बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह


आइतबार, कात्तिक २० २०७९
  • 689
    Shares

  • images
    images
    हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह

    विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो । हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक करोड दुई लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग आवश्यक रहेको आग्रह गरेको छ । लेबनान हाल आर्थिक सङ्कटमा परेको र यहाँ शुद्ध खानेपानी र सरसफाईका लागि ठूलो रकमको आवश्यक परेको भन्दै यसका लागि हाल लेबनानलाई सो आर्थिक सहयता चाहिएको विश्व स्वास्थ्य सङगठनले जनाएको छ ।

    विश्व स्वास्थ्य संगठनका लेबनान प्रमुख अब्दिनाकिर अबुदकरले लेबनान आर्थिक समस्यामा परेको अहिलेको अवस्थामा यहाँ हैजा फैलिइरहेको देखिएकोले यसको नियन्त्रणका लागि सहयोगको याचना गरिएको बताउनुभयो । लेबनानमा केही महिनायता फैलिएको हैजाबाट दुई हजार पाँच सयभन्दा बढी प्रभावित भएका छन् । अहिले पनि यहाँ चार सय १६ जना हैजाका विरामी रहेका छन् । लेबनानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ १८ जनाको हैजाबाट ज्यान गएको छ । गत अक्टोबरको पहिलो हप्ता यहाँ हैजा देखिएको थियो र अहिले पनि यसको प्रकोप बढ्दो छ ।

    समयमै हैजाको नियन्त्रण नगर्दा यहाँ यसले महामारीको रुप लिने त्रास भएकाले विश्व स्वास्थ्य सङ्गठनले तत्कालै नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न लेबनान सरकार र सबैसँग अपिल गरेको हो । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा देखिएको इबोला र लेबनानको हैजा नियन्त्रणका लागि सबैसँग अपिल गरेको छ । केही अफ्रिकी देशमा पछिल्ला केही महिनायता इबोलाको प्रकोप बढेको छ । 


  • सम्बन्धित विषय:

  • # हैजा


  • प्रतिक्रिया दिनुहोस