महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने बताए ।
प्रधानमन्त्री देउवाले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ भन्दै प्रश्न गरे । “केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?” प्रधानमन्त्री देउवाले भने “कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो ।” उनले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने बताए ।
प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उनको भनाइ थियो । उनले अति नै भएपछि अदालत गएका बताए ।
त्यसैगरी डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने बताए । “गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन, मेडिकल पढाइ पनि यही हुन्छ”, देउवाले भने, “विमानस्थलका विषयमा सम्भाव्यता अध्ययन गरिने र जहाज ल्याएरै छोडिनेछ ।” डडेल्धुराको धेरै विकास भइसकेको बताउँदै उहाँले बाँकी काम पनि आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
.gif)