शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा मकै खेतीको क्षेत्र विस्तार


पश्चिम प्रेस
शुक्रबार, पुस १५ २०७९
  • 744
    Shares

  • images
    images
    कञ्चनपुरमा मकै खेतीको क्षेत्र विस्तार

    महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले हिउँदमा हुने वसन्ते मकै खेतीको क्षेत्र विस्तार गर्न कार्यक्रम अघि सारेको छ । किसानलाई उन्नत जातको वसन्ते मकै खेतीप्रति आकर्षित गर्न अनुदानका कार्यक्रम अघि सारेको हो । 

     कार्यक्रमअनुसार किसानलाई ५० प्रतिशत अनुदानमा अरुण–४ र पाइनियरलगायत उन्नत जातका मकैको बीउ उपलब्ध गराइने नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताउनुभयो ।

     “मकै खेती गर्ने किसानको सङ्ख्या प्रतिवर्ष घट्दै गएको छ”, उहाँले भन्नुभयो, “मकै खेतीप्रति किसानको मोह बढाउन अनुदानका कार्यक्रम ल्याएका हौँ ।” किसानले माग गरेका मकैका उन्नत जातहरुको बीउ ल्याएर वितरण गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । “पाइनियर र अरुण–४ जातका मकै पूर्वतर्फका कैलाली, बर्दिया र बाँकैमा फस्टाएको पाएका छौँ”, शाखाप्रमुख बुढाऐरले भन्नुभयो, “किसानले पनि तीनै जातको माग गरेकाले उपलब्ध गराउँदैछौँ ।”

     हाल नगरपालिका क्षेत्रमा वसन्ते मकैको खेती ५० हेक्टर क्षेत्रफलमा हुने गरेको छ । त्यसलाई बढाएर दोब्बर पार्ने नगरपालिकाको योजना छ । बजारमा उन्नत जातका वसन्ते मकैको बीउको मूल्य उच्च भएकाले सबै किसानले खरिद गर्न नसक्ने भएकाले आधा मूल्य नगरपालिकाले तिर्ने र आधा मूल्य किसानले तिर्ने गरी कार्यक्रम बनाइएको छ ।  

    “नगरपालिका क्षेत्र पहिला बर्खे मकैका लागि जिल्लामै अग्रस्थानमा रहेको थियो”, स्थानीय किसान रामकिसन डगौराले भन्नुभयो, “मकैको बजार भाउ नमिल्दा धेरैले छाड्दै गए, मकैको तुलनामा बढी आम्दानी दिने तरकारी खेती, उखु खेती गर्न थाले, त्यसपछि मकै लगाउने किसान खोज्नै मुस्किल हुन थालेको छ ।”

     वन क्षेत्र संरक्षण भएपछि जङ्गली जनावरको सङ्ख्या बढ्दा लगाएको मकै बाली खाएर सखाप पार्न थालेपछि किसानले मकै लगाउन छाड्नुको अर्को कारण रहेको उहाँले बताउनुभयो । हाल बजारमा कुखुरापालक किसान बढेसँगै मकैको माग उच्च छ । 

     नगरपालिका क्षेत्रमा मकै नपाइँदा कुखुरापालकले बाह्य क्षेत्रबाट मकै खरिद गरेर दाना बनाई चारोका रुपमा कुखुरालाई खुवाउँदै आएका छन् । कुखुरापालक किसान कमल चौधरीले मकै बाह्य क्षेत्रबाट ल्याउँदा त्यसमा ढुवानी भाडा जोड्दा मूल्य निकै उच्च हुने गरेको बताउनुभयो । “मकै प्रतिकिलो रु ३० देखि रु ३५ मा खरिद गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “ढुवानी खर्च जोड्दा रु ४० प्रतिकिलोसम्म पुग्छ, नगरपालिकामै मकै पाए ढुवानी भाडा तिर्नु पर्र्दैन, सस्तो हुन्छ ।”

     मकै खेती गर्ने किसानले बजार मूल्य पाउन थालेकाले बर्खेभन्दा वसन्ते मकै लगाउने गरेका छन् । वसन्ते मकै बजारमा पोलेर बिक्री हुने र मकै दानाका रुपमा कुखुरापालकले घरबाटै खरिद गरी लैजाने गरेका छन् ।

     नगरपालिकाले चालू आवमा किसानको मागअनुसार बीउ उपलब्ध गराउने भएको छ । वसन्ते मकै खेती गर्ने किसानलाई अभिमुखीकरण तालिम दिइने शाखाप्रमुख बुढाऐरले बताउनुभयो । उहाँका अनुसार अर्को आवदेखि वसन्ते मकै खेती गर्ने किसानलाई बीउसँगै रासायनिक मल, कीटनाशकलगायत उपलब्ध गराउने योजना बनाइएको छ ।


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # मकै खेती
  • प्रतिक्रिया दिनुहोस