शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नेपाललाई जापानद्वारा करिब रु १६ अर्ब सहयोग


पश्चिम प्रेस
बुधबार, असोज ५ २०७९
  • 532
    Shares

  • images
    images
    नेपाललाई जापानद्वारा करिब रु १६ अर्ब सहयोग

    काठमाडौँ, नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले रु १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ । वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत व्याजदर रहेको सो सहुलियतपूर्ण ऋणको भुक्तानी अवधि ३० वर्ष र थप १० वर्ष ग्रेस अवधि हुनेछ ।

    नेपालकोतर्फबाट अर्थसचिव कष्णहरि पुष्कर र सहसचिव ईश्वरीप्रसाद अर्याल तथा जापानकोतर्फबाट यहाँस्थित राजदूत किकुता युताका र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले आज अर्थ मन्त्रालयमा अनुदान तथा ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा अर्थसचिव पुष्करले सम्झौताबमोजिमका आयोजना कार्यान्वयनबाट नेपालको सिँचाइ सुविधाको सुधार गर्न तथा विद्युत् आपूर्तिको विश्वसनियता बढाउन तथा प्रसारण चुहावट न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्नेछ भन्नुभयो ।

    नेपालको सामाजिक–आर्थिक एवं मानवसंशाधन विकासमा जापान सरकारबाट प्राप्त निरन्तर सहयोगको प्रशंसा गर्दै उहाँले दुई देशबीचको लामो र सुमधुर सम्बन्ध तथा विकास साझेदारी अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालका लागि जापानी राजदूत युताकाले उपलब्ध सहयोगबाट नेपालको कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र सहरी क्षेत्रको विद्युत् व्यवस्थापनमा सहयोग धारणा व्यक्त गर्नुभयो ।

    नेपाल र जापानबीचको सम्बन्ध सदियौँदेखि सुमधुर एवं घनिष्ट रहेको चर्चा गर्दै राजदूत युताकाले शिक्षा, स्वास्थ्य, जलविद्युतलगायतका क्षेत्रमा गरिएको सहयोगबाट नेपाली जनताको जीवनस्तर सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो । जाइका नेपालका प्रमुख अकिमित्सुले नेपालको कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरी नेपाली जनताको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


  • सम्बन्धित विषय:

  • # काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस