महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन । दम्पती सहित महाकाली नदीको बगरमा गिट्टी वालुवा छानेर जिविकोपार्जन गर्न लागेको उनलाई आठ वर्ष भइसक्यो ।
नदी किनारमै झुपडी बनाएर गिट्टी बालुवा छानेर उनले वर्षभरीको जोहो गर्छन । “बगरमा गिट्टी वालुवा छानेर परिवार पालेको छु यहाँ आउन थालेको आठ वर्ष भयो ।” उनले भने–“भारत गएर काम गर्न सकेनौँ यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ ।” उनले महाकाली नदीको नदीजन्य पर्दाथ नै आफ्ना लागि आयआर्जनको प्रमुख स्रोत बनेको बताए । “यहि गिट्टी वालुवा संकलन गरेर बिक्रि गर्छौ, हाम्रो आम्दानीको स्रोत भनेकै यहि हो ।” उनले भने–“नौ महिना हामी यहि बगरमै बसेर काम गर्छौ ।”
उनीजस्तै कञ्चनपुरको बेलौरी, बेल्डाँडी,कैलाली र डडेल्धुराबाट समेत आएर बगरमै टहरा बनाएर काम गरिरहेका छन । महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समुदायका अधिकांश परिवार अहिले बगरमै बसेर परिवारको परिवारको जोहो गरिरहेका छन ।
भीमदत्त नगरपालिका–१२ ऐरीका ४५ वर्षीय किसन सोनाहाले पनि परिवारको जोहो गर्न बगरमा संघर्ष गर्नुपरेको छ । परिवारको खर्च जुटाउनका लागि आफूहरुसँग यसको विकल्प नभएको उनले सुनाए । “हाम्रो जातीको सुन छान्ने परम्परागत पेशा भएपनि अहिले हामी नदी किनारमा गिट्टी वालुवा छानेर जोहो गरिरहेका छौ ।” उनले भने–“ यहाँ सुन भेटिदैन बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन ।”
उनले आफुसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्न हरेक दिन महाकाली नदीको बगरमा आउने गरेको बताए । उनले परिवारका सबै मिलेर मासिक रु २५ हजारसम्म कमाउने बताए । “चामल किन्नेदेखि छोराछोरीको स्कुलको शुल्क समेत यही कमाइले बेर्होनुपर्छ ।” उनले भने–“ दिनभर बगरमा काम नगरे साँझ विहान घरमा चुल्हो बाल्न मुस्किलपर्छ ।”
पाँच वर्ष भारतको महाराष्ट्रमा मजदुरी गरेर स्वदेश फर्किएका अशोक सोनाह पनि बगरमै गिट्टी वालुवा छान्न व्यस्त छन । “हाम्रो तीन पुस्ताले बगरमै गिट्टी वालुवा छानेर परिवारको जोहो गरेको छ ।” उनले भने–“सरकारले हाम्रो लागि सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो ।”
अहिले महाकालीमा नदीमा प्रतिट्रली बालुवा रु एक हजार र गिट्टी रु एक हजार आठ सयमा बिक्री हुने गरेको छ । महाकाली नदीको भुजेलादेखि दोधारा चाँदनी झोलुङ्गे पुलसम्म तीन सयभन्दा बढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेको छन । अधिकांश परिवार सहित नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन ।
भीमदत्त नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बोहराले लामो समयदेखि स्थानीय र जिल्ला बाहिरबाट समेत बगरमा बालुवा, गिट्टी छानेर जीविकोपार्जन गर्ने नागरिक धेरै रहेको बताए । “कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी, बेल्डाँडीबाट गिट्टी छान्न आउनेहरु रातभर बगरमै सुत्छन ।” उनले भने–“ नजिक घर भएका स्थानीयहरु भने दिनभर बगरमा काम गरेर बेलुकी घर फर्कन्छन ।”
यहाँका विपन्न समुदायको लागि महाकाली नदी आयआर्जनको मुख्य सा्रेत बनेको छ ।
.gif)