मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

जङ्गली जनावरबाट बाली जोगाउनै समस्या


पश्चिम प्रेस
बिहीबार , भदौ ३० २०७९
  • 716
    Shares

  • images
    images
    जङ्गली जनावरबाट बाली जोगाउनै समस्या

    महेन्द्रनगर । महाकालीपारि दोधारा चाँदनी नगरपालिका–१ स्थिती पूर्णागिरी टोलमा हरिना धामीले करिब १२ कठ्ठा जमिनमा धानखेती गर्नुभएको छ । उहाँले खेतमा लगाएको धानमा बाला पलाएको छ । सँगै जङ्गली जनावरबाट धानबाली कसरी जोगाउने भनेर उहाँका मनमा चिन्ता पलाएको छ । उहाँको जमिन नेपाल–भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टि जङ्गल छ । सोही जङ्गल भएर आउने जनावरबाट बाली जोगाउन अचेल उहाँ दिनरात टिन ठटाउने र होहल्ला गरेर जनावर धपाउनमा व्यस्त हुनुहुन्छ ।

    वर्षौँदेखि जङ्गली जनावरको समस्या झेल्दै आएको हरिना गुनासो गर्नुुहुन्छ । “बाँदर, बँदेलको समस्या बढी छ, खेती जोगाउन रात दिन जाग्राम बस्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसो गर्दा पनि बाली जोगाउन सक्दैनौँ ।” हरिनाको जस्तै जङ्गली जनावरकोे दुःख जङ्गलसँग जोडिएका दोधारा चाँदनीका अधिकांश किसानले भोग्नुपरेको छ । स्थानीयलाई जङ्गली जनावरबाट बाली जोगाउन हम्मेहम्मे परेको छ । मेहेनत गरेर लगाएको खेती भित्र्याउने समयमा जङ्गली जनावरले खाएर सखाप पार्ने गरेको हरिना बताउनुहुन्छ । “हरेक वर्ष खेतमा बाली लागेको देख्छौँ, तर कहिल्यै खेती घर भित्र्याउन पाएका छैनौँ”, उहाँले भन्नुभयो, “कहिले बाँदर, कहिले बँदेलले खाएर सकाउँछ, जीविकोपार्जनका लागि खाद्यान्न किन्नुपर्ने हुन्छ ।”

    वर्षौँदेखि जङ्गली जनावरको समस्या भोग्दै आए पनि अहिलेसम्म समस्याको दिगो समाधान हुन नसकेको दोधारा चाँदनी नगरपालिका–१ कै जग्गु धामीको गुनासो छ । “नेताहरू आउँछन्, समस्या समाधान गर्ने आश्वासन दिनुहुन्छ”, उहाँले भन्नुभयो, “अहिले पनि जङ्गली जनावरको समस्या ज्यूँका त्यूँ छ ।” जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरण गर्न विद्युत् तार लगाउनुपर्ने किसानहरूको माग छ । “जङ्गली जनावरले धेरै दुःख दिएको छ, १९ कठ्ठा जमिनमा लगाएको खेती अहिलेसम्म भित्र्याउन पाएको छैन”, नरेन्द्र चन्दले भन्नुभयो, “करेन्ट तार राखियो भने केही हदसम्म जनावरलाई खेतमा आउनबाट रोक्न सकिन्थ्यो ।” जङ्गली जनावर नियन्त्रण गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरेकोे दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बू बताउनुहुन्छ ।

    “हात्ती, बाँदर, बँदेलबाट हुने क्षति रोक्न विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर काम गरिरहेका छौँ, प्रभावित टोलहरूमा जनावर धपाउन पटाका दिएका छौँ”, उहाँले भन्नुभयो, “खेतमा उज्यालोका लागि सोलार वितरण गरेका छौँ, यद्यपि अझै जनावर नियन्त्रण गर्न सकिएको छैन ।” मेसिन बिग्रिएकाले विजुली तार जोड्न नसकिएको उहाँको भनाइ छ । नगरप्रमुख लिम्बूले भन्नुभयो, “मेसिन बिग्रिएकाले करेन्ट तार राख्न सकेका छैनौँ, मर्मत गरेर तार छोड्छौँ ।”


  • सम्बन्धित विषय:

  • # दोधारा चादनी
  • प्रतिक्रिया दिनुहोस