शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

रूसी दूतावास आक्रमणको निन्दा


पश्चिम प्रेस
मंगलबार, भदौ २१ २०७९
  • 513
    Shares

  • images
    images
    रूसी दूतावास आक्रमणको निन्दा

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले काबुलस्थित रूसी दूतावासमा सोमबार भएको आत्मघाती आक्रमणको निन्दा गर्नुभएको छ । उक्त आक्रमणमा दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको थियो । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत कूटनीतिक नियोगहरूसहित नागरिक र उनीहरूको स्वामित्वका वस्तुहरूविरुद्धको आक्रमणलाई कडाइका साथ निषेध गरिएको कुरा दोहो¥याउँदै जारी गरेको विज्ञप्तिमा आत्मघाती आक्रमणको निन्दा गरिएको छ ।

    महासचिवले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । अज्ञात आतङ्कारीले आफ्नो दूतावासको कन्सुलर खण्डको प्रवेशद्वार नजिकै विस्फोटक पदार्थ प्रहार गर्दा दुई जना कर्मचारी मारिएका रूसी विदेश मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार दूतावासका अधिकारी अफगान सुरक्षाकर्मीहरूसँग निकट सम्पर्कमा रहेका तथा घटनाको अनुसन्धान भइरहेको छ ।

    यसैबीच, पाकिस्तानले रूसी दूतावासमा भएको घातक हमलाको निन्दा गरेको छ । उक्त आक्रमणमा एक जना रूसी कूटनीतिज्ञ र अर्का एक जना अफगान नागरिकको ज्यान गएको थियो । पाकिस्तानी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कूटनीतिक नियोगमा भएको हमला गम्भीर चिन्ताको विषय भएको बताउँदै आतङ्वादका सबै रूप र प्रकटीकरणको पाकिस्तान सरकारले निन्दा गरेको छ ।

    आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारजनप्रति सहानुभूति जनाउँदै विदेश मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै पाकिस्तानले आतङ्वाद साझा चुनौती भएकाले त्यसलाई सम्बोधन गर्न ठोस प्रयास अपरिहार्य भएको बताएको छ । रासस । 


  • सम्बन्धित विषय:

  • # संयुक्त राष्ट्रसङ्घ
  • प्रतिक्रिया दिनुहोस