शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

निर्वाचनको मिति नजिकिए सँगै मतदान कसरी गर्ने भन्नेमा मतदाता अन्योलमा


पश्चिम प्रेस
मंगलबार, कात्तिक १५ २०७९
  • 602
    Shares

  • images
    images
    निर्वाचनको मिति नजिकिए सँगै मतदान कसरी गर्ने भन्नेमा मतदाता अन्योलमा

    बैतडी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्नेमा मतदाता अन्योलमा छन् । निर्वाचन आयोगले समयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा मतदातामा मत बदर हुने चिन्तासमेत बढेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधिसभाकोे निर्वाचनमा जिल्लाभर ७६ हजार एक सय मत खसेकामा सात हजार ५४ मत बदर भएको थियो । आसन्न निर्वाचन नजिकै आइसके पनि मतदान कसरी गर्ने भनेर अलमल भएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो ।

    मतदान कसरी गर्ने भन्नेबारे अन्योल छ । भोट हाल्ने तरिकाबारे थाहा नभएकाले अन्योलता छाएको छ । उहाँले भन्नुभयो, “मतदान कसरी गर्ने, कति मतपत्र हुन्छ भन्नेबारे हमी अलमलमा छौँ, मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरिकाबारे थाहा हुन सकेको छैन ।” यसले गर्दा बदर मतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । गएको स्थानीय तहको निर्वाचनमा समेत मतदाता शिक्षा सञ्चालन हुन सकेको थिएन । “यही कात्तिक १८देखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले भन्नुभयो, “सो अवधिभर मतदाता शिक्षा कार्यक्रम समुदायस्तरमै सञ्चालन हुन्छ, त्यसका लागि प्रत्येक वडामा कम्तीमा एकजना स्वयंसेवक खटाइन्छ ।”

    कम्तीमा १० क्रक्षा पास भएका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बन्धित स्थानीय तहले नियुक्त गरेर समुदायस्तरमै गएर मतदातालाई सिकाउने भनेर आयोगबाट निर्देशन आएको निर्वाचन अधिकारी फुँयालको भनाइ थियो । मतदाता शिक्षाले बदर मतको सङ्ख्या घटाउने निर्वाचन कार्यालयको जिकिर छ । यसपटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक÷एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक÷एक गरेर चार मतपत्रमा छाप लगाउनुपर्नेछ । जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एक मात्र क्षेत्र रहेको छ । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता छन् ।


  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • प्रतिक्रिया दिनुहोस