बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा सभामुख चयन प्रक्रिया स्थगन


पश्चिम प्रेस
शुक्रबार, पुस २९ २०७९
  • 639
    Shares

  • images
    images
    सुदूरपश्चिममा सभामुख चयन प्रक्रिया स्थगन

    कैलाली । सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन प्रक्रिया स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज अपराह्न जारी गरेको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगन गरेसँगै सभामुख प्रक्रिया स्थगित भएको हो । 

    यसअघि बिहीबारको बैठकमा मत विभाजनमा दुई जना उम्मेदवारमध्ये कसैले पनि बहुमतप्राप्त नगरेपछि आज विहान ११ बजेका लागि बैठक आह्वान गरिएको थियो । आज बिहानैदेखि बसेको सर्वदलीय बैठकमा पुनः मतदानका विषयमा सहमति जुट्न नसक्दा बैठक स्थगन गरिएको हो । 

      प्रदेशसभामा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो भागमा तीन मन्त्रालय दिनेबारेमा लिखित सहमति नभएसम्म सभामुखको निर्वाचनमा भाग नलिने अडान लिएको छ । बिहीबारको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने छुट्टाछुट्टैरुपमा दुई प्रस्ताव पेश भएको थियो तर मत विभाजन गर्दा बहुमत सदस्य सङ्ख्या नपुगेपछि प्रस्ताव अस्वीकृत भएको थियो । 

      सभामुख पदका लागि प्रदेशसभाका सदस्य नेपाली कांग्रेसका मानबहादुर रावल र नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारी उम्मेदवार हुनुहुन्छ । रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी कांग्रेसका मेघराज खड्का प्रस्तावक र कांग्रेसकै पृथ्वीबहादुर सिंह समर्थक रहेको प्रस्तावमा ‘हुन्न’ भन्ने पक्षमा २७ मत र ‘हुन्छ’ भन्ने पक्षमा २३ मत परेको थियो । 

    यसैगरी भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा (एमाले)की जानकी ऐर बम प्रस्तावक र माओवादी केन्द्रीकी गीतादेवी माल समर्थक रहनुभएको अर्को प्रस्तावको ‘हुन्छ’ भन्ने पक्षमा २६ र ‘हुन्न’ भन्ने पक्षमा २३ मत परेको थियो । 

    मत विभाजनमा ५० जनाले भाग लिएकोमा एक जनाको मत बदर भएको थियो । सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । मत विभाजनको प्रक्रियामा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र सत्तापक्ष एमालेका चक्रबहादुर मल्ल अनुपस्थित रहनुभएको थियो । 
        
    भण्डारीको पक्षमा एमाले, माओवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका सदस्य र  रावलको पक्षमा कांग्रेस, एकीकृत समाजवादी र एकजना स्वतन्त्र सदस्य हुनुहुन्थ्यो । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । यो अवधि पुग्न थोरै दिन बाँकी छ ।
      
    त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९,  एमालेका दश, माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सदस्य हुनुहुन्छ ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • # सभामुख
  • प्रतिक्रिया दिनुहोस