बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमा निर्वाचनको तयारी अन्तिम चरणमा


पश्चिम प्रेस
मंगलबार, कात्तिक २९ २०७९
  • 657
    Shares

  • images
    images
    सुदूरपश्चिमा निर्वाचनको तयारी अन्तिम चरणमा

    महेन्द्रनगर । प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशको कैलालीसहितका जिल्लामा तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको तयारी लगभग पूरा भएको जानकारी दिनुभयो । भट्टले भन्नुभयो, “भौगोलिकरुपमा विकट मतदानस्थलमा आजैदेखि कर्मचारी नियुक्त भई मतपत्रसहित खटाउन लागिएको छ, सुगम ठाउँका मतदानस्थलमा बुधबारभित्र कर्मचारी खटनपटन भइसक्छ छ ।”

    मङ्सिर १ गते हरेक मतदानस्थलमा सूचना टाँस गर्नुपर्ने कार्यतालिका छ । कर्मचारी खटनपटनका साथै मतदान सामग्री सम्बन्धित निर्वाचन क्षेत्रमा ढुवानी गर्नेलगायतका व्यवस्थापकीय काम पूरा भइसकेको छ ।  प्रदेशका सबै नौ जिल्लाका प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमा जम्मा १६ लाख ५६ हजार चार मतदाता छन् । 

    प्रतिनिधिसभाका सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेका छन् । सबैभन्दा कम बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता छन् ।

    प्रतिनिधिसभाका कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र छन् । पहाडी क्षेत्रका अछाममा दुई र डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक/एक निर्वाचन क्षेत्र छन् । एक मतदान केन्द्रमा स्वयंसेवकसहित दशदेखि १२ कर्मचारी खटाउन लागिएको छ । 
      
    तयारीका क्रममा यसअघि निर्वाचन कार्यालयले निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलगायत कर्मचारीका लागि तालिम दिइसकेको छ । निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक र प्रत्यक्षतर्फका मतपत्र र मतपेटिकालगायत सबै सामग्री पु¥याइसकिएको छ ।
       
    कैलालीको हकमा तोकिएका दुई सय ३७ मतदानस्थलमा छ सय २९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकाका वडा १, ३, ४, ६ र ७ टीकापुर नगरपालिका र भजनी नगरपालिकाका ६ र ८ नम्बर वडा समेटिएका छन् । यस्तै क्षेत्र नं २ मा लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिकाका वडा नं २, ५, ८ र ९ मोहन्यालका गाउँपालिकाकाको वडा नं ५ बाहेक सबै वडा र बर्दगोरिया गाउँपालिका समेटिएका छन् । 
     
    क्षेत्र नं ३ मा भजनी नगरपालिकाका भजनी नगरपालिकाका १, २, ३, ४, ५, ७ र ९ वडा कैलारी गाउँपालिकाको वडा नं ६ र ९ बाहेक सबै वडा र घोडाघोडी नगरपालिका समेटिएको छ । यस्तै क्षेत्र ४ मा गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, मोहन्यालको ५ नं वडा र चुरे गाउँपालिक र  क्षेत्र नं ५ (धनगढी क्षेत्रमा) धनगढी उपमहानगरपालिकाका सबै १९ वडा र कैलारी गाउँपालिकाको वडा नं ६ र ९ समेटिएका छन् ।

    सबै निर्वाचन क्षेत्रमा पाँच लाख ३५ हजार मतदाता रहेकोमा सबैभन्दा बढी क्षेत्र नं ४ मा एक लाख दश हजार मतदाता छन् । निर्वाचनमार्फत् नयाँ जनप्रतिनिधि चुन्ने दिन आउँदा सर्वसाधारण उत्साहित देखिएका छन् ।  निर्वाचनको मौनअवधि सुरु हुने दिन नजिकिँदा प्रत्यासीले मतदाता रिझाउन अपिल गरिरहला कतिपय ठाउँमा दृष्य रोचकसमेत देखिने गरेको छ ।रासस 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • # निर्वाचन
  • प्रतिक्रिया दिनुहोस