पञ्चमीको बिरूड़ो, दशैको ज्वारो दुत्त्या टिको बारबार शिर पडौ÷ फलिबसौन्
सुदूरपश्चिममा आशिर्वाद दिदा भनिने यो लौकिक मन्त्रको टुक्रा हो ।निधारमा टिका र शिरमा बिरूड़ा, फूलपाति जमरा लगाइन्छ। श्राद्धमा सेतो वा पहेलो, अन्य अवसरमा रातो टिका परम्परागत प्रचलन नै हो । सौर्य पराक्रम र विजयको प्रतीकका रूपमा रातो टीका लगाइन्छ। सौम्यता, शान्ति, श्रद्धाको प्रतीककारूपमा सेतो वा पहेलो चन्दन लगाइन्छ।
अहिलेको वाणिज्यवादले चन्दनको शुद्धता हराउदै गयो नत्र भने स्वउत्पादित चन्दनको प्रयोग पुर्खाहरूले गर्दै आएका थिए ।श्रीखण्ड, रक्त चन्दन बाहेक हलेदो (हरिद्रा)नै चन्दनको मुख्य श्रोत हो जसबाट रातो र पहेलो चन्दन बनाइथ्यो । सफेद चन्दनको रूपमा गंङ्गामाटी “प्रयोग गर्ने चलन पनि पुरानै हो । दही अक्षता पनि शुभ सगुनका रूपमा टिकामा प्रयोग गर्नु लौकिक का साथै शास्त्रीय प्रचलन पनि हो।
अक्षतान्धववला देव सुरगन्धर्व पुजित...... दध्यक्षत विभिन्न देव÷ग्रह पुजनमा प्रयोग हुदै आएको छ।
चन्दनम् च महत्पुण्यं पवित्रं पापनासनम्÷काय सोधनम्
आपदा हरमे नित्यम् लक्ष्मीस्तिष्टति सर्वदा
चन्दन धारण गर्दा भनिने यस श्लोकले चन्दनको महत्व झल्काउँछ।
दशैं आदि चाडपर्व वा अन्य अवसरमा लोकाचार÷देशाचार÷कुलाचार अनुसार रातो टिका वा दहीअक्षता के लगाउने भन्ने निर्धारित पराम्परा हुँदाहुँदै पनि अहिले फेसनका रूपमा रातो टिकाको प्रचलन बढ्दै गएको छ।शैव पुजन तथा उत्सवमा सेतो पहेलो र शाक्त पुजन उत्सवमा रातो चन्दनको प्रयोग हुन्छ भने जुनसुकै पनि धामी काम्दा सेतो अक्षता नै प्रयोग हुन्छ। टिकासँगै फूल वा जमरा कहाँ लगाउने सन्दर्भमा यो उक्ति मननीय छ ः
कर्णे पुष्पं कटी सूत्रं तर्जन्या दन्तधावनम् ।
एकहस्त प्रणामेन रौरवं नरकं व्रजेत् ।
विवाहित महिलाले सौभाग्यको प्रतीकको रूपमा रातो टिका सिन्दुर लगाउँछन्, पुरानो प्रचलन अनुसार त पूजाआजाका अवसरमा सधवा स्त्रीहरूले नाकको डाडीदेखि निधारसम्म लामो टिका लगाउथे । विधवाले सेतो वा पहेलो चन्दन लगाउँछन् । घरबाट बिदावादी भएर टाढा जान लाग्दा दहीअक्षता लगाउने प्रचलन छ । शैव, शाक्त, वैष्णवादिका मत अनुसार निधारमा धारण गरिने चन्दनको आकार पनि फरक फरक हुन्छ। सामान्यतः टिका÷टिको भन्नाले मध्य निधारमा लगाइने गोलाकार चन्दन अक्षतालाई बुझिन्छ।शास्त्रहरूमा भस्म या जलको टीका लगाउने प्रावधान पनि छ। देवादि पुजन टिका लगाएर गरिन्छ भने श्राद्धमा श्राद्धको उत्तरार्धमा टिका लगाइन्छ।
सामान्यतया पानीमा मुछिएको चन्दन लगाइन्छ भने कोरो टिका लगाउने विशिष्ट प्रचलन पनि पाइन्छ । सिउँदोमा हालिने सिन्दूर कोरो (सुख्खा)हुन्छ। होरीमा कोरो अविरको टिका लगाइन्छ। हवन पछि, शिवपुजन र बुयनिमा भस्मको टिका लगाइन्छ, हवन र वसोर्धारापछि घिउको टिका लगाइन्छ भने हवनको समाप्ति पछि घिउ र भष्मको सम्मिश्रणको तिलक लगाइन्छ।
काजल, कोइला वा खरानीको कालो टिका पनि लोक प्रचलनमा रहेको पाइन्छ। कसैको नजर नलागोस् भनेर कालो टिका लगाइन्छ।चन्दनको प्रयोग शरीरमा गर्नाले आयू बढ्ने, शारीरिक शुद्धि हुने, शरीरमा उर्जा , कान्ति एवम् सुन्दरता वृद्धि गर्दछ । चन्दनहरूमा श्रीखण्ड, रक्तचन्दन, गोपीचन्दन अन्य सुगन्धित वनस्पतिहरूको लेप ,चुर्ण तथा खरानी, पवित्र तीर्थस्थलको माटो चन्दनको रूपमा प्रयोग गर्ने गरिन्छ । तीर्थस्थलको शुद्धीकरण गरी तयार पारिएको सेतो, पहेलो,रातो माटोलाई पनि चन्दनको रूपमा प्रयोग गरिदै आएको छ ।
त्रिपुण्ड, उध्र्वपुण्ड वा विन्दु जुन रूपमा धारण गरे पनि प्रमुख रूपमा निधार तथा कण्ठ, ग्रीवा ,बाहु, उदर लगायत शरीरको माथिल्लो भागमा चन्दन लगाइन्छ । अंगहरूको सक्रियता र शरीरमा रहेका विन्दुहरूको जागरणले इडा, पिंगला, सुषुम्नालगायतका १० नाडीहरू सक्रिय हुने र नाडीहरूको जागरणबाट शारीरिक, मानसिक, आध्यात्मिक उर्जा पैदा हुन्छ । जसबाट सकारात्मक ऊर्जा, दैविक ऊर्जा र प्राणदायिनी शक्तिको जागरण हुन्छ ।
चन्दन÷भष्म लगाउनाले देव स्वरुपसित सादृश्य हुने आध्यात्मिक विज्ञान हो । शिवजीको उपसना गर्दा त्रिपुण्ड धारण गरिन्छ । विष्णुका उपासकले उध्र्वपुण्ड लगाउछन , शाक्त अनुयायीले विन्दु श्री धारण गर्छन । गणेशजीको चन्द्रबिन्दु , सूर्यको रक्तचन्दनको १२ किरणयुक्त तिलक लगाइन्छ ।आस्तिकता र संस्कारितको परिचयात्मक रूपमा चन्दन टिकालाई मानिएता पनि नास्तिक मानसिकता बोकेकाहरू पनि विभिन्न अवसरमा सिन्दूर, अबिर लगाउने गरेको पाइन्छ जसले पनि उपरोक्त भाव नै बोकेको हुन्छ।
शरीरमा ऊर्जा गतिशील गर्दै अलौकिक शक्ति, आभा, तेज, ऊर्जा प्राप्त गर्न सकिन्छ भन्ने विस्वास रहि आएको छ । रातो तिलक समृद्धि र सौभाग्यका लागि, कालो तिलक तन्त्र साधन, सेतो तिलक शान्ति, नीलो तिलक आरोग्यता र पहेँलो आध्यात्मिक कान्तिका लागि लगाइन्छ ।
मानवशरीरमा हुने विकार किटाणुलाई नष्ट गर्ने शक्तिको रूपमा चन्दन लगाउने गरिन्छ ।श्रीखण्ड, रक्त चन्दन, हरिद्रा गंगामाटी हुने औषधी गुणले किटाणुलाई नष्ट गर्न सक्दछन। शरीरमा शितलता प्रदान गर्ने, सौन्दर्य वृद्धि गर्ने महत्वपूर्ण क्षमता चन्दनमा रहेको हुन्छ।
अहिलेको सन्दर्भमा मौलिक चन्दनहरूका सट्टामा बजारमा सहजै उपलव्ध हुने रसायन युक्त रङहरुलाई चन्दनको रूपमा प्रयोग गर्ने प्रचलन बढ्दो छ। यसबाट पर्न सक्ने नकारात्मक असरहरूबाट देश दुनियाँको मतलब छैन । अन्य चिजवस्तु जस्तै आयातित रसायनहरू युक्त चन्दनको प्रयोगबाट शारीरिक रूपमा हुने साइड इफेक्ट बारे समयमै सचेत रहनु आबस्यक छ।
.gif)