सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

समतामूलक समाजको निर्माण हामी सबैको कर्तव्य


पश्चिम प्रेस
आइतबार, भदौ २६ २०७९
  • 1.7K
    Shares

  • images
    images
    समतामूलक समाजको निर्माण हामी सबैको कर्तव्य

    महेन्द्रनगर । कुनै पनि समाज नैतिक आदर्श र मूल्यमान्यताबाट निर्देशित रहेको हुन्छ। समय सापेक्ष आदर्श र मूल्यमान्यताहरु परिष्कृत हुँदै जान्छन् र हुँदै जानू पनि पर्दछ । समाजलाई गतिशीलता प्रदान गर्न र सही ढङ्गबाट रूपान्तरण गर्न असल र समय सापेक्ष प्रगतिशील शिक्षा नीति अवलम्बन गर्नै पर्दछ।  जनचेतनाका माध्यमबाट समाजमा व्याप्त सबै प्रकारका समाजिक विभेदको अन्त्य गरिदै जानू पर्दछ । जतिसुकै आदर्श र मूल्यमान्यताका कुरा गरेपनि समाजमा दूर्भाग्यपूर्ण अपराधिक घटनाहरु घट्दै गइरहेका पाइन्छन् ।

    पहिलो कुरा हामी सबै नेपाली हौं, कोही पनि सानो र ठूलो छैन् सबै बराबर छौ। दोस्रो कुरा म सानो छु भनेर नसोचौं, नेपालको संबिधानले सबैलाई बराबर हक अधिकार मात्रै सुनिश्चित गरेको छैन कि पछि परेका समुदायलाई माथि उठाउन आरक्षणको समेत व्यवस्था गरेको छ । तेस्रो कुरा आफ्नो हक अधिकारका कुरा गर्दा अर्काको हक अधिकारको पनि ख्याल गरौं, पहिचानको ख्याल गरौ । समाजका प्रत्येक समुदाय  र व्यक्ति व्यक्ति बीच दृश्य तथा अदृश्यरुपमा विभेद भएको कुरा सबैलाई थाहा नभएको होइन् । समस्याको मूलजरो खोजेर समाधान तिर जाऔं ।

    अतिरञ्जित गरेर भ्रामक समाचार लेखेर समाज बिखण्डन गर्नतिर होइन कि सुसंस्कृत सभ्य समाज निर्माणको दिशामा अगाडि बढौं । समाजमा शोषक र शोषित वर्ग अझै पनि विद्यमान छन् । वर्णकै आधारमा पनि भन्ने हो भनेपनि बाह्मण, क्षेत्री,दलित लगायतका प्रत्येक समुदाय भित्रभित्रै पनि एकापसमा विभेद छ,शोषण छ। शासक बाह्मण र वृत्ति गरिखाने बाह्मण, गरिब बाह्मणलाई एकै नजरले हेर्याै भने अन्याय हुन्छ। त्यस्तै शासक दलित र तल्लोस्तरको जीवन बाँचिरहेको गरिब दलितलाई एकै दृष्टिले हेरियो भने त्यहाँ पनि अन्याय हुन्छ। हिजोका दिनमा समाजमा विद्यमान विभेदको समस्या देखाएर डलर खानेहरुको वर्ग फेरि अर्कै भइसकेको छ।

    समाजमा विद्यमान समस्याहरू समाधान भएका छैनन्। तर राजनीतिक परिवर्तन र चेतनाका कारण हिजोको भन्दा आज धेरै हदसम्म सामाजिक विभेद हटेको यथार्थ हामी बीच जगजाहेर छ। विविध कारणले गर्दा अहिले एक्काइसौं शताब्दीमा आएर हाम्रो समाज  विचलनको भुमरीमा फसेको जस्तो देखिन्छ । समाजले संस्कृति रुपान्तरण खोजी रहेकोले त्यसलाई सहि दिशा निर्देश दिन सकिएन भने  ठुलो दुर्घटना निम्तिन सक्ने खतरा रहेको देखिन्छ।

    एउटा कुरा बुझ्न जरुरी के देखिन्छ भने संविधानतः समाजिक विभेद हटाउने पहिलो दायित्व राज्यको हो भने दोस्रो दायित्व समाजका लब्ध प्रतिष्ठित समाजिक अगुवाहरुको हो किनकि लोकाचार भित्रपनि व्यक्तिगत स्वतन्त्रता, अग्राधिकार लगायतका धेरै कुराहरु पर्ने गर्दछन्। सदियौंदेखिको सामाजिक विभेदको अन्त्य सामाजिक सद्भाव खल्बलाएर, समाज बिखण्डन गरेर, एकले अर्कालाई अपहेलित गरेर तत्काल हुनेकुरा होइन् यसको अन्त्यगर्न शिक्षाको ज्योति जलाएर, असल शिक्षा नीति अबलम्बन गरेर, जनचेतनामूलक कार्यक्रमहरु गरेर हुँदै जाने कुरा हो भन्ने मलाई लाग्दछ।

    अहिलेको समयमा एकले अर्कोलाई एक्ल्याएर, सत्तोसराप गरेर, सिध्याएर पहिचान बाँच्दैन् । यस्तो नघट्नु पर्ने घटना किन घट्यो? कसले घटायो, किन घटायो ? दोषी को हो? भन्नेजस्ता प्रश्नहरुमाथी चिन्तनमनन् गरि राजनीतिक पार्टीका अगुवा , समाजमा मिलेर बस्ने सबै समुदायका लब्धप्रतिष्ठित अगुवा सहितको सम्मेलन गरि, कानुनमा भएका, व्यवहारमा भएका र हुनेगरेका कमिकमजोरीहरु समयमै सम्बोधन भएनन् भने सामाजिक बिद्रोह जन्मिरहन्छन् भन्नेकुराको हेक्का सबैले राख्नुपर्ने देखिन्छ ।विविध कारणले गर्दा अहिले एक्काइसौं शताब्दीमा आएर हाम्रो समाज  विचलनको भुमरीमा फसेको जस्तो देखिन्छ ।

    समाजले संस्कृति रुपान्तरण खोजी रहेको छ। सभ्य र सुसंस्कृत रूपमा संस्कृति रूपान्तरण गरिएन र  त्यसलाई सहि दिशा निर्देश दिन सकिएन भने भविष्यमा  ठुलो दुर्घटना निम्तिन सक्ने खतरा रहेको देखिन्छ। तसर्थ समाजमा सबैको पहिचान र अधिकार सुनिश्चित हुनेगरी , सबै नेपालीको शिर ठाडो हुनेगरि बाँच्ने बातवरण बनाउनु, समतामूलक समाज निर्माण गर्नु राज्यपक्ष लगायत हामी सबैको दायित्व हुन आउँछ।


  • सम्बन्धित विषय:

  • # समतामूलक समाज
  • प्रतिक्रिया दिनुहोस