शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कला र प्रविधिका जनक विश्वकर्मा 


शुक्रबार, कात्तिक ११ २०७९
  • 981
    Shares

  • images
    images
    कला र प्रविधिका जनक विश्वकर्मा 


    कर्मले मानिसलाई सर्वश्रेष्ठ बनाउँछ । हरेक मानिसको पहिचान भनेको उसको कर्म हो । हाम्रा धर्मशास्त्रहरुले पनि कर्मयोगलाई सबैभन्दा महत्वका साथ हेर्ने गरेको पाइन्छ । मानिसले भन्ने गरेको भाग्यको भाँडो भर्ने साधन पनि कर्म नै हो । यो से.सारको उत्पत्तीदेखि हालको आधुनिक युगसम्म पुग्दा स.सारमा थुप्रै कर्महरु गरिए । तिनै कर्मका आधारमा संसार अगाडि बढ्दै गइरहेको छ । मानिसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ र संसार पनि त्यसै अनुसार अगाडि बढ्दछ । वर्तमान विश्वलाई  यहाँसम्म पुगाउनमा हरेक कर्मवीरहरुको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । संसारलाई निरन्तरता दिनका लागि विभिन्न किसिमका कर्महरुको आवश्यकता पर्दछ । कर्मलाई पनि व्यक्तिगत कर्म र सार्वजनिक कर्म गरी दुई भागमा बाडेर हेर्न सकिन्छ । कर्म प्रधान हुँदाहुँदै पनि व्यक्तिगत आवश्यकता पुर्तिका लागि गरिने कर्मभन्दा सामुहिक आवश्यकता पुर्तिका लागि गरिने कर्म महान हुने गर्दछ । यस्ता कर्महरुमा अन्न उत्पादन, शिक्षा, स्वास्थ्य, ज्ञान, विज्ञान लगायतका विभिन्न किसिमका कर्महरु महत्वपूर्ण  हुने गर्दछन् र यिनै कर्महरुले मानिसलाई महानता प्रदान गर्नुको साथै संसारलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्दछ । सृष्टिको सुरुवातदेखि वर्तमानसम्म आइपुग्दा थुप्रै मानिसहरुले परमार्थका लागि कर्म गरे र कहिल्यै विर्षन नसकिने गुण लगाएर  हरेक मानिसको मनमस्तिष्कमा अमर बनेर रहे । यिनै परमार्थका कर्मका आधारमा मानिसहरु महामानवदेखि भगवानसम्म बन्न सफल भए । यस्तै कर्मवीरहरु मध्ये विज्ञान, कला र प्रविधिका देवताका रुपमा पुज्य महान कर्मवीर हुन विश्वकर्मा ।  


    सृष्टि सिर्जनामा महत्वपूर्ण भूमिका निभाएका विश्वकर्मालाई हातहतियार, वास्तुकला, प्रविधि तथा निर्माणका देवताको रुपमा हेर्ने गरिन्छ । विश्वकर्मलाई महर्षी अङ्गिरा पुत्रका नामले पुराणहरुमा चिनाएको पाइन्छ । उसो त विश्वकर्माका बारेमा आदिग्रन्थ ऋग्वेदमा पनि उल्लेख गरेको पाइन्छ । आदि विश्वकर्मा अङ्गिरापुत्र विश्वकर्मालाई मानिए पनि कालान्तरमा विश्वकर्मा एक उपाधिको रुपमा विकशित भएको पाइन्छ । विभिन्न किसिमका धातुसम्बन्धी विज्ञता भएको, हातहतियार बनाउन जान्ने, वास्तुकलामा निपूर्ण तथा पर्वमान समयमा इन्जिनियरहरुले गर्ने कार्य सम्बन्धी विज्ञता हासिल गर्ने व्यक्तिले विशवकर्माको उपाधि पाउने गरेको अनुमान गर्न सकन्छि । बह्माको मानसिक सृष्टिपछिको यो बह्माण्ड निर्माणमा सहयोग गरेका कथाहरु पनि पुराणहरुमा आउने गर्दछन् ।  विश्वकर्माले समुद्रको बीचमा द्वारिका बनाउने कार्यदेखि लिएर, जगन्नाथपुरी जस्ता सुन्दर नगरहरुको नक्सांकनका साथै त्यसमा रहेका भवनहरु निर्माण गरेका कथाहरु महाभारतादि ग्रन्थहरुमा आउने गर्दछ । उहाँमा वास्तुकलाको यति धेरै ज्ञान थियो भवनहरु तथा पुरीहरुमा विभिन्न धातु तथा लेन्सहरुको प्रयोग गरी सूर्यका किरणहरुलाई विभिन्न रङमा बदलेर कतै पानी बगेको जस्तो देखाउने, कतै आगो बलेको जस्तो देखाउने, कतै बाटो र ढोकाजस्तो देखाउने काला उनमा थियो । विशेष गरी राजदरबारहरुको सूरक्षाका लागि गुप्त भवन, गुप्तद्वार लगायतका सूरक्षा कवचयुक्त भवनहरु बनाउने शिल्प उनमा थियो । पहिलोचोटी भवनभित्र पस्ने  मान्छे हरेक ठाउँमा झुक्किने, बाटो नै नपाउने हुन्थ्यो । सबैभनदा पहिले समुद्रमा घर बनाउने श्रेय पनि उहाँलाई नै जान्छ । भगवान श्रीकृष्णले मथुरा छोडेपछि समुद्रको बिचमा सुरक्षित द्वारिका नगरी बनाउने कार्य विश्वकर्माबाटै भएको थियो । प्रकृतिलाई समेत सुन्दरताको चक्मा दिने शिलपकौशल उहाँमा थियो । 


    विश्वकर्मा वास्तुकलामा मात्रै नभएर हातहतियार निर्माणमा पनि उत्तिकै सिपालु थिए । संसारका अन्तिम शक्ति मानिने  पाशुपत अस्त्र, सुदर्शन चक्र जस्ता महाशक्तिशाली हतियार पनि उनले नै बनाएको मानिन्छ । यी अस्त्रहरु सूर्णमा रहेको धातुयुक्त धुलोबाट निर्माण गरी भगवानलाई हस्तान्तरण गरेका प्रसङ्गहरु पुराणहरुमा पाइन्छन् । आकाशमार्गमा चल्ने विमानका प्रथम सर्जक पनि विश्वकर्मा नै थिए । उनले पुष्पक विमान बनाएर बह्मालाई हस्तान्तरण गरेका थिए । उक्त पुष्पक बिमान बह्माले कुबेरलाई दिएका थिए । त्रेतायुगमा महान शक्तिशाली रावणले कुबेरबाट उक्त विमान अपहरण गरी लङ्कामा लगेको रामायण लगायत पुराणहरुमा उल्लेख गरिएको पाइन्छ । यति मात्र नभएर उनले थुप्रै हातहतियार, नगर तथा भवनहरु, पुलपुलेसाहरु तथायत विज्ञान र प्रविधिका थुप्रै सामग्रीको निर्माण गरेको पुराणहरुमा उल्लेख गरिएको पाइन्छ । यसरी समग्रमा भन्नुपर्दा शिल्पकौशल तथा विज्ञान र प्रविधिका जनकका रुपमा विश्वकर्मालाई मान्ने गरिन्छ । वर्तमान विज्ञानले अहिले कल्पना सम्म पनि गर्न नसेको प्रविधि र कौशल उनले वैदिककालमै गरेको पाइन्छ । यसरी वर्तमान युगलाई सूचना र प्रविधिको युगसमम पुगाउन उहाँको महत्वपूर्ण योगदान रहेको पाइन्छ । उहाँको शिल्पकर्मको सम्मानका रुपमा भाद्र शुक्ल प्रतिपदा, असोज सङ्क्रान्ति, गोबर्धन पूजा लगायतका दिनहरुमा विश्वकर्माको पूजा गरिन्छ भने विभिन्न धार्मिक अनुष्ठान, गृहप्रवेश लगायत हातहतियार, यातायातका साधन लगायत प्रविधिका विभिन्न साधानहरुमा उहाँको पूजा अर्चना गर्ने परम्परा हिन्दु सम्प्रदायमा रहेको पाइन्छ । समग्रमा भन्नुपर्दा विश्वकर्मा कला र प्रविधिका जनक हुन । 




    प्रतिक्रिया दिनुहोस