड देखिन्छ । गाउँ घरतिर टोल–टोलमा स्थानीयवासी कुटानी–पिसानीका लागि मिल धाउने काममा व्यस्त देखिन्छन् । यो पर्व सुरु भएसँगै वर्षा सकिने र हिलोमैलो पखालिने भन्दै घर–आँगन सरसफाइ गर्ने, लुगाफाटा धुनेलगायतका क्रियाकलापमा घरपरिवारका सदस्य जुटेका छन् । काम विशेषले तथा अध्ययन गर्न घरबाहिर रहेका पनि चाड मनाउन आ–आफ्ना घर फर्किन थालेका छन् । रोजगारीका लागि छिमेकी राष्ट्र भारतका ठूला सहर पसेका पनि पहिलो चाड भएकाले घरमै मनाउने भन्दै नेपाल भित्रिन थालेका छन् ।

    यस चाडका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनको रूपमा दूध, दही र पिँडालुको कलिलो पात अर्थात ‘गाभा’, हरियो साग दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा रहिआएको धनगढी–२ पुरानो भन्सार कटानका स्थानीयवासी कृष्णराज जोशीले बताउनुभयो । पर्वमा विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बाबर, गतानी डुब्का, बटुक मासे माणालगायतका स्थानीय खानाका पकवान पकाएर खुवाउने र खाने प्रचलन छ । परम्परागत भाषामा ‘गोरस, सितन’ अर्थात गाईभैँसीको दूध, दही जसका घरमा छैन त्यो घरमा गोरस भएकाले दूध, दही, मही बाँड्ने चलन गाउँघरतिर रहेको छ ।

    “सुदूरका केही पहाडी जिल्लामा त यस चाडमा भङ्गेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्ग्याई रमाइलो गर्ने चलनसमेत रहेको छ”, जोशीले भन्नुभयो, “यसरी पिसेर लगाइएको भङ्गेरीको लेदोबाट बर्सातको समयमा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने विभिन्न छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास छ ।” चाडमा गाउँघरका युवकयुवतीका दौँतरी समूह समूहमा जम्मा भएर पिङ खेल्ने, देउडा खेल्ने, ठाडी भाका तथा लोकलयमा गीत गाउनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । सहर बजारका युवकयुवतीका दौँतरी भने केही फरक किसिमबाट मनाउने गरेको पाइन्छ ।

    उनीहरु साथी दौँतरीसँगको समूह बनाई धार्मिक तथा पर्यटकीय स्थल घुमघाममा जाने गरेको पाइन्छ । पछिल्लो समय भने यो पर्वको महत्व तथा विशेषताका बारेमा पाको उमेरका मानिसहरु जानकार रहे पनि नयाँ पुस्ताका युवकयुवतीमा भने आजभोलि यो चाडले खासै प्राथमिकता पाउन नसकेको अर्का स्थानीयवासी भक्तराज ओझा बताउनुहुन्छ । यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउँ, गडवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ । पर्वकै अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते अर्थात भोलि सार्वजनिक बिदा दिएको छ ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस