महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले सेवा आयोगलाई बाइपास गरेर करारमा विभिन्न पदका लागि जनशक्ति माग गरेको छ । सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ अनुसार विश्वविद्यालयको शिक्षक तथा कर्मचारीहरुको नियुक्ति र बढुवाका लागि सिफारिस गर्न समेत सेवा आयोगबाट हुने व्यवस्था रहेपनि विश्वविद्यालयले पटक पटक सेवा आयोगलाई बेवास्ता गरि कर्मचारीहरुको भर्ना गर्ने गरेको छ । अहिले पनि विश्वविद्यालयले विभिन्न संकायका लागि करारमा उप–पा्रध्यापक लगायतका जनशक्ति माग गरेको छ ।
विश्वविद्यालय स्रोतका अनुसार राजनितिक भागबन्डाका आधारमा कर्मचारी नियुक्त गर्नका लागि विश्वविद्यालयले सेवा आगोगको बाटो छलेर करारमा जनशक्ति माग्दै आएको छ । “विगतमा पनि तत्कालीन प्रिन्सीपल भुपेन्द्र विष्टले राजनितिक भागबन्डाका आधारमा कर्मचारी नियुक्त गरेका हुन पछि विरोध भएपछि त्यो सफल हुन सकेन ।” विश्वविद्यालय स्रोत भन्छ –“अहिले पनि भागबन्डाका आधारमा कर्मचारी नियुक्तिका लागि विश्वविद्यालयका केही पदाधीकारी र प्राध्यापकहरुका संगठनका नेताहरु दौडधुपमा लागेका छन ।”
विश्वविद्यालयले लामो समयदेखी जनशक्ति अभाव झेल्दै आएपनि सेवा आयोगबाट योग्य जनशक्ति ल्याउनुको साटो करारमा जनशक्ति माग गर्ने गरेको छ । विश्वविद्यालयका प्रशासन प्रमुख भवानी पाण्डेयले विश्वविद्यालयले करारमा जनशक्ति माग गरेको बताए । उनले सेवा आयोगबाट कर्मचारी भर्ना गर्दा लामो पक्रिया भएको र समय लाग्ने भएकाले करारमा कर्मचारी माग गरेको बताए । “विद्यार्थी संगठनहरुले तत्काल कर्मचारी नियुक्त हुनुपर्छ भनेर दबाब दिए ।” उहाँले भन्नुभयो–“सेवा आयोगबाट सात,आठ महिना लाग्ने हुनाले करारमा जनशक्ति माग गरिएको हो ।” विश्वविद्यालय सेवा आयोगका अध्यक्ष पूर्ण बहादुर चन्दले भने छिट्टै सेवा आयोगले आवश्यक जनशक्ति पूर्ति गर्ने बताए । यहाँका स्थानीयको लामो आन्दोलनका बाबजुत स्थापना भएको विश्वविद्यालय पछिल्लो समय बेथिति बढ्दै गएको छ । प्राज्ञिक थलोमा राजनितिकरण हुदा सुदूरपश्चिम विश्वविद्यालय थलिदै गएको छ ।
यता विद्यार्थी संगठनहरुले पनि विश्वविद्यालयले सेवा आयोगलाई बाइपास गरेर कर्मचारी भर्ना गर्न नहुने बताएका छन । अनेरास्ववियू जिल्ला आयोजक कमिटि कञ्चनपुरका संयोजक रमेश पन्तले सेवा आयोगलाई बाइपास गरेर कर्मचारी करारमा भर्ना गर्नु गलत भएको बताए ।उनले सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा स्थापना हुने तर विश्वविद्यालयले प्राविधिक धारका आकर्षक शैक्षिक कार्यक्रमहरु महेन्द्रनगर भन्दा बाहिर संचालन गर्नु गरेको भन्दै आपत्ति जनाए ।
त्यसैगरी अनेरास्ववियू का्रन्तीकारी कञ्चनपुरका अध्यक्ष कैलाश चन्द्र गिरिले सेवा आयोग छलेर कर्मचारी नियुक्त गर्नु गलत भएको बताए । “हामीले विश्वविद्यालयको ऐन कानुन अनुसार प्राध्यापक नियुक्त गर भनेका हौ ।” उनले भने–“विश्वविद्यालयमा प्राध्यापक नहुँदा विश्वविद्यालयमा प्राध्यापक नहुँदा पठनपाठनमा समस्या भएको छ ।”
उनले विश्वविद्यालयको पदाधीकारी रहने र केन्द्रिय क्याम्पसमा प्राध्यापन गरे वाफतको दोहोरो सेवा सुविधा लिने गरेको बताए । विश्वविद्यालयले सेवा आयोग छलेर कर्मचारी भर्ना गर्दा पटक पटक विवादमा पर्ने गरेको छ ।
.gif)