बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

     सांस्कृतिक उन्नयन तथा विकृति निवारणका लागि गीताको सान्दर्भिकता


बुधबार, कात्तिक २३ २०७९
  • 1.3K
    Shares

  • images
    images
         सांस्कृतिक उन्नयन तथा विकृति निवारणका लागि गीताको सान्दर्भिकता


              
                         श्रेयान् स्वधर्माे विगुणः, पर–धर्मात् स्वनुष्ठितात् । 
                         स्वधर्मे निधनं श्रेयः, पर–धर्माे भयावहः ।।   
    आमुख
    संसारका समस्त प्राणी जगतमा मानवलाई सर्वश्रेष्ट प्राणीको रुपमा लिइन्छ, अन्य प्राणीको तुलनामा मानिसले चमत्कारिक प्रगति गर्न सकेको छ, यसमा मानिसको बौद्धिक क्षमता विवेक, लगन, परिश्रम, खोज जस्ता पक्षहरुको योगदान रहेको छ । वर्तमानसम्म अन्य प्राणीहरुको  तुलनामा मानवले गर्न सकेको प्रगति उसको निरन्तर सत्मार्गको सक्रियताका कारणले संभव भएको हो । सिर्जनात्मकता र योगदान दिने क्षमता कै कारण मानवले एकातिर सभ्य, सम्पन्न र समृद्ध समाजको निर्माण गरी रहेको छ भने मानवजन्य नकारात्मक उपपत्पादन कै फलस्वरुप विकारहरु पनि उत्पन्न भै रहेका हुन्छन् ।


     मानवसिर्जित उत्तम कार्य, प्रवृति संस्कारका भौतिक तथा अभौतिक समष्टिगत स्वरुपलाई नै संस्कृति भनिन्छ । संस्कृतिले सकारात्मक पक्ष र कुराहरुलाई मात्रै निर्देश गर्दछ, जसले मानव समुदायलाई संगठित, सुसंस्कृत, विकसित या उन्नत बनाउ“दछ । संस्कृतिको विपरित विकृत वा नकारात्मक उत्पादन÷सिर्जना प्रकृति वा कार्यहरु नै विकृति हुन, विकारहरुको भूमिका अधोमुखी हुन्छ, असभ्यता सिर्जना गर्दछ । समुन्नत समाजका निर्माणका लागि संस्कृतिको योगदान रहन्छ । नराम्रा काम, व्यवहारको न्यूनिकरण वा निवारणबाट मात्रै सभ्य समाजको विकास संभव हुन्छ ।


       सांस्कृतिक विकासका लागि पूर्वजहरुको ज्ञान सीप तथा सिर्जनाको  सदुपयोगका साथै वर्तमानमा समेत सत्यम् शिवम् सुन्दरम् भए प्रेरित कार्य व्यवहारबाट असल संस्कृतिको निर्माण र विकृतिहरुको निवारण हुन सक्दछ, संस्कृति निरन्तर निर्माण भै रहने कुरा हो । यसमा समाजका हरेक व्यक्तिको भूमिका असल हुनु पर्दछ । खराब छोडदै जाने, असल ग्रहण गर्दै जाने उचित खोज्दै जाने अनुचित त्याग्दै जाने, सान्दर्भिक राख्ने असान्दर्भिक हटाउने, समयानुकुल परिस्कार र परिमार्जनको प्रकृयाबाट संस्कृति निर्माण हुन्छ । 


    गीताको ज्ञानको सान्दर्भिकता 
    पूर्विय सनातन हिन्दु दर्शन ज्ञान विज्ञानको अथाह भण्डारले  भरिपूर्ण छ । हजारौ वषर््ँदेखि विद्वानहरुको  साधनाबाट अनेकौ ज्ञान विज्ञानका कृति निस्परक भएका छन् । विगतदेखि वर्तमानसम्मको  अनवरत सिर्जन धर्मिताबाट  ज्ञान विज्ञानको क्षेत्रस“गै सांस्कृतिक विरासतको निर्माणमा वेद, पुराण, उपनिषद दर्शन, इतिहास लगायतका सत्साहित्यको र्सिजना हाम्रा सम्पदाका रुपमा रहेका छन् । वर्तमान तथा भँवि समाज निर्माण तथा सदव्यवहार निदर्शनका लागी विगतको ज्ञान विज्ञानको सदुपयोगबाट अझ बढी प्रगती गर्न सकिन्छ । 


    गीता ज्ञानको महत्वपूर्ण श्रोतका रुपमा लिदै आइएको छ । गीता नामका सिर्जना विविध प्रकारका भएपनि महाभारतमा उल्लेखित श्रीमद्भगवद गीता सर्वाधिक ज्ञान ग्रन्थका रुपमा मात्रै संकुचित गर्न खोजिएको पाइन्छ तापनी यसमा र्विर्णत जुन ज्ञान विज्ञान नीति जस्ता विधाहरु समाविष्ट भएकै कारण जो जुन क्षेत्रमा छ उसले त्यहीँ क्षेत्रको दृष्टिकोण अनुरुप यसको भाष्य, विवेचना, व्याख्या गर्न सक्दछन् जसको नतिजाका रुपमा संसार भरी यसका विविध खाले अनुवाद, आस्था वा व्याख्यात्मक संस्करणहरुको लेखन प्रकाशन तथा अध्ययन भै रहेको छ । “गीता सुगीता कत्र्वव्या किमन्यै शास्त्र विस्तारै... ” भन्ने कथनले नै यसको महत्त्व निर्देश गर्दछ ।


    सांस्कृतिक उन्नयनका सन्दर्भमा
    कुनै पनि ज्ञान, विज्ञान वा शास्त्र लेखन, प्रकाशन पुस्तक घरमा राख्नु पढनु मात्रै त्यसको उपयोगको महत्वपूर्ण पक्ष होइन । सबैभन्दा महत्वपूर्ण कुरा त त्यसको व्यावहारिक जीवनमा प्रयोग हुनु हो । गीता पनि धर्म ग्रन्थका रुपमा बोकि राख्नु वा पाठ गर्नु मात्रैबाट उपयोगिता लिन सकिदैन, त्यसमा अन्तर्निहित ज्ञानलाई जीवनमा उपयोग गरेर प्रयोगमा ल्याउदै उत्तम कार्य व्यवहार निर्माण गर्नु आवश्यक छ भनिन्छ— 


    अज्ञेन्यो ग्रन्थिन श्रेष्टा ग्रन्थिभ्यो धारिणी वराः, 
    धारिभ्यो ज्ञानिनः श्रेष्ठा ज्ञानिभ्यो व्यवसायिनः । (मनु १२–१०३)


    मूर्ख भन्दा पढने राम्रो, पढने भन्दा धारण स्मरण गर्ने राम्रो स्मरण गर्ने भन्दा व्यवहार गर्ने अभिप्राय सम्झने श्रेष्ठ हो । अतः गीता ज्ञानलाई पनि आचार र व्यवहारमा लागु गर्न सकेमात्रै सुसंस्कृत, ज्ञानवान, कर्मयोगी चरित्र विकास गर्न सकिन्छ । भगवानले भनेका कुरा हुन सुनेर कान पवित्र हुन्छन भन्ने मानसिकताले ज्ञान ग्रहणको संस्कारलाई नै अवमूल्यन गरेको छ ।


    गीता एउटा कथाका रुपमा पढने र बुझ्ने सम्मको सरल बाटो एकातिर छ भने वेद र दर्शनको गुढ रहस्यात्मक पक्ष अर्काे छ । व्यवहार आचरण सुधारका निम्ति एउटा गहन नीति सार संग्रहका रुपमा समेत गीता आफै महत्व राख्दछ । 


    वर्तमान समाजमा जुन सांस्कृतिक विकृतिहरु विकास भै रहेका छन्, गीताको गहन अध्ययन र व्यावहारिक प्रयोगबाट तिनको निराकरण गर्न सकिन्छ । अहिले धेरैको मति प्रवृति—


        “जनामि धर्मम् न च मे प्रवृति जानामि पापं न च मे निवृति”


    धर्म हुन्छ भनेर गीता भागवतादी पुस्तक राख्ने, पाठ पढने, अर्ति उपदेश दिने तर त्यसमा प्रवृत हुन नसक्ने दुर्याेधन प्रवृति बढेर गएको छ । सत्चरित्रता र सदाचारको अभावमा विकृत मानसिकता र कर्म बढदै जान्छन । त्यसका लागी गीता ज्ञानको मात्रै व्यवहारमा प्रयोगले संस्कार र सदगुण बढाउन सकिन्छ ।


    अहिलो समाजमा विविध खाले विकृति बढदै गएका सन्दर्भमा भगवद्गीताले धर्म संस्कृति, संस्कार, राज्य सञ्चालन लगायतका क्षेत्रका आसुरी प्रवृति निराकारण गर्न सक्दछ । आध्यात्मिक र भौतिक दुवै मार्गका लागि यसले दिक्षा निर्देश गर्न सक्दछु । सांख्य योग, कर्म योग, उपासना, निति, विज्ञान सद्गुण, आसुरी प्रवृति, आत्मअनुशासन, पात्रता जस्ता तमाम विषयहरु यसमा स्पष्ट परिभाषित छन् । सांसारिक जीवनका हरेक क्षेत्रमा काम गर्ने व्यक्तिहरुmका लागी यसमा मान्यताहरु स्थापित हुन र सत्कर्मका लागी आफू अनुकूल  मान्न सकिने अवस्था छन, अतः ‘सत्यम शिवम् सुन्दरम्’को जीवनमार्गमा गीता ज्ञान पथ प्रदर्शक हुन सक्दछ । आफूले गर्ने काममा निरन्तर सक्रिय रहन यसले निर्देश गर्दछ ।


            यद्यदाचरति श्रेष्ठः सत्तदेवेतरो जनः
     स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ।।
    सबैले आ–आनो कर्ममा इमान्दारिता पूर्वक लागेमा सिद्धि प्राप्त गर्न सकिन्छ ।


     स्वे स्वे कर्मण्यभिरत संसिद्धि लभते नरः ।


    धर्म पुस्तकमा भगवान मन्दिरमा खोज्ने प्रवृतिमा रमाउने वर्तमान समाजका सन्र्दवमा आफै भित्र खोज्नु पर्दछ भन्ने लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताको सादृश्य भाव त गीताले पनि अभिव्यक्त गर्दछ ।


    ईश्वर सर्वभुतानां हृद्देशे अर्जुन तिष्टति
    भ्रामयन सर्वभुतानि यन्त्र रुढानी मायया (१८/६१) 


    गुण, कर्म र स्वभावले मानिसको स्तर निर्धारण गर्न र व्यर्थ आशा, व्यर्थ कर्म र निस्फल ज्ञान भएका विक्षिप्त अज्ञानीहरु आसुरी प्रवृतिको स्वभाव लिइ राख्दछन ।


    मोघसा मोघ कर्माणो मोघ ज्ञान विचेतसं
    राक्षसी आसुरी चैवं प्रकृति. मोहनी श्रीया ।।


    दम्भ, घमण्ड, अभिमान व्रmोध, कठोरता र अज्ञान आसुरी सम्पदा हुन । जसमा प्रवृति र निवृतिको ज्ञान हुदैन , तिनमा आन्तरिक र बाह्य सुद्धि नहुने सदाचार र सत्यवचन हुदैन अर्थात विकृतिका कारक हुन्छन । 

    सत्वं रजस तमः इति गुणा प्रकृति सम्भवाः


    सबै प्रकृतिमा सत्व, रज र तम तीनै गुण विद्यमान रहन्छन । तम गुणले ज्ञान र कर्म ढाकेर प्रमाद निम्त्याउछ , लोभ निम्त्याउछ  “अज्ञान तमसः फलम्” अनि ”जघन्य गुण वृतिस्था अधो गच्छति तामसा“ पात्रताको अभावमा अपसंस्कृति बढछ , यी कुराहरु निराकरण गर्दै सभ्य समाजको निर्माणका लागी सु–संस्कृति निर्माणमा गीता ज्ञानलाई व्यवहारमा लागु गर्न सक्नु नै महत्वपूर्ण हुन सक्दछ । धेरै शास्त्रको पाठ भन्दा पनि एउटै गीता अध्ययन गरी स्वधर्म र स्वकर्ममा निर्त रहन सक्नु नै श्रेयस्कर हुन्छ । 


    व्यवहारमा प्रयोग बिनाको ज्ञान विज्ञानको औचित्य नहुने, लोप भएर जाने हुन्छ । अतः विविध सांस्कृतिक मूल्य मान्यता प्रचलनहरु समेतको अध्यावधिक गर्ने सन्दर्भमा पनि एउटा दार्शनिक मार्ग दर्शनका रुपमा गीतालाई उपयोगमा ल्याउन सकिन्छ । धर्म, दर्शन र संस्कृतिको पारस्परिक सम्बन्ध स्थापित गर्दै रुढीवादिता र अन्धविश्वासका सट्टामा नैतिक एवम् समय सान्दर्भिक चेतनाको व्यवहारबाट व्यक्ति व्यक्तिको सत्चरित्रता तथा उन्नत संस्कृतिको निर्माण हुन सक्दछ ।          


  • सम्बन्धित विषय:

  • # गीता


  • प्रतिक्रिया दिनुहोस