महेन्द्रनगर । बिहिबार काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले अनाधिकृत रुपमा बनेका संरचनामा डोजर लगाएपछि सामाजिक सञ्जालमा उनको निकै प्रशंसा भयो ।
बिहिबार मात्रै होई शुक्रबार पनि उनको यो कदमको चर्चा चलिरह्यो । यता धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले पनि अतिक्रमण हटाउ गरेको कामले प्रशंसा पायो ।
यसै बीच भीमदत्तका सामाजिक अगुवाहरुले भीमदत्तका मेयर पदम बोगटी खोजी गरे । उनीहरुले सामाजिक सञ्जालमा मेयर बोगटीलाई महेन्द्रनगर विकास समितिको अतिक्रमण हटाउन सुझाव दिए ।
सामाजिक सञ्जालमा हर्क र बालेनको चर्चा भइरहेका बेला यहाँका सामाजिक अगुवा तथा साहित्यकार हेमबाबु लेखकले सामाजिक सञ्जालमा नगर विकासको जग्गा अतिक्रमण मेयर बोगटीले मात्रै हटाउन सक्ने बताएका छन । “हाम्रो महेन्द्रनगरका अहिलेका मेयर पदम बोगटी काँग्रेस, एमाले, राप्रपा, जनमोर्चा, माओवादी, एकीकृत समाजवादीका धेरै नेता र तिनका अत्यन्तै निकटतम मान्छेको जस्तो हिजोका दिनमा नगरविकासको घडेरीदेखि अन्य कुनैपनि अनियमिततामा मुछिएका मानिस होइनन् । ” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन–“यद्यपि मैले उनलाई भोट हालिन तर जहाजको टिकट र १० लिटर पेट्रोलको कुपनमा झक मार्ने नेता भएको नगरमा उनको राजनीतिक स्वच्छताको भने म प्रशंसक रहिआएको छु । अहिले महेन्द्रनगरमा भएका अवैध संरचना र अतिक्रमण हटाउन कुनै नेताले सक्छ भने त्यस्ता कार्यमा संलग्न नरहेका पदम बोगटीजस्ता नेताले मात्रै सक्छन्, अन्यथा सबै आयाराम गयाराम हुन् ।”
त्यसैगरी सामाजिक अगुवा भवराज रेग्मीले पनि सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन –“धरानमा हर्कले पानी ल्याए, वालेनले काठमाण्डौमा अवैध संरचना हटाउदै छन ।धनगढीमा गोपीले अतिक्रमण नाला सफाई गर्दै छन । भीमदत्त मा नगर विकास समितिको अतिक्रमण हटाउन थाल्ने की ?” स्वतनत्रबाट चुनाव जितेका मेयरहरुले अवैध संरचना र सरकारी जग्गाको अतिक्रमण हटाउन थालेपछि भीमदत्तका मेयर बोगटीलाई पनि नगर विकासको अतिक्रमण हटाउन नगरबासीले दबाब दिएका छन । त्यसैगरी यहाँका स्थानीयहरुले नगर विकास समितिको अतिक्रमण हटाउन मेयर बोगटीले तत्काल काम सुरु गनुपर्ने बताएका छन ।
.gif)