शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

उम्मेदवार घरदैलोमा, युवा काम खोज्दै विदेश


पश्चिम प्रेस
बिहीबार , कात्तिक १७ २०७९
  • 686
    Shares

  • images
    images
    उम्मेदवार घरदैलोमा, युवा काम खोज्दै विदेश

    महेन्द्रनगर । अहिले भोट माग्न नेताहरु गाउँ वस्ती टोल टोलमा पुगेका छन । र उनीहरुको भाषण र चुनावी घोषणापत्रमा भने लाखौ युवालाई रोजगारी दिने एजेन्डा छन । 
     तर निर्वाचनको बेला रोजगारीका लागि दिनहु थुप्रै युवा भारत पस्ने गरेका छन ।  कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साझ गड्डाचौकी नाकामा भेटिनुभयो । 
     दशै तिहार मनाउन गाउँ फर्केका उहाँ चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको भद्रीनाथ लाग्नु भएको छ । उहाँसंगै बेलौरी र लालझाडीका अन्य १७ जना युवा रोजगारीको लागि भारत पसेका छन ।  आगामी मंसिर ४ मा हुने निर्वाचनको लागि भोट माग्न दलका उम्मेदवारहरु मतदाताको घरदैलोमा गएरहेका बेला गड्डाचौकी नाकाबाट थुप्रै युवा रोजगारीको लागि भारत जाने क्रम बढेको छ  गड्डाचौकी नाकामा पछिल्लो केहि दिन यता कामको लागि भारत जानेको संख्या बढेको छ ।

     “चुनाव आएर हामीलाई के नै हुन्छ र नेताहरु भोट मागेपछि फर्किदैनन ।” रोजगारीको खोजीमा भारत जान  लागेका चौधरीले भन्नुभयो –“हामीलाई त भारत नगई सुख छैन नत्र परिवार केले पाल्ने ।” उहाँले चुनावमा मात्रै आश्वासन दिने नेताहरुले स्वदेशमै रोजगारीको व्यवस्था गर्न नसक्दा भारत जानुपर्ने बाध्यता रहेको बताउनुभयो । “आफ्नै ठाउँमा रोजगारी पाएको भए किन भारत जानुपथ्र्यो र ।” उहाँले भन्नुभयो–“भारत नगई परिवारको जोहो गर्न सकिदैन ।”परिवारको आर्थिक अवस्था कमजोर भएकाले पढाई छोडेर रोजगारीको लागि भारत पसेका उहाँले भारतमा मजदुरी गर्दै आउनु भएको छ । “भारतको भद्रीनाथमा हाम्रो गाउँका २५÷३० जना मजदुरी गर्छौ ।” उहाँले भन्नुभयो–“चाडपर्व मनाएर फेरि भारत जान लागेका छौ भोट हाल्न मन त थियो बाध्यताले दिएन ।”
     उहाँसंगै कामको लागि भारत जान लागेका बेलौरी नगरपालिका –५ का धर्मा चौधरी पनि चाडपर्व मनाएर रोजगारीको लागि भारत तिर लाग्नु भएको छ । स्वदेशमा रोजगारीको सिर्जना नहुँदा भारतको भर पर्नु परेको उहाँले बताउनुभयो । “त्यहाँ गएर मजदुरी गर्न त साहै दुःख हुन्छ जानै पर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो–“अहिले पनि नेताहरु रोजगारी दिन्छौ भनेर गाउँमा भोट माग्दै छन हेरौ यसपालि के गर्छन ।” उहाँले नेताहरु अहिले गाउँमा भोट माग्न आउँदा आफुहरुका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरेको बताउनुभयो ।
     जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तिहार सकिएपछि रोजगारीका लागि भारत जानेको संख्या बढेको हो । प्रहरीको तथ्याङ्क अनुसार मंगलबार ८९ जना रोजगारीको लागि भारत गएका छन भने बुधबार एक सय ८० जना भारत गएका छन । 
      

     


  • सम्बन्धित विषय:

  • # उम्मेदवार
  • # काम खोज्दै विदेश
  • प्रतिक्रिया दिनुहोस