मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नवौँ राष्ट्रिय खेलकुदः छोटो समयमा तयारीको सकसमा खेलाडी


पश्चिम प्रेस
शनिबार, भदौ ४ २०७९
  • 472
    Shares

  • images
    images
    नवौँ राष्ट्रिय खेलकुदः छोटो समयमा तयारीको सकसमा खेलाडी

    महेन्द्रनगर, छत्तीस खेलमध्ये ३१ खेलमा सहभागिता जनाउने कञ्चनपुरको आगामी असोजमा हुने बृहत् नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी भने सामान्य छ । विसं २०३८ देखि राष्ट्रिय प्रतियोगितामा सहभागी हँुदै आएको कञ्चनपुरको पछिल्लो समय राष्ट्रिय प्रतियोगिताप्रति खेलाडीको आकर्षण भने घट्दो छ । “बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता भनेको खेलाडीका लागि महाकुम्भ नै हो”, यहाँस्थित तेक्वान्दोका एक खेलाडीले भन्नुभयो, “बिना तयारी नतिजाको आशा गर्ने खेलकुद नेतृत्वको क्षमता कस्तो होला भन्ने लाग्छ ।”

    उहाँले प्रतियोगिताको पञ्चवर्षीय क्यालेन्डर बनाएर खेलकुद गतिविधि बढाउनुपर्ने बताउनुभयो । “प्रतियोगिता नजिकिँदा खेलाडी खोज्दै जानुपर्ने अवस्थाले खेलकुदमा प्रगति हुन सक्दैन”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय मञ्चमा खेलकुदले देशलाई चिनाउने गरेको भए पनि हाम्रो यहाँ राजनीति हावी हुँदा खेलकुदको विकास पछि प¥यो ।” उहाँले खेलाडीलाई समय दिएर जिल्लास्तरबाट छनोट हुने खेलाडीले बन्द प्रशिक्षणको पनि समय पाउनुपर्नेमा जोड दिनुभयो । भलिबल, फुटबल, तेक्वान्दो, कुस्तीलगायतका खेलमा नियमित प्रतिक्षण हुने गरेको भए पनि धेरै खेलमा लामो समयदेखि प्रशिक्षणविहीन छन् ।

    निकै सम्भावनाका रुपमा हेरिएको ब्याडमिन्टन खेलाडीले प्रशिक्षक नपाएको वर्षौं भइसकेको जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष मीनराज भट्टको भनाइ छ । “ बिना प्रशिक्षकका हाम्रा खेलाडीले राष्ट्रिय प्रतियोगितामा भिड्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “सरकारको व्यवस्थापकीय कमजोरीले पनि खेलप्रतिको क्रेज घटेको छ ।” उहाँले खेलकुद प्रतिस्पर्धाका लागि मात्रै नभएर दक्ष र अनुशासनयुक्त जनशक्ति तयार गर्न पनि अतिआवश्यक रहेको बताउनुभयो । यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्ने खेलाडी पछिल्लो समय धमाधम विभागीय टिमतिर आबद्ध हुने क्रम बढेको छ ।

    जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले खेलाडी आफ्नो भविष्य सुनिश्चितताका लागि पलायन हुने गरेको बताउनुभयो । “खेलाडीलाई संरक्षण गर्ने राम्रो प्याकेज ल्याउन आवश्यक छ”, उहाँले भन्नुभयो, “राम्रा खेलाडीलाई खेलकुदमा नियमित राख्न सक्ने वातावरण नै तयार हुन सकेन ।” साताँै बृहत् राष्ट्रिय प्रतियोगिता यता मुलुकमै अब्बल देखिएको कञ्चनपुरको कुस्तीले नवौँका लागि भने खेलाडी उत्पादन गर्नुपर्ने अवस्था छ । “खेलाडी विभागीय टिममा जाँदा यहाँबाट खेल्न अब नयाँ खेलाडी तयार गर्र्दैछाँै”, कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भन्नुभयो, “पुराना अब तीन÷चार जना खेलाडी मात्रै यहाँ छन् ।”

    कुस्तीले लामो समयदेखि प्रशिक्षक हलका लागि गुहार मागिरहेको भए पनि अहिलेसम्म खेलकुदको साँघुरो कोठामा प्रशिक्षण गर्नुपर्ने बाध्यता खेलाडीलाई छ । कुस्ती, क्रिकेट, हक्की, कबड्डी, ब्याडमिन्टन, भलिबललगायतका खेलका राम्रा खेलाडी विभागीय टिममा आबद्ध छन् । “नवौँ राष्ट्रिय खेल असोज तेस्रो सातादेखि गण्डकी प्रदेशमा हुने भनिए पनि यहाँ अहिले खेलाडीको फारम दर्ता भइरहेको छ”, भट्टले भन्नुभयो, “प्रदेश खेलकुद परिषद्ले छनोटलाई तीव्रता दिनेछ ।” उहाँले कुस्ती, भारोत्तलन, कबड्डी, भलिबल, हक्की, आर्चरी र बक्सिङलगायतका खेलमा पदकको आशा गरिएको छ भन्नुभयो ।

    “यहाँ अन्तिम अवस्थामा टिमको सहभागिताले मात्रै नतिजा राम्रो आउँदैन”, भलिबलका राष्ट्रिय प्रशिक्षक जगदिशप्रसाद भट्टले भन्नुभयो, “सुदूरपश्चिम खेलाडी उत्पादनमा अब्बल देखिए पनि संरक्षणमा भने कमजोर हुँदा खेलाडी पलायन हुने क्रम बढी छ ।” उहाँले खेलसँगै खेलाडीको संरक्षण र रोजगारीलगायतका विषयमा सोच्नुपर्ने बताउनुभयो । “जीवनभर खेलेर खेलाडीले पाउने सुविधा र संरक्षणको ग्यारेन्टी मात्रै हुनसके खेलकुदको विकासले फड्को मार्नसक्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि आवश्यक योजनासहित लगानी हुनुप¥यो ।”


  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुद
  • प्रतिक्रिया दिनुहोस