महेन्द्रनगर । कञ्चनपुर–१ मा २०४८ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका वासुदेव भट्ट १५ हजार ३६७ मत ल्याएर निर्वाचित भएका थिए । २०५१ मा भने, नेकपा एमालेका रामकुमार ज्ञवाली ११ हजार ४२५ मत ल्याएर निर्वाचित भए भने, नेपाली कांग्रेसका अमरसिंह थारुले ९ हजार २५४ मतसहित पराजित भए ।
२०५६ को आम निर्वाचनमा भने, नेपाली कांग्रेसले आफ्नो विरासत जोगायो, उक्त निर्वाचनमा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउदले १३ हजार १०१ मत ल्याउँदै निर्वाचित भए । उनलाई नेकपा एमालेका उम्मेदवार रामकुमार ज्ञवालीले ९ हजार २१९ मतसहित पछ्याए । तेस्रो राजनीतिक शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रामऔतार रानाले ६ हजार ३९७ मत ल्याएका थिए ।
संविधान सभा निर्वाचन २०६४ मा नेकपा (माओवादी) का उम्मेदवार पुरन रानाथारु १४ हजार ७६५ मत विजय हुँदै माओवादी नयाँ राजनीतिक शक्तिका रुपमा उदायो भने नेपाली कांग्रेसका अमरसिंह रानाले ११ हजार ७८१ मत ल्याएर पछि परे । दोस्रो संविधान सभा निर्वाचन, २०७० मा भने, कांग्रेसले फेरि आफ्नो अस्तित्व जोगायो ।
नेपाली कांग्रेसका दिवानसिंह विष्टले १० हजार २९४ मत ल्याएर निर्वाचित भए । नेकपा एमालेका लालबहादुर विश्वकर्माले ९ हजार २३६ मत ल्याएर दोस्रो भए भने, नेकपा माओवादीकी बीना मगर ९ हजार १५१ मतसहित तेस्रो भइन् । यसरी विगतको परिणामलाई हेर्दा २०४८, ०५६ र ०७० गरी ३ पटक नेपाली कांग्रेस संसदीय निर्वाचन जितेको थियो ।
२०५१ पछिका निर्वाचन नेकपा एमाले ‘कमब्याक’ हुन सकेन । २०६४ र ०७४ मा नेकपा माओवादी केन्द्रले आफ्नो सिट सुरक्षित गरेको थियो । अहिले दलहरु पाँच दलीय गठबन्धनको मोर्चामा उभिएका छन । गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी विना मगर प्रतिनिधिसभा सदस्य उम्मेदवार छन । ०७४ मा उनका प्रतिस्पर्धी दिवान विष्ट अहिले उनको सारथी छन भने त्यो बेलाका सारथी एमालेका तारालामा तामाङ प्रतिस्पर्धी छन ।
सुदूरपश्चिममा राजनीतिक प्रभाव क्षेत्रका रुपमा हेर्ने गरिएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा आगामी मंसिर ४ मा हुने निर्वाचनको सरगर्मीले छोएको छ । यस क्षेत्रमा आगामी संघ र प्रदेश निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । विभिन्न राजनीतिक दलबाट केन्द्रीय तहमा राम्रो छवि बनाएका प्रभावशाली नेताको क्षेत्रका रुपमा यहाँ सबैको नजर केन्द्रित छ ।
कञ्चनपुर नम्बर १ मा अघिल्लो संघीय निर्वाचन २०७४ मा बाम गठबन्धन तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उम्मेदवार बीना मगरले ३८ हजार ४६७ मत ल्याएर निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसका देवानसिंह विष्टलाई दोब्बर मतान्तरले हराउँदै मगर विजयी भएकी थिइन् । विष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका थिए । राष्ट्रिय जनमोर्चाका लोकेन्द्रप्रसाद लम्सालले ८७१ मत ल्याएका थिए । अन्य दलहरु राष्ट्रिय जनता पार्टी नेपाल, विवेकशील साझा पार्टी, नयाँशक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, स्वतन्त्रसहितले १ हजार ७०६ मत ल्याएका थिए ।
यसक्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बीना मगर यसपटक पुनः चुनावी मैदानमा छन । यहाँ २०७० सालको निर्वाचनमा भने विष्टसँग बीना पराजित भएकी थिइन् । यस क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका वडाध्यक्षले १८ हजार ७७३ मतसहित अघि छन् ।
त्यस्तै, नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १८ हजार ७३२ मत प्राप्त गरेका छन् भने, नेकपा माओवादी केन्द्र १५ हजार २७९ मतसहित तेस्रोमा छ । नेकपा (एकीकृत समाजवादी) ३ हजार ५२१ मतसहित चौंथो स्थानमा रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवारले २ हजार ६९२ मत प्राप्त गरेका प्राप्त गरेका थिए ।
.gif)