आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

बोक्रा ताछेर जबर्जस्ती सुकाइन्छन् साल


पश्चिम प्रेस
बुधबार, भदौ १ २०७९
  • 800
    Shares

  • images
    images
    बोक्रा ताछेर जबर्जस्ती सुकाइन्छन् साल

    महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने लालझाडी गाउँपालिका–६ को गाउँ । यहाँ सालका रूख मनग्य छन । तर अचम्म, धेरैवटा सुकेका देखिन्छन । धान लगाएका खेत वरपर सालका खडा रूख आफैं कुनै रोगले सुकेका होइनन । स्थानीयले नै जानाजान सुकाउनले गरेका छन । रूख सुक्दै गएको छ, त्यसको मुनि धानबाली हराभरा देखिन्छ । निकुञ्जको हरियाली मध्यवर्ती सामुदायिक वन छेउकै खेतमा सालका सयौं रूखहरू सुकेका छन । स्थानीयवासी भने पुराना भएकाले रूख आफैं सुकेको भन्न छाड्दैनन । संरक्षणकर्मीहरूका अनुसार स्थानीयले नै सुरुमा फेदका बोक्रा निकाल्ने, पछि बिस्तारै जरा काटने गरेर रूख सुकाउने गरेका छन । १ सय ५९ हेक्टर क्षेत्रफलमा रहेको हरियाली मध्यवर्ती सामुदायिक वन छेउमै आवादी क्षेत्र बढी भएका कारण हरिया रूखहरू सुकाएको पाइएका छन  । निकुञ्जसँगै जोडिएको मध्यवर्ती वन छेउका अग्ला रूखहरू सुकाउँदै जाँदा वनक्षेत्र मासिने जोखिम बढेको छ । मध्यवर्ती सामुदायिक वन छेउका अधिकांश खेतमा ठुल्ठूला सालका रूखहरू सुकेका सहजै देख्न सकिन्छ । ‘केही आफैं सुके, केही बोक्रा निकालेपछि सुके,’ स्थानीय अर्जुन बोहराले भने, ‘खेतमा रहेका सबै रूख सुकेर गए ।’ मीना चौधरीका अनुसार स्थानीयले विभिन्न उपायले रूखहरू सुकाएका हुन । रूख सुकेको मध्यवर्ती सामुदायिक वन शोभाताल उपभोक्ता समुहअन्तर्गत पर्छ । ‘खनजोत गर्नै जरा काट्ने अनि फेदमा बोक्रा काटेपछि रूख त आफैं सुकिहाल्छ,’ चौधरीले भनिन्, ‘स्थानीयले खेतीपाती गर्ने ठाउँमा जानीजानी रूख सुकाएका हुन ।’ निकुञ्ज किनारमा खेतमा रहेका अधिकांश रूख सुकेका छन । ती सुकेका रूखहरू रातारात गायब हुने गरेका छन ।

    चान्देव क्षेत्र हात्तीको परम्परागत मार्ग पनि हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट लालझाडी मोहना संरक्षित क्षेत्रसम्म पुग्ने हात्तीको परम्परागत मार्गका रूपमा चिनिन्छ । उक्त क्षेत्रमा निकुञ्ज किनारका रूखहरू सुकाइँदा हात्तीको मार्ग बिथोलिने संकेत देखिएको छ । केही वर्षयता चान्देव क्षेत्रमा हात्तीको आतंक बढ्दै गएको छ । खेतीपाती नास गर्नुका साथै हात्तीले धनजनको समेत क्षति पु¥याउँदै आएको छ । एकातर्फ वन क्षेत्र मासिँदै जानु र अर्कोतर्फ हात्तीको मार्गमा बाक्लो बस्ती विस्तार हुँदै जाँदा द्वन्द्व बढ्दै गएको संरक्षणकर्मीहरू बताउँछन । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट लालझाडी मोहना संरक्षित क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म हात्ती पुग्ने गर्छन । ती हात्ती शुक्लाफाँटाबाट भारतकै पिलिभित टाइगर रिजर्भसम्म पुगेर सोही मार्ग फर्किने गर्छन । निकुञ्ज क्षेत्रमा मात्रै होइन अन्य वनमा पनि बस्ती नजिकका रूखहरू यसैगरी सुकाइन्छ ।

    सुरुमा सुकाउने र पछि रूख नै गायब हुने गरेको छ । चुरे फेदीदेखि लालझाडी मोहना संरक्षित क्षेत्रलगायत विभिन्न सामुदायिक वनमा यसैगरी रूखहरू सुकाउने चलन बढेको छ । स्थानीयले खनजोतमा अप्ठेरो हुने भएकाले पनि यस्तो गर्ने गरेका हुन । अर्कोतर्फ काठको तस्करी समेत हुने गरेको हो । लालझाडी मोहना संरक्षित क्षेत्रमा पनि बस्ती नजिकका रूखहरू ठूलो संख्यामा सुकाएको पाइन्छ ।(साभार कान्तिपुर दैनिकबाट)


  • सम्बन्धित विषय:

  • # शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
  • # मध्यवर्ती क्षेत्र
  • # लालझाडी गाउँपालिका
  • # सालका रूख
  • प्रतिक्रिया दिनुहोस