शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

गाउँमा विद्यालय नहुँदा पढाइ छाडेर भारततर्फ


आइतबार, असोज २ २०७९
  • 759
    Shares

  • images
    images
    गाउँमा विद्यालय नहुँदा पढाइ छाडेर भारततर्फ

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका पुकार थापा मगर विद्यालय नगएको एक साता भयो । ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उहाँलाई विद्यालय पुग्न छ घण्टा पैदल हिँड्नुपर्छ । वर्षात्का समयमा यो बाटोमा जाखिमपूर्ण यात्रा गर्नुपर्छ । करिब छ घण्टा पैदलयात्रा गर्दा सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेव पुग्न थापालगायत यहाँका विद्यार्थीले निकै सास्ती खेप्नुपर्छ । 
     
     गाउँमा माध्यमिक विद्यालय नहुँदा आठ किलोमिटरको जोखिमपूर्ण बाटो भएर विद्यालय जानुपर्दा यहाँका धेरै विद्यार्थीले पढाइ छोडेर रोजगारीका लागि भारततर्फ जाने गरेका छन् । “मसँगैका तीन साथी स्कुल छोडेर काम गर्न भारत गएका  छन्”, उहाँले भन्नुभयो, “यहाँबाट स्कुल पुग्दासम्म १३ खोला तर्नुपर्छ ।” उहाँले जङ्गलको बाटो वर्षात्का बेला पहिरो र चट्याङको डरले विद्यालय छोड्ने गरेको बताउनुभयो । भौगोलिक रुपले विकट मानिएको यहाँको बस्ती सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा यहाँका विद्यार्थी आठ किलोमिटर टाढा पैदल विद्यालय जान बाध्य छन् । “चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर भए पनि अध्ययनका लागि हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि जाने गर्छौं ।” उहाँले भन्नुभयो, “बाटोकै समस्याका कारण धेरैले विद्यालय छोडेर भारत जान्छन ।” उहाँले हिउँदमा विद्यालय जानआउन सहज हुने भए पनि वर्षात्का बेला जान नसकिने बताउनुभयो ।
     
     कक्षा ११ मा अध्ययनरत विनोद बोहरा पनि विद्यालय नगएको एक साता भइसकेको छ । बादल हेरेर विद्यालय जाने गरेको उहाँले बताउनुभयो । “पानी परेपछि खोला तर्न सकिँदैन वर्षात्का समयमा यहाँका कोही पनि विद्यालय जाँदैनन्”, उहाँले भन्नुभयो, “यहाँ घरमा पढ्नलाई बिजुली बत्तीको समस्या छ ।” बोहराले विद्यालय जान आउने समस्याका कारण यहाँका थुप्रै विद्यार्थी पढाई छोडेर रोजगारीका लागि भारतर्फ लाग्ने गरेको बताउनुभयो । “यहाँबाट ४०÷५० जना हिँडेरै ब्रह्मदेव जान्छौँ”, उहाँले भन्नुभयो, “जङ्गल छेउको बाटो भएकाले गाउँका सबै जम्मा भएर जान्छौँ ।”
     
     सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेवका प्रधानाध्यापक उद्धवबहादुर चन्दले खल्ला मसेट्टीको बाटो जोखिमपूर्ण भएकाले वर्षात्का बेला त्यहाँका विद्यार्थी विद्यालय नआउने गरेको बताउनुभयो । “वर्षात्मा विद्यालय आउन समस्या हुन्छ”, उहाँले भन्नुभयो, “पानी परे हामी विद्यार्थीलाई आउन पर्दैन् भन्छौँ ।” भीम स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवनाथ योगीले यहाँका विद्यार्थीले निकै समस्या झेल्नुपरेको बताउनुभयो । उहाँले गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको बताउनुभयो । “गत वर्षमात्रै ८ कक्षासम्म बनाउन सफल भएका छौँ, यसमा पनि शिक्षकको समस्या छ”, उहाँले भन्नुभयो, “सम्बन्धित निकायले दरबन्दी थप्नुको सट्टा काट्ने गरेको छ ।” उहाँले टाढाको विद्यालय जान यहाँको विद्यार्थीले निकै दुःख झेल्नुपर्ने भएकाले गाउँमै माध्यमिक तहको पढाई हुनुपर्ने माग गर्नुभयो । “यहाँबाट हरेक वर्ष झण्डै ४० विद्यार्थी अर्को कक्षा उक्लिन्छन् ।” उहाँले भन्नुभयो, “ती सबैले पढाइलाई निरन्तरता दिन सक्दैनन ।” 
      
     यहाँ रहेको सरस्वती मावि टुँडिखेलमा कक्षा ४ सम्म पढाई हुने गरेको छ भने वैजनाथ मावि टुँडिखेलमा ६ कक्षासम्म पढाई हुन्छ । भीम स्मृति मावि खल्लामा कक्षा ८ सम्म पढाई हुने गरेको छ । गाउँमा आर्थिकरुपले विपन्न नागरिकको बसोबास भएकाले पनि थुप्रै विद्यार्थीले पढाई छोडेर भारत जानुपरेको यहाँका स्थानीय बताउँछन् । स्थानीय लोकबहादुर थापाले यहाँ सडक सञ्जाल विस्तार बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको समस्या रहेको बताउनुभयो ।  
     
     “यहाँ त समस्या धेरै छन्, आर्थिक अवस्था कमजोर छ, पढ्न पनि धेरै टाढा जानुपर्छ गाउँमा सुविधा छैन”, उहाँले भन्नुभयो, “युवा सबै रोजगारीका लागि भारत लागिसके विद्यालय जाने युवती मात्रै छन् ।” उहाँले छात्रालाई एक्लै विद्यालय आउनजानसमेत समस्या हुने गरेको बताउनुभयो । “वर्षात्का बेला घरबाट स्कुल जान हिँडेका विद्यार्थी बाढीका कारण घर फर्किनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “गाउँमा बिजुली नहुँदा घरमै अध्ययन गर्न पनि समस्या हुन्छ ।”
      
     यहाँका विद्यार्थी सडक र यातायात सुविधा नहुँदा अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । खल्ला मसेट्टी र टुँडीखेलमा गरी दुई सय ७० परिवारको बसोबास छ । आर्थिक अवस्था कमजोर भएका नागरिकको बसोबास रहेको यो बस्तीका स्थानीय महाकाली नदीको बगरमा बालुवा÷गिट्टी छान्नुका साथै अधिकांश पुरुष भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।  


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • # कञ्चनपुर
  • # पढाइ छाडेर भारततर्फ


  • प्रतिक्रिया दिनुहोस