महेन्द्रनगर । कञ्चनपुरको क्षेत्र नम्बर २ मा २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका तारिणीदत्त चटौत निर्वाचित भएका थिए । २०५१ को आम निर्वाचनमा भने, उनी नेकपा एमालेका भोजराज जोशीसँग पराजित भए । जोशीले ११ हजार ८६३ ल्याउँदा नेपाली कांग्रेसका तारिणीदत्त चटौतले ७ हजार २०२ मत ल्याएका थिए ।
त्यसबेला राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो शक्तिका रुपमा पुग्यो । राप्रपाका उम्मेदवार विनोद विष्टले ५ हजार २६० ल्याए भने, स्वतन्त्रतर्फ प्रेमबहादुर विष्टले २ हजार ३५ मत ल्याएका थिए । २०५६ को आम निर्वाचनमा भने, नेपाली कांग्रेसले आफ्नो विरासत जोगायो । उक्त निर्वाचनमा नेपाली कांग्रेसका तारिणीदत्त चटौतले १३ हजार १०९ मत ल्याए । चटौतसँग नेकपा एमालेका उम्मेदवार चन्द्रलाल चौधरी ले १० हजार २८२ मत ल्याएर पराजित हुन पुगे । तेस्रो राजनीतिक शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद विष्टले ६ हजार ४७ मत ल्याएका थिए । नेकपा एमालेका भोजराज जोशी ३ हजार ८१७ मत प्राप्त गरे ।
संविधान सभा निर्वाचन २०६४ मा नेकपा माओवादीका उम्मेदवार देवीलाल चौधरी १८ हजार २८४ मत ल्याएर निर्वाचित भएका थिए । उनीसँग नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउदले ११ हजार २०२ मत ल्याए हार व्यहोर्नु पर्यो । त्यसबेला, राष्ट्रिय प्रजातन्त्र पार्टी रामऔतार रानाले ५ हजार ६२३ ल्याए भने उनीसँगै नेकपा एमालेका मायाराम चौधरी ४ हजार ६४३ मत प्राप्त गरे ।
नेकपा (एकीकृत) रामबहादुर विष्ट १ हजार ८७३ मत ल्याउँदै पाँचौ शक्तिका सीमित भयो । दोस्रो संविधान सभा निर्वाचन, २०७० मा भने कांग्रेसले फेरि आफ्नो ‘पोजिशन’ बदल्यो । नेपाली कांग्रेसका तर्फबाट नारायणप्रकाश (एनपी) साउद १३ हजार ४१५ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धीका रुपमा नेकपाका तारा लामा तामाङ ९ हजार ६७६ मत ल्याएर पराजित भएका थिए ।त्यतिबेला एकीकृत नेकपा (माओवादी) का अमिनप्रसाद दहित ८ हजार १९३ मत ल्याएर तेस्रो भएका थिए ।
नेपाल लोकतान्त्रिक फोरमबाट अमरसिंह राना ४ हजार ७८३, तराई मधेस सद्भावना नेपाल रामऔतार राना १ हजार ३३१ ल्याए भने, राष्ट्रिय प्रजातन्त्र पार्टी भुवनराज भट्ट १ हजार ३२८ ल्याएका थिए । यसरी विगतको परिणामलाई हेर्दा २०४८, ०५६ र ०७० गरी ३ पटक नेपाली कांग्रेस संसदीय निर्वाचन जितेको थियो ।
२०५१ र २०७४ को निर्वाचन नेकपा एमालेले आफ्नो पकड कायम गर्यो । २०६४ मा नेकपा माओवादी केन्द्रले आफ्नो सिट सुरक्षित गरेको थियो । अहिले यहाँ सत्ता गठबन्धनको सहयोगमा कांग्रेसका केन्द्रिय सदस्य नारायणप्रकाश (एनपी) साउद चुनावी मैदानमा छन । ०७४ को निर्वाचनमा भने यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले ३३ हजार २२० मत प्राप्त ल्याएर विजयी भएका थिए । धामीसँग नारायणप्रकाश (एनपी) साउद २४ हजार ८९३ मत प्राप्त गरी पराजित भएका थिए । साउँद ८ हजार ३२७ मतान्तरले पराजित भएका थिए । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, विवेकशील साझा पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल दलित पार्टी र नेपाली कांग्रेस (बीपी) सहितका ६ राजनीतिक दलले १ हजार ४११ मत ल्याएका थिए ।
यस क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २२ हजार ३७९ मतसहित अग्रस्थान कायम गरे । नेकपा एमालेका वडाध्यक्षले १८ हजार ८२८ मत ल्याएका छन् । भने, नेकपा माओवादी केन्द्र १२ हजार ५७२ मतसहित तेस्रोमा छ । नेकपा (एकीकृत समाजवादी) ४ हजार १६१ मतसहित चौंथो स्थानमा रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवारले ३ हजार ३५३ मत प्राप्त गरेका प्राप्त गरेका थिए ।
.gif)